‘डेटिङ’ ले टोबीलाई बनायो अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — टोबिया लुटे क्यानाडाको ‘सपिफाई इनकर्पोरेट’ कम्पनीका संस्थापक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

‘डेटिङ’ ले टोबीलाई बनायो अर्बपति

टोबी नामले समेत चर्चित यिनको जन्म जर्मनीमा भएको हो । तर, क्यानेडाली नागरिकसँग विवाहलगत्तै यिनी क्यानाडा बसाई सरेका हुन् । यिनको कम्पनी ई–कमर्स प्लेटफर्मका रूपमा चर्चित छ । आफ्नो अनलाइनमार्फत ठूला व्यापारीहरूलाई तिनीहरूको उत्पादनहरू बिक्री वितरण गर्न सेवा प्रदान गर्छन् । यो वर्षको ‘फोब्र्स’ सूचीमा थपिएका विश्वका २ सय ५९ जना नयाँ अर्बपतिमध्ये टोबी पनि एक हुन् । यो वर्ष थपिएका विश्वका नवधनाढयहरूको सूचीमा चीनका ८९ अर्बपति परेका छन् । त्यसपछि अमेरिकाबाट ४५, भारतबाट १८ र जर्मनीबाट १३ जना नयाँ अर्बपति बन्न सफल भएका छन् । टोबीको व्यापार क्षेत्र रहेको क्यानाडा ‘फोब्र्स’ सूचीमा पछाडि परे पनि यिनको नाम अहिले चर्चाको विषय बनेको छ । यसो त अखबारले विश्वका ३५ मुलुकबाट नयाँ अर्बपति खोजेको छ । ती मुलुकबाट नयाँ अर्बपतिहरूमा विभिन्न १८ उद्योग क्षेत्रका छन् भने म्यानुफयाक्चरिङ क्षेत्रबाट ४७ जना परेका छन् । यसैगरी २९ सहित टेक्नोलजी दोस्रो र २४ जनासहित वित्तीय तथा लगानी क्षेत्र तेस्रो स्थानमा रहेको अखबारले जनाएको छ । टोबीको कम्पनी ‘सपिफाई’ टेक क्षेत्र’ सँग सम्बन्धित छ । हाल यिनको कुल सम्पत्ति १ दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ ।


सन् २००६ मा टोबीले ई–कमर्स प्लेटफर्मका रूपमा आफ्नो कम्पनी सञ्चालनमा ल्याएका हुन् । झन्डै १२ वर्षपछि यो कम्पनीले यिनलाई विश्वकै अर्बपतिहरूको सूचीमा दर्ज गराइदिएको छ । यिनको कम्पनीका ६ लाख अनलाइन स्टोरहरू रहेका छन् । यिनले अनलाइन कारोबारबारे १२ वर्ष उमेरमै सिकेका थिए । यिनले स्कुल पढ्न छाडेर १६ वर्षमै यो कारोबारमा सक्रियताका साथ लाग्ने निधो गरेका हुन् । उनको चाहना कम्प्युटर इन्जिनियर बन्ने थियो । त्यसका लागि प्रयास पनि गरे । पछि उनले आफ्नै कम्पनी खोलेर कारोबारलाई अगाडि बढाएका हुन् । सन् २००३ मा क्यानाडाको भ्रमणका बेला हालकी श्रीमतीसँगको भेटपछि जर्मनीबाट बसाइ सरेका हुन् । यिनी क्यानाडामा फ्लोना म्याकियनलाई नभेटेका भए सायद आफ्नो ‘सपिफाई इनकर्पोरेट’ कारोबार सञ्चालन गर्ने थिएनन् । स्नोबोर्डिङका लागि ह्विस्टरलरको भ्रमण यिनलाई यो कारोबारमा तानेको हो । दुई पटकको डेटिङपछि फ्लोनासँग विवाह बन्धनमा बाँधिएर उनी जर्मनीबाट क्यानाडा हानिए । भन्छन् ‘फ्लोनासँगको डेटिङपछि विवाह अनि क्यानाडा बसाइसराइ नगरेको भए सायद म सफल हुने थिइनँ, मेरो सफलतामा श्रीमतीको अतुलनीय योगदान छ ।’


क्यानाडाको ओटाबामा बसाइका क्रममा यिनले स्नोबोर्डस अनलाइन व्यापार थालेका हुन् । उनले ई–कमर्स सफ्टवेयरलाई आफ्नै तरिकाले कोडेड गर्दै यो सेवा सञ्चालनमा ल्याएका हुन् । उनको कम्पनी ठूला व्यापारीहरूको उत्पादन बिक्री गर्न र त्यसका लागि आवश्यक पर्ने अनलाइन सेवा उपलब्ध गराउन थालेपछि एकाएक लोकप्रियताको शिखरमा पुगेको हो । हाल उनको कम्पनीमार्फत छ लाख व्यापारीले आफ्नो कारोबारलाई राम्ररी अगाडि बढाउन सफल भएका छन् । ‘क्यानेडियन बिजनेस डट कम’ का अनुसार सन् २०१५ मा यिनको कम्पनीको सम्पत्तिको मूल्यांकन १२ अर्ब अमेरिकी डलर गरिएको थियो । अर्बपति बनिसक्दा पनि टोबी बाइकबाटै आफ्नो कार्यक्षेत्रमा जाने गरेका छन् । यसो त उनीसँग एउटा टेस्ला गाडी पनि छ । तर, त्यसको प्रयोग पारिवारिक घुमिफिरका लागि मात्रै गर्छन् । केही महिनाअघि यिनको कम्पनीमाथि साना बिक्रेता फर्म किट्रोन रिसर्चले आक्रमण गरेको थियो । तर, उनको दृढ आत्मविश्वासका अगाडि किट्रोनको कुनै सीप चलेन । हाल उनको कम्पनीको सेयर प्रतिवर्ष १ सय २० डलरले बढ्दै गएको छ ।


