कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

व्यवसायीले कर तिरेनन्

प्रशान्त माली

काठमाडौँ — जिल्लाका नाम चलेका ठूला होटल, सिनेमा हल, सपिङ मल, प्लाजादेखि कम्पेक्ससम्मले काठमाडौं महानगरपालिका (महानपा) लाई घरजग्गा कर नतिरेको भेटिएको छ ।

महानपाका जनप्रतिनिघिले गरेको सर्वेक्षणमा ५० भन्दा बढी ठूला व्यवसायीले करोडौं राजस्व छली गरेको पाइएको हो । महानपाका अनुसार कर छली गर्नेमा एभरेस्ट बैंक लाजिम्पाट, सांग्रिला होटल, ग्लोबल आईएमआई पानीपोखरी, गोपीकृष्ण मुभिज चाबहिल, सीटीसी मल सुन्धारा, सिभिल मल सुन्धारा, साकृट बिल्डिङ त्रिपुरेश्वर र त्रिपुरेश्वर प्लाजा छन् ।

काठमाडौं महानपा–१० नयाँ बानेश्वरस्थित नेपाल बंगलादेश बैंक, जनता बैंक शंखमूल, होटेल एभरेस्ट नयाँ बानेश्वर, बानेश्वर प्लाजा, अल्फाबिटा कम्पेक्स बुद्धनगर पनि कर छलीको सूचीमा छन् । आरबी कम्प्लेक्स खिचापोखरी, नयाँ सडक कम्प्लेक्स नयाँ सडक, काठमाडौं मल सुन्धारा, रत्न प्लाजा खिचापोखरी, पार्क प्लाजा न्युरोड, पिपुल्स प्लाजा खिचापोखरी, नेपाल बैंक लिमिटेड धर्मपथ, देव प्लाजा न्युरोड, भिबोर विकास बैंकले कर तिरेका छैनन् ।

काठमाडौं महानगरपालिका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रद्यानांगले कर नतिर्ने व्यवसायीलाई कारबाही दायरामा ल्याउने तयारी भइरहेको बताए । ‘करदातालाई समयभित्र वक्यौता चुक्ता गर्नु अनुरोध छ,’ उनले भने, ‘समयमा कर बुझाउनेलाई मालपोत, घरजग्गा तथा व्यवसाय करको जम्मा बक्यौतामा केही प्रतिशत छुट गरेका छौं ।’ उनले विगतका वर्षको बाँकी बक्यौतामा एकमुष्ट तिर्नेलाई जरिवानामा पनि छुट गर्न सकिने बताए । ‘अटेर गर्नेको घरजग्गा बिक्री तथा बैंक धितो राख्न रोक लगाइनेछ,’ उनले भने, ‘घरको टेलिफोन, पानी, फोहोर नउठाउनेलगायत सेवा सुविधाबाट पनि वञ्चित गराइनेछ ।’

महानगरपालिकाका अधिकारीका अनुसार बढी राजस्व तिर्नुपर्ने धनाढय राजनीतिक संरक्षणमा रहेर कर छली गरिरहेका छन् । काठमाडौं महानपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले भने कर नतिर्ने व्यवसायीको नाम सार्वजनिक गर्न चाहेनन् । महानपाको घरजग्गा कर मूल्यांकनअनुसार साबिकमा कर तिरेका वा आव ०७१/७२ मा तिर्ने व्यवसायीलाई तिरेको रकमको १५ प्रतिशतभन्दा बढी कर नलिने, ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएकाको हकमा घरजग्गा कर नलिने तर मर्मत भई बस्नयोग्य बनाएको भएमा लागू नहुने, घरजग्गाको मूल्यांकन २ करोड ९९ लाख ९९ हजार ९ सय ९९ सम्मको रकमको हकमा ०७३ असोज मसान्तसम्म कर तिर्ने करदातालाई १० प्रतिशत छुट, व्यवसायी, बहाल, मनोरञ्जन र सवारी कर २०७३ असोज मसान्तसम्म कर तिरेमा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

व्यापारिक तथा औद्योगिक प्रतिष्ठानको चार वर्ग मिटरको दुई हजार ९ सय, पाँच वर्ग मिटरको ३ हजार ६ सय, ६ का चार हजार २ सय ५०, निजी आवास तथा संघसंस्थाको चार वर्गमिटरको एक हजार ७ सय ५०, पाँचको दुई हजार एक सय, ६ को दुई हजार ५ सय तोकिएको छ । सरकारी तथा अर्धसरकारी निकायको चार वर्गमिटरको दुई हजार ४ सय, पाँचको २ हजार ९ सय, ६ को तीन हजार ४ सय, विदेशी कूटनीतिक नियोगको चारको तीन हजार ५ सय, पाँचको चार हजार २ सय ५० र ६ को पाँच हजार रुपैयाँ तोकिएको छ ।

महानगरपालिकामा ८ लाख घरधुरी छन् । महानपाका अधिकारीका अनुसार तीमध्ये मुस्किलले दुई लाखले मात्र घरजग्गा कर तिरेका छन् । यी सबै निकाससँग कडाइका साथ कर उठाउने हो भने लक्ष्यअनुरूप ११ अर्ब २५ करोड राजस्व उठाउन सकिने महानपाका अधिकारी बताउँछन् । कर छलीका कारण महानपालाई बर्सेनि अर्बौं रुपैयाँ राजस्व घाटा भइरहेको छ । महानगरमा अधिकांश घर बहालमा लगाइएको छ । व्यावसायिक प्रयोजनका लागि घर भाडामा दिने व्यक्तिले पनि वास्तविकभन्दा निकै कममा बहाल सम्झौता भएको देखाएर कर छल्ने गरेका छन् । स्थानीय स्वायत्त शासन नियमावलीअनुसार सरकारी तथा निजी स्वामित्वमा रहेका कुनै पनि संघ संस्थाले आफ्नो भवन व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गरेमा कर तिर्नुपर्ने कानुनी प्रावधान छ ।

प्रकाशित : चैत्र ६, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?