कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

चार सहरलाई ९ अर्ब ऋण

धनगढी — एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा प्रदेश ७ का चार सहरमा स्तरोन्नतिको काम सुरु भएको छ । क्षेत्रीय सहरी विकास आयोजनाले पञ्चवर्षीय योजनाअन्तर्गत काम सुरु गरेको हो ।

चार सहरलाई ९ अर्ब ऋण

एडीबीले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरका भीमदत्त तथा शुक्लाफाँटा नगरपालिकामा सहरी विकासका लागि ९ अर्ब बजेट दिएको छ ।

धनगढी र भीमदत्तका लागि ३/३ अर्ब, गोदावरीमा २ अर्ब र शुक्लाफाँटा नगरपालिकाका लागि १ अर्ब बजेट छुट्याएको हो । यी चारै सहरमा भौतिक पूर्वाधार निर्माणको काम सुरु हुँदैछ । पहिलो चरणमा सडक स्तरोन्नति र फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा काम सुरु भएको छ । सडकमा ढल तथा नाली निर्माणको कामसमेत गरिनेछ ।

दोस्रो चरणमा सामाजिक, आर्थिक र लैंगिक समावेशीको क्षेत्रमा समेत आयोजनाले काम गर्ने जनाएको छ । आयोजना हेर्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले पहिलो चरणअन्तर्गत ४ वटा क्षेत्रगत काम गर्न लागेको बताए । त्यसमा सडक तथा नाली निर्माण, फोहोर व्यवस्थापन, ढल निकास र कार्यालय नभएका नगरको व्यवस्थित भवन निर्माणको काम गरिनेछ ।

‘सन् २०१७ देखि २०२२ सम्ममा ४ वटा क्षेत्रगत काम सम्पन्न गरिनेछ,’ प्रमुख बोहराले भने, ‘पहिलो वर्ष आयोजनाको तयारी, परामर्शदाता नियुक्तिलगायत काम पूरा भएका छन् ।’ सडक, नाली र फोहोर व्यवस्थापनको सर्भे अध्ययन भई डिजाइन निर्माणको चरणमा पुगेको छ । धनगढी उपमहानगरपालिकाबाहेक अन्य ३ नगरपालिकामा भने फोहोर व्यवस्थापन केन्द्रको काममा समस्या उत्पन्न भएको इन्जिनियरसमेत रहेका कार्यालय प्रमुख बोहराले बताए । ‘त्यहाँ डम्पिङ साइट निर्माणका लागि जग्गा प्राप्त भएको छैन,’ उनले भने, ‘धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ मा ३५ बिघा जग्गा उपलब्ध हुँदा त्यहाँ डम्पिङ साइटका लागि डिजाइन निर्माण भइरहेको छ ।’

बोहराले आयोजना सञ्चालनका लागि बजार क्षेत्रको सडक विस्तारको काम प्रमुख चुनौतीका रूपमा देखापरेको बताए । ‘सडक विस्तारका लागि आवश्यक पर्ने ३० मिटर क्षेत्र ओगटदा बजारका धेरै पसल र पूर्वाधार भत्किन्छन्,’ उनले भने, ‘त्यसैले सडक विस्तारको काम अघि बढाउन नगरवासीको सहयोग आवश्यक छ ।’ साउन/भदौमा निर्माण कार्यको ठेक्का प्रक्रिया अघि बढ्नेछ ।

धनगढी उपमहानगरपालिकाले सडक विस्तार गरिने क्षेत्रका स्थानीयवासीसँग छलफल अघि बढाएको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए । ‘निर्माण प्रक्रिया सुरु भएपछि समस्या नहोस् भनेर नगरवासीसँग छलफल सुरु गरेका छौं,’ उनले भने, ‘नक्सा पास भएका घरजग्गासमेत सडक विस्तारमा पर्ने देखिन्छ । तैपनि उहाँहरू छलफलमा आउनुभएको छ ।’

धनगढीको चौराहादेखि क्याम्पस रोडसम्मको मुख्य बजार क्षेत्रमा ३० मिटर सडक नाली विस्तार गरिँदा सबैभन्दा बढी पूर्वाधार संरचना भत्कनेछन् । ‘केही व्यक्तिहरूले मुख्य बजार क्षेत्रको सडक विस्तारको क्षेत्र घटाउनका लागि चलखेल सुरु गरेका छन्,’ सडक विस्तार दबाब समूहका गणेश भण्डारीले भने, ‘यस्तो चलखेल मोहनादेखि अत्तरियासम्मको ६ लेन सडकमा समेत भएको थियो । त्यसलाई असफल पार्‍याैं । मुख्य बजार क्षेत्रको सडक विस्तारमा पनि एक इन्च घटन दिने छैनौं ।’

इन्जिनियर भट्टले सडक निर्माण गर्दा न्यून क्षति होस् भनेर बढीमा १/२ मिटर चौडाइ घटाउन सकिने प्रावधान राखेकाले त्यसमाथि केहीले अनावश्यक चलखेल गर्न खोजेको स्वीकारे ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?