कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खाद्यले धान किन्न सकेन

व्यवस्थापन कौशल नहुँदा संस्थान दुरवस्थामा चलेको छ : पूर्व सचिव

काठमाडौँ — खाद्य संस्थानले लक्ष्यको आधा मात्रै धान खरिद गरेको छ । चालु आर्थिक वर्षमा संस्थानले २ लाख ७६ लाख क्विन्टल थान खरिद गर्ने लक्ष्य राखेको भए पनि यसको ४६ प्रतिशत मात्रै खरिद गरेको छ ।

खाद्यले धान किन्न सकेन

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार चैत ३ गतेसम्म १ लाख २७ हजार ३ सय २८ क्विन्टल मात्रै खरिद भएको छ । तराई क्षेत्रमा धान बिक्रीका लागि उपलब्ध नभएकाले थप खरिद हुने सम्भावना छैन । संस्थानको मुख्य उद्देश्य धान, गहुँ खरिद गरी दुगर्म क्षेत्रमा पठाउने, प्राकृतिक प्रकोपको अवस्थामा परिचालन गर्ने हो । २०६६/६७ अघि टेन्डरमार्फत चामल खरिद गथ्र्यो । २०६६/६७ बाट धान, गहुँ खरिद गर्न थाले पनि हालसम्म लक्ष्यअनुसार गर्न सकेको छैन । संस्थान पराम्परागत शैलीबाट सञ्चालन हुँदा कार्यसम्पादन सन्तोषजनक हुन नसकेको जानकारहरू बताउँछन् ।

‘लक्ष्यअनुसार प्रगति नहुनुमा व्यवस्थापनको कमजोरी देखिन्छ । कुशल ढंगले काम गर्न सकेन,’ पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले भने, ‘परिवर्तित सन्दर्भमा नयाँ सोचले काम गर्नर्े क्षमता नै भएन ।’ उनका अनुसार दुई जिल्लाबाहेक सबैमा मोटर बाटो छ । व्यवसायीले नै खाद्यवस्तु ढुवानी गर्दै आएका छन् । संस्थानले अब दुगर्ममा चामल पठाउने भन्दा त्यहाँका उत्पादनलाई बजारीकरण गर्नुपर्ने ओझाले बताए ।

‘स्थानीय उत्पादनलाई प्रशोधन गरी, प्याकेजिङ गरेर विभिन्न ठाउँबाट रिटेलर खोलेर बिक्री गर्नुपर्छ । यसले किसानको आम्दानी पनि वृद्धि हुन्छ,’ ओझाले भने, ‘संस्थानले ग्रामीण र सहरी क्षेत्रको पुलको काम गर्न सक्थ्यो तर सकेन ।’ संस्थानले केही वर्षयता कर्णालीको सिमी, फापर पनि खरिद गर्दै आएको छ । खरिद गरिएको उक्त खाद्य बजारीकरणको अभावले थापाथलीकै गोदाममा थन्किएको छ ।

संस्थानको दिगोपनका लागि नयाँ रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने सुझाव सचिव ओझा दिन्छन् । संस्थानको तथ्यांकअनुसार २०७१/७२ मा ३ लाख क्विन्टल धान किन्ने लक्ष्य भए पनि २ लाख ८९ हजार ४ सय ३१ क्विन्टल मात्रै खरिद भएको थियो । २०७२/७३ मा १ लाख ७४ हजार क्विन्टल लक्ष्यमा १ लाख ५२ हजार ४ सय ९७ क्विन्टल धान खरिद भयो ।

