सुपर ङ्यादीमा ६ बैंकको लगानी

आश गुरुङ

लमजुङ — भौतिक पूर्वाधार निर्माण सुरु भएको ४० दशमलव २७ मेगावाटको सुपर ङ्यादी जलविद्युत् आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

आयोजनाको कुल लागत ७ अर्बमध्ये बैंकले ७५ प्रतिशत ऋण लगानी गर्नेछ । प्रवद्र्धक कम्पनीले २५ प्रतिशत अर्थात् १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ६, बाहुनडाँडा र वडा नं. ७, भुलभुलेबीच भएर बग्ने ङ्यादीखोलाको पानी सदुपयोग गरी जलविद्युत् निर्माण हुन लागेको हो । जलविद्युत् निर्माणका लागि ७५ प्रतिशत लगानी एनएमबी बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक, मेगा बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक र कुमारी बैंकले गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रवर्द्धित कम्पनी सिउरी ङ्यादी पावर लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गरी बैंक र प्रवद्र्धक कम्पनीबीच वित्तीय व्यवस्थापनको सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । उनका अनुसार प्रवद्र्धकतर्फ मुख्य सेयर ङ्यादी ग्रुप पावर लिमिटेडको रहनेछ । अन्य कम्पनीले पनि लगानी गर्नेछन् ।


आयोजना आगामी साढे ३ वर्षमा निर्माण सक्ने गुरागाईंले बताए । उनका अनुसार वित्तीय व्यवस्थापनसँगै टेन्डर प्रक्रिया अघि बढिसकेको र २ महिनाभित्र सबै प्रक्रिया पूरा हुनेछ । आयोजनामा निर्माण हुने विभिन्न ठाउँ जानका लागि अहिले सडक निर्माणका कार्य धमाधम भइरहेको उनले बताए । उनका अनुसार आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच २०७४ जेठ १९ गते भइसकेको छ । आयोजना र प्राधिकरणबीच चलनचल्ती (हिउँदको समय प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसा) को दरमा पीपीए भएको हो । उक्त कम्पनीले यसअघि जिल्लाको उत्तरी क्षेत्रकै सिउरी खोलामा ५ मेगावाटको सिउरी जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।


खोलाको बहावमा आधारित (रन अफ रिभर) उक्त आयोजनाको मस्र्याङ्दी गाउँपालिका ६ (साविक बाहुनडाँडा १) डहरेनजिकै लेदेमा बाँध निर्माण गरिनेछ । ६ दशमलव ८० घनमिटर प्रतिसेकेन्ड डिजाइन डिस्चार्ज रहेको यस आयोजनाको ग्रस हेड ६ सय ९७ मिटर रहेको छ । ६ हजार ७ सय ६० मिटर लामो सुरुङ मार्फत काफलडाँडामा निर्माण हुने सर्ज साफ्टमा ल्याइनेछ । त्यसपछि १ हजार २ सय ९० मिटरको लामो ठाडो र तेर्सो सुरुङमा राखिने पेनस्टक पाइप मार्फत भूमिगत विद्युत् गृहसम्म लगेर विद्युत् उत्पादन गरिनेछ । विद्युत्गृहमा २२ मेगावाटका २ वटा पेल्टन टर्बाइन रहनेछ । गुरागाईंका अनुसार आयोजनाबाट वार्षिक २ सय ३५ दशमलव ४६ गिगावाट घण्टा विद्युत् उत्पदन हुनेछ । उत्पादित विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटरको दूरीमा रहेको मस्र्याङदी गाउँपालिका ३, खुदी टारिकुनास्थित १३२ केभीको सबस्टेसनमा जडान गरिनेछ । उक्त सबस्टेसनसम्म प्रसारण लाइन कम्पनीले नै निर्माण गर्ने गुरागाईंले बताए ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?