कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पशुपालन कर्जा ३० प्रतिशतले बढयो

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिनामा पशुपालनमा साढे ८ अर्ब रुपैयाँ थप कर्जा विस्तार भएको छ । गत असारको तुलनामा यो करिब साढे २६ प्रतिशतको वृद्धि हो ।

पशुपालन कर्जा ३० प्रतिशतले बढयो

बढ्दो व्यवसायीकरण र कृषिमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने नियामक निकायको निर्देशनले कृषि कर्जा उलेख्य रूपमा विस्तार भएको हो । समग्र कृषि कर्जा बढेपछि पशुपालन कर्जाको विस्तार पनि राम्रो भएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म पशुपालन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४० अर्ब ९० करोड रुपैयाँ लगानी गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३० प्रतिशतको वृद्धि हो । गत माघसम्म बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा १ खर्ब १९ अर्ब ७२ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । जसमध्ये पशुपालनमा प्रवाह भएको कर्जा कुल कृषि ऋणको करिब ३४ प्रतिशत हुन आउँछ । यो कर्जामा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको ऋण समावेश छैन ।

बैंक तथा वित्तीय संस्थाले कृषि उत्पादन र कृषिजन्य क्षेत्रमा धेरै ऋण लगानी गरून् भन्ने उद्देश्यले राष्ट्र बैंकले कृषिको क्षेत्रगत सीमा बढाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भएको उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कुल कर्जाको न्यूनमत १० प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्छ । अघिल्लो वर्ष यस्तो सीमा ५ प्रतिशत थियो ।

राष्ट्र बैंकको निर्देशनअनुसार हाल बैंकहरूले कुल कर्जाको न्यूनमत २५ प्रतिशत तोकिएका उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्छ । जसमध्ये कृषिमा न्यूनतम १०, जलविद्युत्मा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्छ । उक्त सीमा पुर्‍याउन राष्ट्र बैंकले ०७५ असारसम्मको समय दिएको छ । उक्त अवधिमा तोकिएको सीमा नपुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने बताइसकेको छ ।

यद्यपि गत माघसम्म बैंक तथा वित्तीय संस्थाले औसतमा कुल कर्जाको ५.३३ प्रतिशत मात्र कृषि क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकको निर्देशन पालनमा गर्नका लागि बाँकी तीन महिनामा बैंक तथा वित्तीय संस्थाले औसतमा ४.६७ प्रतिशत थप कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । यो बैंक तथा वित्तीय संस्थाका लागि निकै जटिल हुनेछ ।

यसैगरी विकास बैंक र वित्त कम्पनीले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमश: १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

गत माघसम्म कृषि क्षेत्रमा प्रवाह भएकोमध्ये पशुपालनमा गएको कर्जा करिब साढे २६ प्रतिशत, खेतीमा १८ प्रतिशत र अन्य कृषिजन्य उत्पादनमा करिब ४६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । उक्त अवधिमा वन र माछापालनमा प्रवाह भएको कर्जाको वृद्धिदर भने करिब २ प्रतिशतले घटेको छ ।

माथि उल्लिखित कृषि कर्जाको तथ्यांकमा लघुवित्त वित्तीय संस्थाहरू लगानी गरेको कृषि कर्जा समावेश छैन । मुलुकभर सञ्चालित लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको करिब ९० प्रतिशत कृषि उत्पादन र कृषिजन्य क्षेत्रमा गएको देखिन्छ । त्यसमध्ये पनि करिब ७० देखि ७५ प्रतिशत पशुपालनमा गएको जानकारहरू बताउँछन् । हालसम्म लघुवित्त संस्थाहरूले कुल करिब १ खर्ब १५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

‘लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कृषि कर्जाको करिब ७० देखि ७५ प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गरेको देखिन्छ,’ सेन्टर फर माइक्रोफाइनान्सका कार्यकारी अध्यक्ष जलनकुमार शर्माले भने, ‘त्यसमध्ये साना किसान सहकारी संस्थाको करिब ९० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी भएको छ ।’ खासगरी लघुवित्त संस्थाहरूले ग्रामीण भेगका विपन्न, महिला र सीमान्तकृत वर्गमा कर्जा लगानी गर्ने भएकाले यसले उनीहरूको आय आर्जन वृद्धिमा ठूलो सहयोग गरेको उनले बताए ।

आर्थिक वर्ष ०६७/६८ देखि साना किसान विकास बैंकले सरकारको ‘मासु तथा दुग्ध जन्य पशुपालन कर्जा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको फागुनसम्म ११ हजार ८ सय पशुपालक किसानलाई १ अर्ब ६१ करोड रुपैयाँ लगानी भइसकेको साना किसान विकास बैंकका मुख्य प्रबन्धक कृष्ण लामिछानेले बताए । ‘यो आर्थिक वर्षमा करिब १२ हजार पशुपालक किसानलाई १ अर्ब ५० करोड रुपैयाँ कर्जा विस्तार गर्ने लक्ष्य छ,’ उनले भने, ‘हालसम्मको प्रगति हेर्दा आउँदो असारसम्म लक्ष्यभन्दा धेरै कर्जा प्रवाह हुने सम्भावना छ ।’

‘मासु तथा दुग्ध जन्य पशुपालन कर्जा कार्यक्रम’ अन्तर्गत हालसम्म ७५ हजारजना पशुपालक किसानलाई ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य रहेकामा गत फागुनसम्म ९३ हजार किसानलाई ९ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार भएको लामिछानेले बताए । कुल प्रवाहित कर्जामध्ये ठूलो अंश सरकारको भए पनि केही बैंक आफैंले पनि लगानी गरेका छन् । यसरी प्रवाह भएको कर्जामध्ये करिब ५ अर्ब ऋण असुली भइसकेको जनाइएको छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?