२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

किसानलाई उखु सुक्ने पिरलो

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको प्रतापपुरका हरिशरण यादवले अघिल्लो वर्ष यति बेलासम्म चिनी मिलबाट उखुको ५० प्रतिशत भुक्तानी पाइसकेका थिए । अन्य किसान पनि पुर्जी लिँदै मिल धाउन सुरु गरिसकेका हुन्थे ।

किसानलाई उखु सुक्ने पिरलो

यस वर्ष भने यादवले अझै उखु काटेका छैनन् । मूल्य निर्धारण भएपछि काटेर नगदमै चिनी उद्योगलाई उखु बेच्ने उनको चाहना यस वर्ष पनि पूरा भएन । मूल्य कुर्दा खेतमै बाली सुक्ने हो कि भन्ने पिरलोमा उनी परेका छन् ।

‘अघिल्लो वर्ष समयमै मूल्य तोकेर नगदमा उखु खरिद गर्ने आश्वासन दिएका मिल सञ्चालक र सरकारी पक्ष खोइ कहाँ हराए ?’ उनले भने, ‘नकाटौं भने खेतमै सुकेर जान लाग्यो, काटौं भने बिक्री मूल्यको पत्तो छैन ।’ हरिशरणजस्तै पश्चिम नवलपरासीका अधिकांश किसानलाई खेतमै उखु सुक्ने पिरलो छ । उखु क्रसिङको समय सकिन लाग्दासमेत सरकारले मूल्य नतोक्दा उद्योगले सस्तोमा किन्न खोजिरहेका छन् ।


जिल्लाको दक्षिणी भेगका ८० प्रतिशत किसानको मुख्य आम्दानीको स्रोत नै उखु हो । घर खर्च चलाउन नसकेपछि विपन्न वर्गका किसान सस्तोमै भए पनि क्रसर र दलाल मार्फत बेच्न बाध्य भएका छन् । एकातर्फ मूल्य नतोकिनु र अर्कोतर्फ जिल्लाको सबैभन्दा पुरानो र ठूलो चिनी उद्योग लुम्बिनी चिनी कारखाना बन्द भएपछि किसान थप मर्कामा परेका छन् । उद्योगका सञ्चालकको मृत्यु भएपछि विगत एक महिनादेखि उद्योग बन्द छ । सञ्चालनमा रहेका इन्दिरा सुगर मिल र कुडिया मिलले सस्तोमा निश्चित परिमाणमा मात्र उखु खरिद गर्न थालेपछि यस वर्ष उखु नै नबिक्ने हो कि भन्ने पिरलोमा परेको सुस्ताका रमेश हरिजनले गुनासो गरे ।

ढिला गरेर सञ्चालनमा आएका उद्योगमा क्रसिङ गर्न चाप रहेको छ भने विभिन्न साना क्रसरहरूले सस्तोमा खरिद गरी सिजनपछि बेच्नका लागि स्टक गरेका छन् । जिल्लाका अझै २५ प्रतिशतभन्दा बढी किसानले उखु काटेका छैनन् ।

उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार उद्योगले तौलमा ठगी गर्ने, अघिल्लो वर्षको मूल्यभन्दा पनि कम रकममा कारोबार गर्ने र उचित मूल्य निर्धारणका लागि समेत पहल नगर्दा किसान मर्कामा परेका हुन् । ‘पटक–पटक आन्दोलन गर्दासमेत सुनुवाइ भएको छैन,’ उनले भने, ‘तौलमा ठगी गर्ने उद्योगलाई विभिन्न बहानामा छुट दिने सरकारले मूल्य तोक्न किन आनाकानी गरिरहेको छ ?’

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?