कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

छुर्पीको मागमा गिरावट

विप्लव भट्टराई

इलाम — नेपालबाट विभिन्न मुलुकमा निर्यात हुँदै आएको छुर्पीको मूल्यमा गिरावट आएको छ । केही महिनायता छुर्पीको निर्यात र मूल्यसमेत घटेपछि समस्या भएको कृषकहरूले बताएका छन् । गाउँगाउँ पुगेर संकलन गर्ने व्यवसायीले माग कम भएको भन्दै छुर्पी खरिद गर्नसमेत छाडेको उनीहरूको गुनासो छ ।

छुर्पीको मागमा गिरावट

‘अहिले माग नै कम भएकाले केही समयका लागि छुर्पी किन्न छाडेको हुँ,’ पूर्वी जिल्लाबाट छुर्पी बाहिर पठाउँदै आएका व्यवसायी प्रकाश दाहालले भने, ‘माग र मूल्यमा कमी आएकाले समस्या भएको हो ।’


उनले इलाम, धनकुटा र पाँचथरबाट मासिक ८ हजार किलोसम्म छुर्पी खरिद गरी बाहिर पठाउँदै आएका थिए । अघिल्लो महिनाको सबै पेमेन्ट नआएकाले ऋण गरेर भए पनि डेरी उद्योगहरूलाई दिएको दाहालले बताए । ‘यसको कारण बुझ्न सकिएको छैन,’ उनले भने, ‘उताबाट माग नै कम हुने गरेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेपछि छुर्पीको मूल्य अकासिएको थियो ।

प्रतिकिलो ४ सय रुपैयाँमा मात्र स्थानीय र भारतीय बजारमा खपत हुने छुर्पी अन्य देशमा पनि निर्यात हुन थालेपछि किलोको १ हजारसम्म मूल्य पुगेको थियो । अहिले छुर्पीको मूल्य ७ सयदेखि ८ सय ५० सम्म मात्र छ ।

कुकुरको आहाराका लागि ती देशमा छुर्पी निर्यात हुन थालेपछि व्यावसायिक ढंगले गाईपालन गरी डेरी सञ्चालन गर्ने कृषकहरू थपिएका थिए । ‘बजारको यस्तै अन्योल रहने हो भने डेरी चलाउने व्यवसायी पनि संकटमा जानेछौं,’ सन्दकपुर ५ जमुनाका कैलाश गुरुङले भने, ‘अहिले नियमित छुर्पी किन्दै आएका व्यपारीले छुर्पी नलिने भनेपछि गोदाममै थन्क्याएर राख्नुपर्ने भएको छ ।’ उनले आफ्नो डेरीसहित आसपास गाउँका डेरीको उत्पादनसमेत संकलन गरी बेच्दै आएका थिए ।

प्रतिमहिना तीन टन छुर्पीको माग हुने गरेको डेरी उद्योगीहरूको भनाइ छ । पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर र सिल्भर लिंक (आईएनसी) प्रालि कलेक्सन सेन्टरलगायतका कम्पनीले खरिद गरी अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेका छन् ।

‘दूधको मूल्य बढी र छुर्पीको मूल्य कम भएपछि ठूलो नोक्सानी बेहोर्नुपर्ने डरले छुर्पीको उत्पादनै कम गर्न थालेको छु,’ सन्दकपुर ४ माबुका डेरी व्यवसायी बालकृष्ण गुरुङले भने । कम गुणस्तर भएका कारण कुकुरको स्वास्थ्यमा असर परेको भन्दै अमेरिकामा माग घटेको व्यवसायीको भनाइ छ ।


जिल्लामा ५ सय ६५ वटा दूधजन्य डेरी र चिज उद्योग घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा दर्ता भएर सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा अझै पनि डेरी उद्योग खुल्ने क्रम घटेको छैन । कतिपय उद्योग दर्ता गर्ने तयारीमा रहेकाले डेरी उद्योगको संख्या बढ्दो छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?