कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्धन ढुवानी गर्ने सहमति

काठमाडौँ — ‘लकिङ प्रणाली’जडानको विरोधमा उत्रेका ट्याङ्कर चालकले इन्धन ढुवानी गर्ने सहमति जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयल निगम र व्यवसायीबीच भएको छलफलमा ढुवानी गर्ने सहमति जनाएका हुन् ।

इन्धन ढुवानी गर्ने सहमति

पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख भानु खनालका अनुसार ट्याङ्कर चालकबीच दुई बुँदे सहमति भएको छ । ‘इन्धन ढुवानीको क्रममा तापक्रमका कारण घटबढ भएको अवस्थामा केन्द्रीय कार्यालयमा पत्र पठाउने । चालकहरुको तलब भक्ता वृद्धि गर्न कमिटी गठन गर्ने सहमति भएको छ,’ उनले भने, ‘सहमतिसँगै इन्धन ढुवानी प्रक्रिया सञ्चालन भएको छ ।’समिति शुक्रबारै गठन भएको छ । मेची पेट्रोलियम डिलर्स एशोसिएसनका संयोजकत्वमा गठित कमिटीमा पेट्रोलियम ढुवानी व्यवसायी संघ, चालकबाट तीन जना प्रतिनिधि छन् ।


‘महँगीअनुसार तलबभत्ताको अध्ययन गरी डेढ महिनाभित्र प्रतिवेदन तयार पार्नेछ,’खनालले भने, ‘प्रतिवेदनको सुझाव चैतबाटै लागू हुन्छ ।’ट्याङ्कर चालकले न्यून पारिश्रमिक पाएका छन् । जसले गर्दा ट्याङ्करबाट इन्धन चोरी हुँदै आएको गुनासो छ । चालकले प्रति ट्याङ्कर सय लिटरसम्म इन्धन चोर्ने गरेका छन् । निगमले बुधबारदेखि इन्धन ढुवानी गर्ने ट्याङ्करमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’जडान गरेपछि उनीहरु विरोध गर्दै आएका थिए । विरोध स्वरुप ढुवानी नै बन्द गरेका थिए । ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र चाप्लेजुङमा आपूर्ति विथोलिएको थियो ।


नेपाल यातायात ट्याङ्कर इकाई कमिटी झापाका सचिव गोपाल श्रेष्ठले लकिङ प्रणालीमा आपत्ति नभए पनि ताला लगाएपछि हुने घटबढमा निगम जिम्मेवार हुनुपर्ने बताए । ‘भारतीय आयल निगमको डिपोबाट ढुवानी गर्ने क्रममा ‘शिल’भएपश्चात् लेदो पद्धार्थ आउँदा चालक नै दोषी हुन्छ । त्यसको जिम्मेवारी निगम होस् भन्ने हो,’उनले भने । निगमका प्रवक्ता मुकुन्द गोइतले ढुवानी गर्न ट्याङ्कर बिलिङ गर्न गएको बताए । ‘हड्ताल खुल्यो । बिलिङ गर्न गएका छन्,’उनले भने, ‘शनिबारदेखि निर्वाध रुपमा ढुवानी हुन्छ ।’

प्रकाशित : चैत्र २, २०७४ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?