हाइब्रिड मकैमा लागेन दाना

पवन यादव

निजगढ — पर्सासँगै बाराको सिम्रौनगढ क्षेत्रमा पनि मकै बोटमा घोगा नलागे किसानहरूले बताएका छन् । कृषकहरूका अनुसार सिम्रौनगढ, भगवानपुर, पटेर्वा, चिउटाहा, इटवाल, हरिहरपुर, गोलागन्जलगायतका स्थानका किसानले रोपेको मकैमा दाना नलागेको हो । राम्रो आम्दानी हुने आशामा स्थानीय कृषकले हाइब्रिड (उन्नत जात) मकै रोपेका थिए ।

हाइब्रिड मकैमा लागेन दाना

थोरै समयमा बढी आम्दानी हुने आशामा उखु खेती छाडेर ८ कठ्ठा क्षेत्रफलमा मकै रोपेको सिम्रौनगढ–८ इटवालका वीरलालप्रसाद कुसवाहाले बताए । ‘मकै बोट हुर्काउन मलखाद, सिँचाइमा धेरै खर्च गरेका थियौं,’ उनले भने, ‘मकैको बोट हल्र्लकै बढेको छ । एउटै बोटमा ३ देखि ५ वटासम्म बाला लागेको छ । तर त्यसमा एउटामा पनि दाना छैन । ’ कुसवाहाका अनुसार राम्रो उब्जनीका लागि किसानले गर्नुपर्ने मिहिनेत सबै गरे पनि मकैमा दाना नलाग्दा कृषकको लगानी डुबेको छ । मकैको घोगामा दाना नलागेको भन्दै बोटैसमेत उखेलेर कृषिका कर्मचारीलाई जाँच्नका लागि दिएको उनले बताए ।


कात्तिक महिनामा रोपेको प्राय: सबै मकैको बोटमा दाना लागेको छैन । वीरलालकै छिमेकी राजवंशी राउत कुर्मीको मकै बोटमा पनि यस्तै समस्या देखिएको छ । अन्तिम समयमा पनि मकैको घोगामा दाना नलागेपछि उनी चिन्तित बनेका छन । ‘पछिल्लो समय मकैमा पानी हाले पनि खासै उपलब्धि हुन सकेन,’ स्थानीय गौरीदेवी पटेलले भनिन् । ५ कठ्ठा जग्गामा मकै खेती गरेको उनले बताइन् ।


मकै खेतीमा गरेको लगानीसमेत डुबेपछि यहाँका किसान थप समस्यामा परेका छन् । पीडित किसानको पहिचान गरी राहत उपलब्ध गराउनुपर्ने माग स्थानीय कृषकहरूको छ । ३ जना प्राविधिक रहेको जिल्ला कृषि विकास कार्यालय बाराका बाली विकास फाँटका प्राविधिक सहायक राजवंशी चौरसियाले मकैको घोगामा दाना नलाग्ने कारण वैज्ञानिकलाई थाहा हुने बताए । दाना नलागेको समस्याबारे मन्त्रालयलाई समेत जानकारी गराइसकिएको उनले जनाए ।


‘कात्तिक महिनामा लगाएको प्राय: सबै जातको मकैको घोगामा दाना लागेको छ्रैन,’ उनले भने, ‘वैज्ञानिकले अनुसन्धान गरेपछि मात्र कारण पत्ता लाग्छ ।’ उनका अनुसार १० डिग्रीभन्दा कम तापक्रम भएको अवस्थामा हुर्केको मकै बोटमा दाना लाग्दैन । उनले भने, ‘३५ डिग्रीभन्दा बढी तापक्रम भएको स्थानमा लगाएको मकै बोटमा पनि दाना लाग्दैन ।


यसको बीचमा तापक्रम रहेको मौसम मकै खेतीका लागी उपयुक्त समय हो ।’ तर यस वर्षको चिसो १० डिग्रीभन्दा कम पुगेकोले मकैमा यस्तो समस्या देखिएको उनले दाबी गरे ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?