कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

एडीबीले सहयोग जारी राख्ने आशा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
अमृता अनमोल

बुटवल — भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिको स्थलगत अनुगमन गरिरहेको एसियाली विकास बैंक (एडीबी) ले परियोजनामा सहयोग जारी राख्ने आशा सरोकारवालाले गरेका छन् । हाल एडीबीको टोली अनुगमनका लागि आएको छ ।

टोलीले मंगलबार स्थलगत अनुगमन गरी भौतिक कामको विवरण लिएको छ । बुधबार आयोजना र ठेकेदार कम्पनीसँगबाट आर्थिक तथा आगामी योजनाबारे बुझेको छ । सन्तोषजनक काम नभएको भन्दै एडीबीले गत जनवरीदेखि ऋण र अनुदान बन्द गरेको थियो ।

कामको गति बढेपछि सम्झौता पुनरावलोकन गर्ने मनसायले पुन: आएको आयोजना प्रमुख ओम शर्माले बताए । ‘दुई दिन लगाएर एडीबीका कर्मचारीले विमानस्थलको प्रगति विवरण लिने र अनुगमन गर्ने काम गरेका छन्,’ उनले भने, ‘छलफल र रायसुझाव लिनेदिने काम भएको छ ।’

ऋण र अनुदानको पुनर्मूल्यांकन गर्न बिहीबार एडीबीका नेपाल निर्देशक मुख्तार खामुदखानोभ आउँदै छन् । निर्देशक खामुदखानोभले विमानस्थलको अवलोकन र प्रगति विवरण हेर्नेछन् । यसपछि मात्र पुनर्मूल्यांकन हुने/नहुने टुंगो लाग्नेछ ।

आयोजना प्रमुख शर्माले भने स्थलगत अनुगमनमा आएको पहिलो टोली कामको गतिबाट प्रभावित भएकाले कामको गति हेरेर सम्भवत: सम्झौता थपिने विश्वास रहेको बताए ।

अघिल्लो महिना काठमाडौंमा भएको ‘रिभ्यु मिटिङ’ मा प्रगति सन्तोषजनक नभएको निष्कर्ष निकालेको एडीबी पुन: स्थलगत अध्ययन गर्न आउनु नै पुन: लगानी गर्ने संकेत रहेको उनले दाबी गरे ।

सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित एडीबीले लगानी गरेको थियो । त्यसमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ग्लोबल टेन्डरमार्फत सन् २०१७ डिसेम्बर ३१ सम्म काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

मधेस आन्दोलन, नाकाबन्दी, भूकम्पजस्ता कारणले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ठेकेदारलाई सरकारले सन् २०१८ को जुनसम्म म्याद थपे पनि एडीबी सहमत भएको थिएन । चिनियाँ कम्पनी नर्थ वेस्ट एडीबीको कालोसूचीमा परेको ठेकेदार कम्पनी भएकाले म्याद थप्न समस्या हुने बताएको थियो ।

यसअनुसार एडीबीले करिब २ महिनाअघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । जनवरीयता आफ्नो ऋण र अनुदानसमेत बन्द गरेको थियो । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडीबीको ५४ करोड अनुदान रहेको छ ।

बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म २ अर्ब खर्चिएको छ । यसबाट डिसेम्बरसम्म ३५ प्रतिशत काम सकिएको थियो ।

अहिलेसम्म करिब ३७ प्रतिशत काम सकिएको छ । आयोजना प्रमुख शर्माले एडीबीले अहिलेसम्म १ अर्ब ५० करोड भुक्तानी गरिसकेको बताए ।

प्रकाशित : चैत्र ८, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?