१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आयातित चिनीले स्थानीय उद्योग घाटामा

मोहन बुढाऐर

धनगढी — प्रदेश ७ का बजारमा पाकिस्तानी चिनीको बिक्री वितरण भइरहेको पाइएको छ । पाकिस्तानमा उखुको उत्पादनमा वृद्धि भई चिनीको मूल्यमा भारी गिरावट आउँदा त्यहाँको चिनी नेपाल आयात हुन थालेको हो ।

आयातित चिनीले स्थानीय उद्योग घाटामा

भारतबाट हुने वैध/अवैध चिनी आयातले स्थानीय चिनी उद्योग फस्टाउन नसकेको बेला पाकिस्तानी चिनीले बजार लिन थालेपछि यहाँका चिनी उद्योग थप समस्यामा परेका छन् ।

कोलकाता अन्तर्राष्ट्रिय बन्दरगाहाबाट वीरगन्ज र विराटनगर भन्सार नाका हुँदै नेपाल भित्रिने उक्त चिनी पछिल्लो समय प्रदेश ७ को बजारमा समेत पुगेको छ । प्रतिकिलो ५९ रुपैयाँ ५८ पैसामा पुग्न थालेको पाकस्तानी चिनीले स्थानीय चिनी उद्योगीहरूलाई चिन्तित मात्रै पारेको छैन, स्थानीय उत्पादन तथा बिक्री वितरणमा समेत कमी आएको उद्योगीहरू बताउँछन् ।

स्थानीय उद्योगले प्रतिकिलो ६५ रुपैयाँँभन्दा कम मूल्यमा बजारमा चिनी पठाउन सक्ने अवस्थामा नरहेको भागेश्वर सुगर मिलका सञ्चालक एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताए । तर, उपभोक्ताले अहिले पनि धनगढीमा ७० देखी ७५ रुपैयाँँ प्रतिकेजीभन्दा सस्तोमा चिनी किन्न पाएका छैनन् । ‘पाकिस्तानबाट आयातित चिनी र स्थानीय उद्योगबाट उत्पादित चिनीको मूल्यबीच कम्तीमा १० रुपैयाँ फरक हुने भएपछि यहाँका उद्योगको चिनी सर्वसाधारले कसरी किन्नु ?’ बोगटीले भने, ‘यहाँका उद्योगहरू धराशायी हुने अवस्था आइसक्यो ।’

चार महिनायता नेपाली बजारमा पाकिस्तानी चिनी भित्रिरहेको छ । यस अवधिमा पाकिस्तानबाट कम्तीमा १० लाख टन चिनी आयात भइसकेको छ ।

‘उसै पनि खुला सीमाका कारण भारतबाट हुने अवैध चिनी तस्करीले स्थानीय उद्योग फस्टाउन सकेका छैनन्,’ बोगटीले भने, ‘पाकिस्तानी चिनीले त झनै स्थानीय उद्योगबाट उत्पादित चिनीको बजार झनै घटाएको छ ।’

सरकारले व्यापार घाटा कम गर्न चिनीको भन्सार शुल्कमा वृद्धि गर्नुपर्ने उनले बताए । ‘नेपालको भन्सारमा चिनीमा लाग्ने राजस्व कम भएकाले पाकिस्तानबाट चिनी आयात भएको हो,’ अध्यक्ष बोगटीले भने, ‘स्थानीय उखु किसान र चिनी उद्योगको प्रवद्र्धनका लागि बाहिरबाट आयत हुने चिनीको भन्सार शुल्क बढाउन जरुरी छ ।’ पाकिस्तान चिनी आयत हुन थालेपछि नेपालभरका चिनी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल चिनी उद्योग संघले भन्सार शुल्क बढाउन सरकारको ध्यानाकर्षण गराइसकेको बोगटीले जनाए ।

‘चिनी उद्योग व्यवसायीले सरकारलाई गराएको ध्यानाकर्षणपछि कृषि मन्त्रालयको सचिवस्तरीय बैठकले चिनी आयातमा कायम रहेको भन्सार शुल्कमा ५० प्रतिशत वृद्धि गर्न अर्थ मन्त्रलायलाई सिफारिस गरेको थियो’ उनले भने, ‘हाल बाहिरबाट आयात हुने चिनीको राजस्व १५ प्रतिशत छ ।’ खुला सीमा नाकाबाट हुने चोरी तस्करीसमेत तत्काल नियन्त्रण हुनुपर्नेमा उद्योगीहरूले जोड दिँदै आएका छन् ।

भारतले आफ्नो मुलुकमा चिनी उद्योगी र उखु किसानहरूलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि तेस्रो मुलुकबाट आयात गरिने चिनीको भन्सार शुल्क ७० प्रतिशत पुर्‍याएको छ । पाकिस्तानले चिनी उद्योग र उखु किसानलाई १० प्रतिशत अनुदान दिने गरेको बोगटीले बताए ।

सरकारले उखु किसान र उद्योगहरूलाई प्रोत्साहित गर्ने योजना ल्याएमा नेपाल दुई वर्षभित्रै चिनीमा आत्मनिर्भर हुने दाबी व्यवसायीहरूको छ । नेपालमा वार्षिक २० लाख ७५ हजार टन चिनीको आवश्यक पर्छ । स्वदेशी चिनी उद्योगले उक्त मागलाई पूर्ति गर्न सक्ने अवस्था रहेको भए पनि सरकारी सहयोग खाँचो रहेको महाकाली सुगर मिलका सञ्चालक केदार श्रेष्ठले बताए । हाल घरेलु उत्पादन क्षमता २० लाख टन रहेको छ ।

प्रदेश ७ मा हाल २ वटा चिनी उद्योग सञ्चालनमा छन् । भागेश्वर सुगर मिल र महाकाली सुगर मिलको वार्षिक ३ लाख २० हजार क्विन्टल चिनी उत्पादन क्षमता हो । तर, कच्चा पदार्थको अभावमा मिलले क्षमताअनुसारको चिनी उत्पादन गर्न सकेका छैनन् ।

भारतबाट हुने चिनी तस्करी र पाकिस्तानबाट आयात हुन थालेकाले यहाँका उद्योगहरूले उत्पादन गर्दै आएको चिनी बिक्री नभएको चिनी मिल सञ्चालकहरू बताउँछन् । श्रेष्ठले तस्करी र पछिल्लो समयमा पाकिस्तानी चिनीको मूल्यसँग नेपाली चिनीले मूल्य समायोजन गर्न नसकेको बताए ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?