१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१० हजार लगानीबाट अर्बपति बनिन् किरण

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — किरण मजुम्दार–सा एउटी भारतीय महिला उद्यमी, टेक्नोक्रेट, अनुसन्धानकर्मी र बायोटेक्नोलजी कम्पनी ‘बायोकोन लिमिटेड’ की संस्थापक, प्रबन्ध निर्देशक तथा अध्यक्ष हुन् । सन् १९७८ मा आफैंले सञ्चालन गरेको कम्पनीको आम्दानीबाट उनी विश्वका अर्बपतिहरूको सूचीमा दरिएकी छन् ।

१० हजार लगानीबाट अर्बपति बनिन् किरण

भारतकै सबैभन्दा धनाढय ‘सेल्फ–मेड’ महिलासमेत बनेकी छन् । अमेरिकी अखबार ‘फोब्र्स’ को अर्बपतिहरूको सूचीमा यो वर्ष किरण ६२९ औं स्थानमा छिन् । सन् २०१७ मा विश्वका शक्तिशाली महिलाहरूमा ७१ औं स्थानमा थिइन् । उनको कुल सम्पत्ति ३ दशमलव ४ अर्ब अमेरिकी डलर (रियल टाइम २३ मार्च २०१८) रहेको छ ।


किरणको कम्पनीले सामान्यदेखि जटिल रोगहरूका उपचारमा प्रयोग हुने औषधिहरू उत्पादन गर्छ । तीमध्ये अटोइम्युन रोग, मधुमेह र क्यान्सरका औषधिहरू कम्पनीले बढी उत्पादन गर्छ । मलेसियाको जोहोर क्षेत्रमा रहेको उनको कम्पनी एसियाकै सबैभन्दा बढी इन्सुलिन (मधुमेहका रोगीले प्रयोग गर्ने औषधि) निर्माता हो । ‘बायोकोन’बाट उत्पादित स्तन क्यान्सरसम्बन्धी औषधि ‘हरसेप्टिन’ लाई गत डिसेम्बरमा अमेरिकी खाद्य तथा औषधि विभागले अनुुमोदित गरेको थियो ।


६५ वर्षअघि भारतको बैङलोरमा जन्मेकी किरणले सन् १९६८ मा प्रारम्भिक स्कुले शिक्षा ‘कटन गल्र्स हाईस्कुल’ बाट गरेकी हुन् । शुरुमा चिकित्सक बन्ने चाहना राखेकी उनले पछि बैङलोर विश्वविद्यालयअन्तर्गत ‘माउन्ट कार्मेल कलेज’ बाट जन्तुविज्ञानमा बीएससी अनर्स गरिन् ।

त्यसको दुई वर्षपछि अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयअन्तर्गत बल्लारत कलेजबाट पोस्ट ग्य्राजुएटको पढाइ सकिन् ।किरणले व्यावसायिक करियर भने कार्लटन एन्ड युनाइटेट ब्रिभेरेजेजमा प्रशिक्षकको कामबाट सुरु गरिन् । केही वर्ष कोलकोताको जुपिटर ब्रुअरिज लिमिटेडमा प्राविधिक सल्लाहकार र बरौदास्थित स्टयान्डर्ड माल्टिङ कर्पाेरेसनमा प्राविधिक प्रबन्धकका रूपमा पनि काम गरिन् ।

यी कम्पनीहरूमा चार वर्ष जति व्यतित गरिन् । पछि आयरल्यान्डमा प्रधान कार्यालय रहेको ‘बायोकोन बायोकेमिकल्स’ कम्पनीमा जागिर थालिन् । त्यसको एक वर्षपछि १० हजार लगानीमा बैङलोरको सानो झोपडीमा ‘बायोकोन’ सञ्चालनमा ल्याइन् । आर्थिक अभावमा कुनै पनि व्यापार सोचेजस्तो सजिलो थिएन । फेरि उनले खोलेको कम्पनी त्यति लोकप्रिय पनि भइसकेको थिएन । कम्पनी विस्तारका लागि रकम जुटाउन विभिन्न बैंकहरू चाहार्दा पनि उनले ऋण पाउन सकिनन् । ऋण नपाउनुुको अर्को कारण थियो, जेन्डर समस्या । महिला व्यापारीमाथि कुनै बैंकले पनि विश्वास गरेन । महिला भएकै कारण कम्पनीमा कामदारहरू जुटाउनै पनि समस्या भयो उनलाई । तर, हार मानिनन् ।

