१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मरिच तस्करी बढयो

विराटनगर — कहिले सुपारी त कहिले सुकुमेल र लसुन मात्र होइन स्याउसमेत तेस्रो मुलुकबाट खरिद गरी अवैध रूपमा भारत पैठारी गराउने गिरोहको आँखा हाल मरिचमा परेको छ ।

मरिच तस्करी बढयो

पछिल्लो समय कालो मरिचको आयात अस्वाभाविक रूपमा बढेको छ । यो बढ्नुको कारण मरिचको तस्करी नै हो । विराटनगर भन्सार कार्यालयबाट गर्त वर्षको तुलनामा चालु आर्थिक वर्षका आठ महिनामा सयौं गुणा बढी मरिच आयात भएको छ । तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत: नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ । यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाएका हुन् । तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन् ।

आर्थिक वर्ष ०७३/७४ मा विराटनगर भन्सार कार्यालयबाट १ सय ६४ टन मरिच आयात भएको थियो । ११ करोड २१ मूल्य ३३ हजार रुपैयाँ बराबरको मरिच आयात हुँदा भन्सारले २ करोड ९ लाख १६ हजार कर असुली गरेको थियो । मरिचमा ५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्छ । तर, चालु आर्थिक वर्ष ०७४/७५ का आठ महिना अर्थात् गएको फागुनभित्रै मात्र १ हजार ६ सय ५२ टन मरिच आयात भएको भन्सार प्रमुख मिमांस अधिकारीले बताए । चालु आर्थिक वर्षका ८ महिनामा ७१ करोड ४ लाख मूल्य बराबरको मरिच आयात हुँदा भन्सार कार्यालयले १२ करोड ९१ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

हाल भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । विराटनगरका आयातकर्ता हेमकरण दुगडले आफूले सुपारी, सुकुमेल हुँदै अहिले मरिच आयात गरिरहेको बताए ।

खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले भारततर्फ अवैध रूपमा मरिच पठाउने गरेका छन् । झापा, मोरङ, सुनसरी, सिरहालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेपछि आयात यति धेरै भएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले व्यापारिक मालवस्तुको पैठारीको बिलमा उल्लेखितभन्दा सन्दर्भ मूल्य सूचीमा मूल्यांकन बढी रहेछ भने मूल्यसूचीअनुसार भन्सार महसुल तिराउन निर्देशन दिएका छन् । सन्दर्भ मूल्यसूचीमा मरिचको मूल्यांकन प्रतिटन ७ हजार डलर छ । तर, व्यवसायीको अनुरोधपछि भन्सार विभागले सन्दर्भ मूल्य सूचीमा संशोधन गरी ४ हजार डलर बनाएको छ । आयातकर्ताले १० कन्टेनर मरिच सीमावर्ती भारतीय भूमिमै रोकेर राखेका थिए । तर, भन्सार विभागले ४ हजार डलरभन्दा कममा नछाड्ने जनाउ दिएपछि कारोबारीले मरिच भित्र्याउन थालेका छन् ।

प्रकाशित : चैत्र ६, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?