मोहनाको बगरमा उखु खेती

डीआर पन्त

धनगढी — वाढीले उब्जाउ जमिन बगर बनेपछि बिचल्लीमा परेका कैलाली मोहनपुर र ललितपुरका कृषकका लागि त्यही बगर अहिले वरदान सावित भएको छ ।

मोहनाको बगरमा उखु खेती

बगरमा परिणत झन्डै ८० बिघा जमिनमा हाल उखु खेती सुरु गरिएको छ । ०५८ मा आएको बाढीले गाउँलेको पूरै जमिन बगरमा परिणत गरेको थियो । त्यही जमिनमा ७८ परिवारले उखु लगाएका छन् । आधाभन्दा बढी जमिनमा उखु खेती भइरहेको हो । बाँकी जग्गामा तरकारी खेती गरी कृषकहरूले हरेक सिजनमा २ देखि ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

मोहनपुर र ललितपुरमा मोहना नदीले सधैं कटान गर्दै आएको छ । मोहनपुरजस्तै ०६४ मा आएको बाढीले ललितपुर गाउँका ४ दर्जन परिवार बस्तीमा बाढी पसेर घरखेत बगर बनाएपछि विस्थापित भएका थिए । ललितपुरबाट विस्थापित भएका सबै परिवारले बगर बनेको जग्गामा उखु खेती गर्न थालेको २ वर्षपछि गाउँ फर्किएका छन् ।

‘धेरैले हुलाकी राजमार्ग छेउमा बसोबासका लागि जग्गासमेत किनिसकेका छन्,’ स्थानीय कृषक दशरथ चौधरीले भने, ‘बाढीका कारण विस्थापित भएका परिवार अहिले फर्किन थाले छन् ।’ उब्जाउ जमिन बगर हुनुअघि खेती गरेर जति आम्दानी हुन्थ्यो, त्योभन्दा दोब्बर बढी भएको उनले बताए । चौधरी भन्छन्, ‘उखु खेतीले जमिनमा पुन: माटो उर्बर बन्नेपछि तरकारी खेती पनि सुरु गरेका छौं ।

उखुसँगै बदाम र सिमीलगायतको बाली लगाएर कृषकले मनग्य आम्दानी गर्दै छन् ।’ हरेक सिजनमा दुई लाखसम्म न कमाउने कुनै परिवारै नभएको दशरथले बताए । अर्का कृषक बलराम चौधरीले भने, ‘०७० देखि उखु खेती सुरु गर्‍यौं, हाल बगर बिस्तारै मलिलो माटोले भरिन थालेको छ ।’ उनले बगरमा खेती हुन्छ भन्नेबारे आफूहरूले कल्पनासम्म नगरेको बताए । बलराम भन्छन्, ‘छिमेकी गाउँ ललितपुरका बासिन्दाले लगाएको उखु खेती फस्टाएको देखेपछि हामीले पनि उखु लगाउन थालेका हौं ।’ स्थानीय सामाजिक परिचालक पूनम जोशीले उखु खेती सुरु गरेपछि कृषकहरूले छिमेकी गाउँलेलाई समेत रोजगारी दिएको बताइन् । ‘आसपासका गाउँलेहरूले पनि सिजनमा राम्रो रोजगारी पाएका छन्,’ उनले भनिन्, ‘गाँउवासीको ४ वर्षअघि र पछिको जीवन शैलीमा निकै भिन्नता आएको छ ।’

प्रकाशित : चैत्र ११, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?