कडा संघर्ष र परिश्रमलाई निरन्तर जारी राखिन् । त्यसैको फल हो, आज उनको कम्पनी सफलताको उच्च शिखर चुमेको छ । सन् २००४ मा बायोकोनले आईपीओ प्राप्त गर्‍यो । सन् २००५ देखि २०१० सम्म उनले २ हजार उच्च मूल्यको आर एन्ड डी लाइसेन्सिङ डिल गर्न सफल भइन् । यी सम्झौताबाट बायोकोनलाई विश्वव्यापी परिचय स्थापित भयो । सन् २००७ मा उनको कम्पनीलाई ‘मेड एड न्युज’ ले विश्वकै प्रमुख बायोटेक कम्पनीको सूचीमा राख्दै विश्वको सबैभन्दा ठूलो बायोटेक्नोलजी रोजगारदाता कम्पनीमध्ये ७ औं स्थानमा सूचीकृत गर्‍यो । बायोकोनका नवीनतम क्षमताहरू, विश्वव्यापी विश्वसनीयता र बजार तथा उत्पादनहरूमा अब्बल बनाउनमा उनको मुख्य भूमिका रहेको छ ।

उनले बायोकोन फाउन्डेनको स्थापनासमेत गरिसकेकी छन्, जुन एउटा प्राविधिक संगठन हो, जसले पर्यावरण तथा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै समाजका कमजोरीहरूलाई न्यूनीकरण गर्नमा सघाउँछ । सन् २००७ मा उनले बैङलोरमा एउटा क्यान्सर हेरचार केन्द्रसमेत स्थापना गरेकी छन् ।


सन् २००९ मा उनको व्यापार उपलब्धिहरूका लागि निक्की एसिया पुरस्कारसमेत प्राप्त भयो । उक्त पुुरस्कारले उनलाई लोकप्रियताको निकै माथि पुर्‍याइदियो । सन् २००४ मा उनलाई इकोनमिक टाइम्सले ‘बिजनेस वुमन अफ दि इयर’ को सम्मान प्रदान गर्‍यो । ‘टाइम्स’ पत्रिकाले विश्वका सय प्रभावशाली मानिसहरूमा उनको नाम पनि समावेश गरिसकेको छ । उनले भारतमा मात्रै हैन, विश्वस्तरमा आफ्ना नवीनतम विचार, उत्पादन र व्यापारलाई स्थापित गर्न सफल भएको भन्दै पत्रिकाले उक्त सूचीमा राखेको हो । यीसहित उनले थुप्रै सम्मान र पुरस्कार पाइसकेकी छन् ।


किरण भारतमा बायोटेक उद्योग क्षेत्रका अग्रणी उद्यमीमध्येकी एक हुन् । उनी भारतको सर्वाधिक सफल महिला आइकोनका रूपमा पनि आफूलाई स्थापित गरेकी छन् । यो सफलता उनले रातारात प्राप्त गरेकी भने होइनन् । विभिन्न चुनौतीहरूको सामना उनले यो अवधिमा गर्नुपर्‍यो । कहिले रकम अभाव त कहिले महिला हुनुको पीडा त उनीसँग छँदै थियो । नयाँ व्यापारलाई सर्वव्यापी बनाउने चुनौती पनि उनीसँगै थियो । कसैले विश्वासै नगरेको व्यापार, जो उनले सुरु गरेकी थिइन् । सुरुमा किरणलाई कम उमेर, लिंग र बिनापरीक्षणको नयाँ व्यापार थालेका कारण विश्वसनीयतासँग सम्बन्धित चुनौतीहरूको खुबै सामना गर्नुपर्‍यो । यी सबै चुनौतीको सामना गर्दै सीमित परिस्थितिमा ‘बायोकोन’ लाई नयाँ दिशा र प्रगतिको उचाइमा पुर्‍याउन सफल भइन् । सन् १९९८ मा ४५ वर्षमा स्कटल्यान्डका जोन–सासँग विवाह गरिन् । जोन बायोकोनका उपाध्यक्ष हुन् ।
स्रोत : एजेन्सी

प्रकाशित : चैत्र १०, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?