कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५७ अर्बको कृषि वस्तु आयात

अघिल्लो वर्षको तुलनामा २२ अर्ब कम
१७ अर्ब २३ करोड ८५ लाख रुपैयाँको चामल
समयमै रासायनिक मल, सिँचाइ र बजारको व्यवस्था नहुँदा समस्या : विज्ञ
दुई/तीन वर्षमा आत्मनिर्भर हुन्छौं : कृषि मन्त्रालय
राजु चौधरी

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ७ महिनामा साढे ७५ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । रासायनिक मल, सिँचाइ र बजारीकरणको अभावले कृषि उपजको आयात बढेको हो ।

कृषियोग्य जमिन गैरउत्पादनमा परिणत हुँदा आयात बढेको विज्ञ बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ७५ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कृषि सामग्री आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने करिब २२ अर्ब रुपैयाँले कम हो । केन्द्रको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो ७ महिनामा ९८ अर्ब ५० करोड रुपैयाँको कृषि वस्तु आयात भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार सबैभन्दा बढी चामल, मकै, आलु, सनफलावर तेल, फलफूल आयात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि वस्तुहरूको आयात प्रतिस्थापन गर्ने भनिएको छ । ‘गत वर्ष ११ अर्ब रुपैयाँँको मकै आयात भएको थियो,’ उनले भने, ‘नेपालमा उत्पादन हुने पर्याप्त सम्भावना हुँदा पनि अस्वाभाविक रूपमा आयात देखियो ।’ उनका अनुसार ब्राजिल, अर्जेन्टिनालगायतबाट आयात भएको मकै कुखुराको दानामा प्रयोग भएको छ । कृषि वस्तुको उत्पादन र बजारीकरणमा कृषि मन्त्रालयले पहल गर्नुपर्ने उनले बताए । ‘व्यापार घाटा घटाउन मुख्यत: आयात प्रतिस्थापनमा जोड दिनुपर्छ,’ उनले भने । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी चामल आयात भयो । ७ महिनाको अवधिमा १७ अर्ब २३ करोड ८५ लाख रुपैयाँको चामल आयात भएको छ ।

पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाका अनुसार कृषियोग्य जमिन प्लटिङ गरी र गैरकृषि उत्पादनमा प्रयोग भएकाले पनि उत्पादन वृद्धि हुन नसकेको हो । जसले गर्दा आयातमा निर्भर हुनुपरेको हो । उत्पादन र उत्पादकत्व घटेकाले पनि समस्या भएको उनले बताए । दोस्रोमा मकै आयात भएको छ । तथ्यांकअनुसार ६ अर्ब ९५ करोड १२ लाख रुपैयाँको मकै आयात भएको छ । ६ अर्ब १४ करोड ६४ लाखको हरियो तरकारी र ३ अर्ब ३ करोड ७१ लाख रुपैयाँको फलफूल आयात भएको केन्द्रले जनाएको छ ।

तरकारी मुख्यत: भारतबाट र फलफूल चीनबाट आयात हुन्छ । आयात हुने अधिकांश तरकारी कालीमाटी तथा फलफूल बजारमा भित्रिन्छ । कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ९० प्रतिशत मागलाई सम्बोधन गर्छ । कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन हुनुले पनि आयात बढेको जानकारहरू बताउँछन् ।

ओझाका अनुसार भारतले कृषिजन्य वस्तुमा पर्याप्त मात्रामा अनुदान दिन्छ । जसले गर्दा त्यहाँको उत्पादन सस्तो हुन्छ । नेपाल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘अनुदानकै कारण भारतीय कृषिजन्य उत्पादन सस्तो भएको छ । जसले गर्दा नेपाली व्यवसायीहरू त्यतातर्फ प्रात्साहित भएका छन्,’ उनले भने । नेपालमा थप सम्भावना भएका मह, कफी, चिया, अलैंचीलगायतमा जोड दिनुपर्ने उनले बताए । तथ्यांकअनुसार निर्यात हुनेमा एक नम्बरमा अलैंची छ । ७ महिनाको अवधिमा ३ अर्ब ३० करोड ७८ लाख रुपैयाँँको निर्यात भएको छ । दोस्रोमा जुस २ अर्ब २८ करोड ९५ लाख रुपैयाँँको निर्यात भएको जनाएको छ ।

२ अर्ब २१ करोड ३२ लाख रुपैयाँको चिया निर्यात भएको छ । नेपालमा मुख्यत: २ प्रकारको चिया उत्पादन हुन्छ । पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशत निर्यात हुन्छ । यसको मुख्य बजार युरोपेली मुलुक, जापान, जर्मन, क्यानडा हुन् । अर्थोडक्स चिया बास्नादार हल्का रङको हुन्छ । यो इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुन्छ । यसलाई पत्ती चिया पनि भनिन्छ । यसैगरी सीटीसी चिया स्वदेशलगायत भारत, पाकिस्तान, बंगलादेशमा निर्यात हुन्छ । यो चिया अन्य मुलुकमा पनि उत्पादन हुने जनाइएको छ । केन्द्रको तथ्यांकअनुसार ७ महिनामा ५९ करोड १ लाख रुपैयाँको दाल निर्यात भएको छ । सरकारले यी वस्तुहरूलाई तुलनात्मक लाभका वस्तुअन्तर्गत वर्गीकरण गरे पनि लक्ष्यअनुसार निर्यात हुन सकेको छैन ।

कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने तीन वर्षमा आत्मनिर्भर हुने दाबी गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत तरकारीमा दुई वर्षभित्र, मकै, धान, चामल, गहुँलगायतमा दुईदेखि तीन वर्षभित्र आत्मनिर्भर बन्ने मन्त्रालयको दाबी छ । ‘मकैको माग २६ लाख टनमध्ये २२ लाख उत्पादन भएको छ । धान ६७ लाख टन मागमा ५२ लाख टन उत्पादन भइरहेको छ,’ उनले भने, ‘गहुँको उत्पादन पनि राम्रो भएकाले दुई/तीन वर्षमा आत्मनिर्भर हुन्छौं ।’ अण्डामा आत्मनिर्भर भइसकेको मन्त्रालयले जनाएको छ । अन्य कृषि उपजमा आत्मनिर्भर हुनका लागि सिँचाइ र मल उपलब्धताको सुनिश्चितता हुनुपर्ने उनले बताए ।

त्यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यक्रममले रासायनिक मल, सिँचाइ, बजारको काम गरिहरहेको उनले बताए । ‘कार्यक्रमअन्तर्गत योजनाबद्ध तरिकाले काम भइरहेको छ,’ प्रवक्ता कार्कीले भने । केन्द्रको तथ्यांकअनुसार मुख्यत: भारत, अमेरिका, टर्की जर्मनी, चीन, फ्रान्स, इटाली, बंगलादेश, जापान ,क्यानडा, अस्ट्रेलिया र भियतनामा निर्यात हुन्छ । केही वर्षयता धागो, छुर्पी, मासु तथा फेल्टका सामानहरू पनि उल्लेख्य रूपमा निर्यात भइरहेको जनाएको छ । आयात भने भारत, चीन, यूएई,इन्डाोनेसिया, थाइल्यान्ड, अर्जेन्टिना, अमेरिका, आउदी अरेबिया, जापान, दक्षिण कोरिया, मलेसिया, जर्मनीलगायत मुलुकबाट हुन्छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?