जानकारहरूका अनुसार बजारीकरण र बजार नियन्त्रण गर्ने गरी धान किन्ने योजना भए पनि कम मूल्य तोक्दा लक्ष्यअनुसार खरिद हुन नसकेको हो । संस्थानले कात्तिकबाट धान किन्न सुरु गरेको थियो । त्यसबेला मूल्य तोक्दा बजार मूल्यभन्दा प्रतिक्विन्टल ३०/४० रुपैयाँ बढी तोकेको थियो । संस्थानले धानको मूल्य निर्धारण गरेपछि व्यवसायीहरूले पनि मूल्य बढाएका थिए । संस्थानले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल १ सय ५० रुपैयाँ बढीमा व्यवसायीले धान खरिद गर्दै आएका छन् । जसले गर्दा लक्ष्यअनुसार खरिद हुन नसकेको हो । संस्थानका महाप्रबन्धक कुमार दाहालले समयमै मूल्य तोक्न प्रमुख जिल्ला अधिकारीलाई पत्रचार गरे पनि ढिलाइ भएको गुनासो गरे । यीबाहेक भारतले उच्च मूल्य निर्धारण गर्दा सबै धान भारत गएको उनले बताए ।

‘भारतले धानको भाउ धेरै राख्यो । सोहीअनुसार हामीले बढाउन सकेनांै । सीडीओलाई पत्राचार गरे पनि ढिलाइ भयो,’ उनले भने, ‘जसले गर्दा धान सबै भारततर्फ गयो ।’ संस्थानका अनुसार धानको मूल्य निर्धारण गर्न प्राथमिक खरिद समिति गठन गरिएको छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन्छन् । सदस्यमा कृषि कार्यलय प्रमुख, कृषि कार्यलयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छन् । टोलीले स्थानीय उत्पादन, बजार मूल्य, कृषि कार्यालयले दिने मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्छ । मिल व्यवसायीले पनि धानमा कार्टेलिङ गरेको संस्थानको ठहर छ । सञ्चालक समितिको गलत निर्णयले गर्दा पनि समस्या भएको दाहालको दाबी छ । उनका अनुसार राजापुर, टीकापुर र मकवानपुरमा उत्पादन हुने धान नकिनी अर्को किन्ने निर्णय भएको थियो । त्यसले गर्दा पनि केही कठिनाइ भएको उनको दाबी छ ।

संस्थानले कैलाली/बर्दियाबाट धान किन्न सुरु गरेको थियो । बाँकेमा मंसिरमा किन्न थालेको थियो । अन्य जिल्लामा भने पुसबाट किन्न थालेको जनाएको छ । अञ्चल कार्यालय धनगढीले ४५ हजार क्विन्टल किन्ने लक्ष्य राखेको छ । हालसम्म ४४ हजार ५ सय १७ हजार क्विन्टल खरिद भएको छ । अञ्चल कार्यालय राजापुरले ३० हजार किन्ने लक्ष्य राखेको छ । उक्त कार्यालयले १९ सय ४६ क्विन्टल खरिद गरेको छ । महेन्द्रनगर कार्यालयले ५ हजार किन्ने लक्ष्य राखेको छ । ११ सय ८८.३४ क्विन्टल मात्रै खरिद भएको छ ।

नेपालगन्जले पनि २० हजार क्विन्टल किन्ने लक्ष्य छ । १३ हजार १ सय ८.३४ क्विन्टल खरिद गरेको छ । लहान कार्यालयले ८० हजार क्विन्टल किन्ने लक्ष्य राखेको छ । ३२ हजार ७ सय १५.४९ क्विन्टल खरिद गरेको छ । अञ्चल कार्यालय जनकपुरले २० हजार किन्ने लक्ष्य राखे पनि २८ सय २३ क्विन्टल मात्रै खरिद भएको छ ।

वीरगन्ज कार्यालयले ३० हजार किन्ने लक्ष्य राखे पनि २३ हजार ४ सय ८७९० क्विन्टल खरिद गरेको छ । विराटनगरमा ४ हजार ८ सय ९४ र बिर्तामोडमा २६ सय ४८ क्विन्टल खरिद गरेको छ । उक्त जिल्लाबाट मोटा, सोना, जिरा, मार्सीलगायत धान खरिद भइरहेको जनाएको छ । किसानबाट खरिद गरिएको धान संस्थानले चामल बनाएर बिक्री गर्छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चालम किन्ने योजना बनाएको छ । एक लाख क्विन्टल चामल खरिद गर्न टेन्डरसमेत अह्वान गरेको जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?