कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झापामा आलुको मूलबीउ उत्पादन सुरु

अर्जुन राजवंशी

दमक — प्रदेश १ लाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन थालिएको छ । जैविक प्राविधिकहरूले टिस्युकल्चर प्रविधिबाट आलुको पूर्व–मुलबीउ (प्रि–बेसिक सिड) उत्पादन गर्न लागेका हुन् ।

झापामा आलुको मूलबीउ उत्पादन सुरु

आलुको उत्पादकत्व वृद्धि गराउन गुणस्तरीय बीउ, बेर्ना आवश्यक रहेकोले गौरादहबाट पूर्व मूलबीउ उत्पादन सुरु गरिएको हो । मूलबीउ उत्पादन फाइकस बायोटेक कम्पनीले सुरु गरेको हो । राष्ट्रिय आलुबाली विकास कार्यक्रम खुमलटारको ५० प्रतिशत अनुदानमा मूलबीउ उत्पादन सुरु गरेको कम्पनी सञ्चालक दुर्लभ कार्कीले बताए ।


‘उन्नत प्रकारको बीउ, बेर्नाको अभावमा कृषकले अपेक्षाकृत उत्पादन गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘हामी त्यही कुरालाई मध्यनजर गर्दै गुणस्तरीय बीउ, बेर्ना उत्पादनका लागि आलुको पूर्व मूलबीउ बनाउनेतिर लागिपरेका छौं ।’


गौरादह २ सिक्टियामा ३ का जमिनमा कम्पनीले काम सुरु गरेको हो । आलुको पूर्व–मूलबीउ उत्पादन गर्न टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सञ्चालनमा ल्याइएको छ ।


यसका लागि कम्पनीले दुई करोड रुपैयाँ लगानी गरेको छ । जसमा ४०/४० लाख रुपैयाँको लागतमा प्रयोगशाला भवन र स्क्रिन हाउस निर्माण गरेको छ । एक करोड २० लाख रुपैयाँ खर्चिएर विभिन्न उपकरण तथा मेसिनरीका सामग्री खरिद गरेको सञ्चालक कार्कीले बताए । कम्पनीको कुल लागत दुई करोडमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट एक करोड रुपैयाँ अनुदानबापत प्राप्त भएको हो ।


आलुको पूर्व मूलबीउ कृत्रिम वातावरणमा टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिन्छ । उक्त बीउ एकदेखि ५ ग्राम वजनसम्मका मात्रै हुन्छन् । उक्त बीउबाट चार पुस्तासम्म बीउ आलु मात्रै उत्पादन गरिने कार्कीले बताए ।


गाउँमा उन्नत जातको आलुको मूलबीउ उत्पादन सुरु भएपछि स्थानीय कृषक उत्साही बनेका छन् । गौरादहको छिमेकी गाउँपालिका कमलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुको पकेट क्षेत्र सञ्चालित छ । गौरादहकै महारानीझोडा साना किसान कृषि सहकारीले नमुना तरकारी खेती गर्दै आएको छ ।


‘आलुको पूर्व मूलबीउ उत्पादनबाट हामी प्रत्यक्ष लाभान्वित हुने भएका छौं,’ आलु उत्पादक किसान टंक कट्टेलले भने, ‘यसअघि आलुको बीउ खरिदमा हामीले धेरै नोक्सानी बेहोर्दै आएका छौं । नजिकै बीउ नपाउँदा धेरै किसानले यसको खेतीसमेत नगरेको अवस्था छ ।’ तरकारी खेती गर्ने कृषकलाई प्रत्यक्ष फाइदा पुग्नेगरी आलुको पूर्व मूलबीउ उत्पादन थालेकोमा गौरादहका मेयर रोहितकुमार शाहले खुसी व्यक्त गरे ।


उनले भने, ‘९० प्रतिशत नगरवासी कृषक छन् । उनीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने तथा प्राविधिक ज्ञान हासिल हुने आलुको पूर्व मूलबीउ उत्पादन कार्यमा हामी जस्तोसुकै सहयोग गर्न तयार छौं ।’ गौरादहमा नयाँ शैक्षिक सत्रदेखि कृषि क्याम्पस सञ्चालनमा आउँदै छ । पूर्वसांसद दीपक कार्कीले जैविक प्रविधिबाट थालिएको आलुको बीउ उत्पादन कार्यले कृषि क्याम्पसका विद्यार्थी पनि लाभान्वित हुनेमा खुसी व्यक्त गरे ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?