इन्धन ढुवानी गर्ने सहमति

काठमाडौँ — ‘लकिङ प्रणाली’ जडानको विरोधमा उत्रेका टयांकर चालकले इन्धन ढुवानी गर्ने सहमति जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयल निगम र व्यवसायीबीच भएको छलफलमा ढुवानी गर्ने सहमति जनाएका हुन् । पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख भानु खनालका अनुसार टयांकर चालकबीच दुईबुँदे सहमति भएको छ । ‘इन्धन ढुवानीका क्रममा तापक्रमका कारण घटबढ भएको अवस्थामा केन्द्रीय कार्यालयमा पत्र पठाउने । चालकहरूको तलबभत्ता वृद्धि गर्न कमिटी गठन गर्ने सहमति भएको छ,’ उनले भने, ‘सहमतिसँगै इन्धन ढुवानी प्रक्रिया सुचारु भएको छ ।’ समिति शुक्रबारै गठन भएको छ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका संयोजकत्वमा गठित कमिटीमा पेट्रोलियम ढुवानी व्यवसायी संघ, चालकबाट तीनजना प्रतिनिधि छन् ।

‘महँगीअनुसार तलबभत्ताको अध्ययन गरी डेढ महिनाभित्र प्रतिवेदन तयार पार्नेछ,’ खनालले भने, ‘प्रतिवेदनको सुझाव चैतबाटै लागू हुन्छ ।’ टयांकर चालकले न्यून परिश्रमिक पाएका छन् । जसले गर्दा टयांकरबाट इन्धन चोरी हुँदै आएको गुनासो छ । चालकले प्रतिटयांकर सय लिटरसम्म इन्धन चोर्ने गरेका छन् । निगमले बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरेपछि उनीहरूले विरोध गर्दै आएका थिए । ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र चाप्लेजुङमा आपूर्ति बिथोलिएको थियो । नेपाल यातायात टयांकर इकाई कमिटी झापाका सचिव गोपाल श्रेष्ठले लकिङ प्रणालीमा आपत्ति नभए पनि ताला लगाएपछि हुने घटबढमा निगम जिम्मेवार हुनुपर्ने बताए । निगमका प्रवक्ता मुकुन्द गोइतले ढुवानी गर्न टयांकर बिलिङ गर्न गएको बताए । उनले भने, ‘शनिबारदेखि निर्वाध रूपमा ढुवानी हुन्छ ।’

प्रकाशित : चैत्र ३, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?