टोबीले पछिल्लो सफलता रातारात पाएका हैनन् । ई–कमर्स व्यवसायमा आउनुअघि यिनले रेलको फ्रेमवर्क बनाउने टोलीमा काम गरेका थिए । पछि सक्रिय मर्चेन्टजस्तो ओपन सोर्स लाइब्रेरीको स्थापना गर्दै त्यसमा काम गरेका थिए ।


यिनले आमाबुबाले सञ्चालनमा ल्याएको जर्मनीको अम्स्टार्ड सीपीसी ब्रान्ड ‘स्कनेदर रन्डफनवेर्के एजी’ को भरपुर उपयोग पनि गरे । यो ब्रान्ड ६ वर्षको छँदा यिनका अभिभावकले सार्वजनिक गरेका थिए । यिनी १२ वर्षको हुँदा खेलमा नयाँ कोडहरूको पुनर्लेखन गर्दै कम्प्युटर प्रोग्रामिङमा आफ्नो दक्खल बढाएका हुन् । त्यसै क्रममा यिनी कम्प्युटर हार्डवेयरको आधुनिकीरणमा सक्रिय भए । यिनले आफ्नो नियमित पढाइ छाडेर कोबलेन्जर कार्ड–बेन्ज स्कुलमा कम्प्युटर प्रोग्रामरका रूपमा पनि काम गरे । कक्षा १० मा पढ्दै यिनले यो काम थालेका थिए ।


यसो त सन् २००४ मा टोबीले स्नोडेभिल अनलाइन सप आफ्ना साथी डयानियल वेइनान्ड र स्कट ल्याकका साथ सञ्चालनमा ल्याएका थिए । सुरुमा यिनी यो कामबाट सन्तुष्ट हुन सकेनन् । पछि यसलाई आफैंले बनाएको प्रोग्रामिङबाट अगाडि बढाउने निष्कर्षमा पुगे । केही समयपछि यिनले स्नोबोर्डलाई ई–कमर्स र सोपिफाईमा केन्द्रित भए । आधिकारिक रूपमा यिनले सन् २००६ मा सपिफाई ई–कमर्स प्लेटफर्मको घोषणा गरे । सन् २०१२ मा टोबीले कम्पनीमार्फत छोटो समयमै धेरै आम्दानी गर्न सफल भएको भन्दै यिनको नाम ‘दि फयाबुलस ३०’ सूचीमा समावेश भएको थियो । सन २०१४ मा ‘दि ग्लोब एन्ड मेल’ अखबारले यिनलाई ‘सीईओ अफ दि इयर’ घोषणा गर्‍यो ।


‘बिटाकिट अनलाइन’ ले क्यानाडाको टेक डार्लिङ टोबीलाई उद्धृत गर्दै लेखेको छ, ‘पहिले आफ्नोबारे र के गर्ने चाहेको भन्ने स्पष्ट भएको अवस्थामा कुनै पनि कारोबारमा सफलता प्राप्त गर्न सकिन्छ ।’ अनलाइनका अनुसार एउटा ग्यारेजबाट कारोबार थालेका यिनीसँग सुरुमा २० कर्मचारी मात्र थिए । यिनी आफ्नो व्यापारलाई सधै परीक्षणका रूपमा उपयोग गर्छन् । कोर टेकबाट मेजर प्रणालीमा जान यो अनुभव काम आएको यिनले एक अन्तर्वार्तामा बताएका छन् । आफ्नो व्यापारमा वास्तविक रूपमा कसरी योगदान गर्दै अगाडि बढ्न सकिने बारे यिनी सधै केन्द्रित रहे । यसका लागि यिनले एउटा ‘प्रडक्क गाय’ का रूपमा आफूलाई प्रस्तुत गरे । साथै आफ्नो कारोबारलाई सफलताका शिखरमा पुर्‍याउनका लागि लगानीकर्तासँग व्यक्तिगत सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखे । यिनी भन्छन्, ‘मैले सधै सिकाइलाई खुला राखेर आउने चुनौतीहरूको सामना गर्दै अघि बढें अनि सफल भएको हुँ । यिनले सधै ‘टिम स्प्रिड’ लाई महत्त्व दिए । टोबीले भनेका छन्, ‘कुनै पनि कारोबारमा सफलताका लागि पढाइ नै महत्त्वपूर्ण हैन, कारोबारमा विविध पृष्ठभूमिका मानिसचाहिँ महत्त्वपूर्ण हुन् । सधै आशावादी रहनुपर्छ र आफ्नो कारोबारमा संलग्न भएकाहरूको सही मूल्यांकन गर्दै उचित स्थान दिन कन्जुस्याइँ भने गर्नु हुँदैन ।’ टोबीले कुनै पनि स्टार्टअपमा सफल हुने खासै सूत्र नभएको बताउँछन् । बजारमा उपलब्ध अवसरहरूको पहिचान गर्दै कम्पनीप्रतिको जनविश्वास कायम गर्न सके जो कोही पनि सफलताको शिखरमा पुग्न सक्ने उनको भनाइ छ ।
स्रोत : एजेन्सी

प्रकाशित : चैत्र ३, २०७४ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?