मोबाइल खर्च ५३ अर्बभन्दा बढी

एनसेलले एक वर्षमा २९ अर्ब २३ करोड र नेपाल टेलिकमले २३ अर्ब ८३ करोड रुपैयाँ कमाए
विजय तिमल्सिना

काठमाडौँ — एक नेपालीले मोबाइल कुराकानीमा कति रुपैयाँ खर्च गर्लान् ? प्रत्येक व्यक्तिलाई सोध्दा यो प्रश्नको उत्तर निकै सानो रकममा आउला ।

मोबाइल खर्च ५३ अर्बभन्दा बढी

तर, समग्रमा नेपालीले वर्षमा ५३ अर्बभन्दा बढी रुपैयाँ मोबाइल कुराकानीमा खर्च गर्छन् । नेपालीले मोबाइल प्रयोगमा गर्ने खर्च नेपालका दुई ठूला टेलिकम सेवा प्रदायकको आम्दानीको मुख्य स्रोत पनि हो ।

नेपाली टेलिकम बजारको अधिकांश हिस्सा नेपाल टेलिकम र एनसेलले ओगटेका छन् । दुवै कम्पनीले एक वर्षमा जीएसएम मोबाइल सेवाबाट ५३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा सरकारी स्वामित्वको नेपाल टेलिकमभन्दा निजी लगानीको एससेलले बढी आम्दानी गरेको छ ।

यो वर्ष नेपाल टेलिकमले ४० अर्ब ३१ करोड ९० लाख ९३ हजार आम्दानी गर्दा एनसेलले ५६ अर्ब ९४ करोड ७१ लाख ३१ आम्दानी गरेको छ ।

टेलिकम कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले एक वर्षमा जीएसएम सेवाबापत २९ अर्ब २३ करोड ३ लाख ६४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । जीएसएम सेवातर्फको कमाइ नेपाल टेलिकमको २३ अर्ब ८३ करोड २ लाख ५३ हजार रुपैयाँभन्दा बढी छ । यो तथ्यांकमा मोबाइल प्रयोगकर्ताले चलाउने डाटाको खर्च समावेश छैन ।

सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको आम्दानीको अर्को स्रोत इन्टरनेट सेवा पनि हो । नेपाल टेलिकमले प्रयोगकर्तालाई डाटाबाहेक एडीएसएल, वाइम्याक्सजस्ता प्रविधिमा समेत इन्टरनेट उपलब्ध गराउँदै आएको छ । एनसेलले आफ्नो इन्टरनेट सेवालाई मोबाइल डाटामै सीमित राखेको छ ।

एनसेलले इन्टरनेट सेवा दिएर मात्रै १० अर्ब ७० करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । एनसेलभन्दा केही कम आम्दानी गरेको नेपाल टेलिकमको कमाइ इन्टरनेट सेवामार्फत करिब ८ अर्ब छ ।

दुवै सेवा प्रदायकको आम्दानीको मुख्य स्रोत जीएसएम सेवा भए पनि अन्तर्राष्ट्रिय कलमार्फत पनि दुवै कम्पनीले उल्लेख्य कमाइ गरेका छन् । एससेलले अन्तर्राष्ट्रिय कल सेवामार्फत १७ अर्ब ९६ लाखभन्दा बढी आम्दानी गरेको छ । अन्तर्राष्ट्रिय कल सेवामार्फत नेपाल टेलिकमको कमाइ ९ अर्ब ३ करोडभन्दा बढी छ । नेपालबाट सोझै विदेशी नम्बरमा कल गर्दा वा विदेशबाट नेपाली नम्बरमा आएको कलबाट दुई सेवा प्रदायकले यो कमाइ गरेका हुन् ।

अहिले विदेशमा कल गर्दा भाइबर, स्काइप, फेसबुक, ह्वाट्सएपजस्ता भीओआईपी एप्लिकेसनहरूमार्फत कुराकानी गर्ने चलन रहे पनि यो तथ्यांकले अझै पनि मोबाइलमार्फत अन्तर्राष्ट्रिय कल गर्ने प्रचलन नहटेको देखाउँछ । अन्तर्राष्ट्रिय कलमा शुल्क धेरै लाग्छ ।

नेपालमा ६ वटा टेलिकम सेवा प्रदायक कम्पनी छन् । नेपाल टेलिकम र एनसेलले बजारको अधिकांश हिस्सा ओगटेका छन् । अन्य कम्पनीको बजार उपस्थिति नगण्य मात्रै छ । दूरसञ्चार प्राधिकरणले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमका ग्राहक १ करोड ६२ लाख २५ हजारभन्दा बढी छन् । यो टेलिकमको जीएसएमतर्फको ग्राहक संख्या मात्रै हो । ल्यान्डलाइन र सीडीएम प्रविधि प्रयोग गर्ने ग्राहकसहित नेपाल टेलिकमको कुल ग्राहक १ करोड ८५ लाख ५८ हजार रहेको प्राधिकरणको तथ्यांकमा जनाइएको छ । यो मंसिर महिनासम्मको तथ्यांक हो । जीएसएम सेवातर्फ एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख ३३ हजार छ ।

मोबाइलमा डाटा इन्टरनेट चलाउने नेपाल टेलिकमका ग्राहक ८५ लाख ८३ हजार ४ सयभन्दा बढी छन् भने एनसेलको यो ग्राहक ७१ लाख ६४ हजार छ । पछिल्लो ५ वर्षमा मोबाइलमा डाटा इन्टरनेट प्रयोग गर्नेको संख्या दोब्बर बढेको छ । यी दुई कम्पनीबाहेक स्मार्ट टेलिकम प्रालिले समेत आफ्ना ग्राहकलाई डाटा इन्टरनेटको सुविधा दिँदै आएको छ । पछिल्लो समय स्मार्ट टेलिकमले केही जिल्लामा फोरजी सेवासमेत विस्तार गरिसकेको छ । टेलिकम र एनसेलले यसअघि नै फोरजी सेवा सुरु गरिसकेका छन् । टेलिकमले काठमाडौं उपत्यकासहित पोखरामा फोरजी सेवा दिइरहेको छ । एनसेलले भने फोरजी सेवालाई काठमाडौं उपत्यकासहित देशका अन्य सहरसम्म पनि फैलाएको छ ।

दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकम बजारको ९६ प्रतिशत हिस्सा मोबाइल प्रयोगकर्ताले ओगटेका छन् । साथै नेपाल टेलिकम र एनसेलको कुल बजार हिस्सा ९३ प्रतिशत छ । नेपालमा मोबाइल र इन्टरनेट प्रयोगकर्ता बढ्दो अवस्थामा रहेको प्राधिकरणको तथ्यांक छ ।

प्रकाशित : चैत्र ६, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?