२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

३१ हजार मिटर पाइप भित्रियो

अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन

पर्सा — पेट्रोलियम पाइपलाइन परियोजनाका लागि ३१ हजार मिटर पाइप भित्रिएको छ । वीरगन्ज नाकाबाट अमलेखजन्ज–रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माणको समग्री भित्रिएको हो ।

३१ हजार मिटर पाइप भित्रियो

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले परियोजनाको ३१ हजार ३ सय मिटर पाइप भित्रिएको जनाए । ‘भारतबाट दिनहुँ पाइप आइरहेको छ,’ उनले भने, ‘अझै आउन बाँकी छ ।’ हालसम्म करिब २५ करोड मूल्य बराबरको पाइप भित्रिएको उनले बताए । रक्सौलदेखि अमलेखगन्जसम्म ३७ दशमलव २ किमि लामो परियोजनाका लागि हालसम्म ३१ किमि पुग्ने पाइप ल्याइएको र ६ हजार मिटर आउन बाँकी छ ।

बहुचर्चित पेट्रोलियम पाइपलाइन परियोजनाका कालो स्टिल पाइप भारतबाट ल्याइएको हो । भारत, महाराष्ट्रको सिमलेस लिमिटेडमा उत्पादित पाइप परियोजनाको लागि प्रयोग गरिँदै छ । परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले पाइप ल्याएको हो । परियोजनाका लागि पाइप ल्याउँदा भन्सार शुल्क नलाग्ने भन्सार विभागबाट आएको परिपत्रअनुसार जाँचपासको सहजीकरण गर्ने काम मात्र गरेको यादवले बताए । नेपाल र भारतबीचको दुई देशीय सम्झौताअनुसार नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क लाग्दैन ।

परियोजना निर्माण सामग्री वीरगन्ज चिनी कारखानाको आवास क्षेत्रमा भण्डारण गरिँदै छ । दुई सातादेखि पाइपलाइन निर्माण सुचारु रहेको छ । बाराको बाराको सिमराबाट काम थालिएको हो । करिब डेढ वर्षमा परियोजना पूरा हुने अनुमान गरिएको छ । ४ अर्ब २० करोड रुपैयाँ लागतमा ओछयाइने पाइपलाइनको निर्माणमा भारत सरकारले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्दै छ ।

पाइपलाइन निर्माण भएपछि मुलुककै सर्वाधिक इन्धन आयात हुने वीरगन्ज नाकामा भन्सार क्षेत्रमा लाग्ने जाम र भीडभाड हट्ने दाबी गरिएको छ । त्रिभुवन राजपथको वीरगन्ज–पथलैया–अमलेखगन्ज सडकखण्डमा पनि टयांकरको चाप कम हुनेछ ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?