३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : एडीबीले सहायता नरोक्ने

बुटवल — भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) ले तत्काल ऋण तथा अनुदान नरोक्ने भएको छ । एडीबीका नेपाल निर्देशक मुख्तार खामुदखानोभले बिहीबार विमानस्थल निर्माणको स्थलगत अवलोकन गरी ऋण तथा अनुदान नरोक्ने बताएका हुन् ।

निर्माणको पछिल्लो कामको गतिले आफू सन्तुष्ट बनेको भन्दै कामलाई अघि बढाउन सघाउने जनाए । ‘हामी हिजो पनि सरकारसँगै थियौं, ऋण तथा अनुदान दिनबाट हात झिकेका थिएनौं,’ निर्देशक मुख्तारले सञ्चारकर्मीसित भने, ‘काममा मात्रै असन्तुष्टि जनाएका थियौं । अहिले सन्तुष्ट भयौं ।’ निर्देशकले सुरुमा २ दिनदेखि स्थलगत अनुगमन र कामको टिपोट तयार गरेको टोलीसित विवरण बुझेका थिए । यही विवरणका आधारमा स्थलगत अवलोकन गरी काम नरोक्ने निर्णय सुनाएका थिए । विमानस्थलको गतिलाई बढाउन काठमाडौंमा नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँग थप छलफल गर्ने एडीबीले जनाएको छ ।

अहिलेसम्मको निर्माण र अबको बाटो विषयका एडीबी, विमानस्थल आयोजना, ठेकेदार कम्पनीबीच बृहत् छलफलसमेत आयोजना भयो । छलफलपछि आउँदो जुन महिनासम्ममा ठेकेदार कम्पनीले ५० प्रतिशत काम सक्ने सहमति भएको छ । ‘यसका लागि ठेकेदारलाई कामदार र उपकरण थप्न तथा कामको सिफ्ट बढाउन निर्देशन दिएको छ ।’ विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले भने, ‘यसमा ठेकेदार कम्पनी र आयोजना पनि सहमत भएको छ ।’ ३५ जना चिनियाँसहित २ सय मजदुर अहिले विमानस्थलमा कार्यरत छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुत गतिमा कच्चा पदार्थ संकलनको काम भएको छ । कम्पनी यो गति अझ बढाउन सहमत भएको छ । ‘यसअघि आयोजनाले गरेको कामसित नभई कम्पनी कालोसूचीमा परेका कारण एडीबीले चेतावनी दिएको थियो ।’ आयोजना प्रमुख शर्माले भने, ‘अब त्यो समस्या पनि रहेन ।’

ऋण र अनुदानको पुनरावलोकन गर्न एडीबी टोली तीन दिनदेखि भैरहवामा छ । निर्देशक आउनुअघि टोलीले विमानस्थलको प्रगति विवरण लिने, अनुगमन गर्ने, ठेकेदार तथा आयोजनासँग छलफल र रायसुझाव लिनेदिने काम गरेको थियो । एडीबीले करिब २ महिनाअघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । जनवरीयता आफ्नो ऋण र अनुदानसमेत बन्द गरेको थियो । सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित विमानस्थलमा एडीबीले लगानी गरेको थियो । त्यसमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ग्लोबल टेन्डरमार्फत सन् २०१७ डिसेम्बर ३१ सम्म काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । मधेस आन्दोलन, नाकाबन्दी, भूकम्पजस्ता कारणले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो । यसअनुसार सरकारले सन् २०१८ को जुनसम्म म्याद थपे पनि एडीबी सहमत भएको थिएन । सट्टामा कम्पनी कालोसूचीमा रहेकाले म्याद थप्न समस्या हुने बताएको थियो ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडीबीको ५४ करोड अनुदान रहेको छ । बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म २ अर्ब खर्चिएको छ । यसबाट डिसेम्बरसम्म ३५ प्रतिशत काम सकिएको थियो । अहिलेसम्म करिब ३७ प्रतिशत काम सकिएको छ । एडीबीले अहिलेसम्म १ अर्ब ५० करोड भुक्तानी गरिसकेको विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले बताए ।

अहिले विमानस्थलमा धावनमार्गको तयारीका लागि सब बेसको भइरहेको छ । सब बेसलगत्तै बेस निर्माणका लागि पक्की गर्ने काम सुरु गरिनेछ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावरलगायतका संरचना बनिरहेका छन् । आयोजनाको लक्ष्यअनुसार थपिएको समय जुन अर्थात् असारसम्ममा अन्तर्राष्ट्रिय टर्मिनल भवनको छानोबाहेकको काम सकिनेछ । धावनमार्गमा पिचबाहेक बेस र सबबेस निर्माणको काम पूरा हुनेछ । आयोजना बनाउँदा बेसको काममा कम प्रतिशत राखिएकाले अबको काम छिटो हुनेछ । ‘यो वर्ष बचेको यसपछिको समयमा धावनमार्ग पिच गर्ने, टर्मिनल भवनमा छानो हाल्ने र काम सकिनेछ । अर्को वर्ष इक्विपमेन्ट जडान गरिनेछ ।’ आयोजना प्रमुख शर्माले भने, ‘सन् २०१९ भित्र परीक्षण उडान नै गराउने लक्ष्यसहित काम अघि बढेको छ ।’

२०२१ सालमा स्थापित यो विमानस्थल सुरुमा ७९ बिघामा फैलिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल बन्दा यसको जग्गा ७ सय ८७ बिघा भएको छ ।

प्रकाशित : चैत्र ९, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?