साल्ट ट्रेडिङको लगानी घाटामा

६२ करोड २९ लाख लगानीमध्ये १४ करोड ३ लाख रुपैयाँ नोक्सान भइसकेको छ
राजु चौधरी

काठमाडौँ — सरकारको उल्लेख्य सेयर रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गरेको ठूलो लगानी खराब भएको छ ।

कर्पोरेसनको वार्षिक प्रतिवेदनअनुसार उसले लगानी गरेका २५ मध्ये १० वटा कम्पनीको सेयर लगानी घाटामा छ । ती कम्पनीबाट १४ करोड ३ लाख १० हजार रुपैयाँ नोक्सान भएको प्रतिवेदनमा जनाइएको छ । ती कम्पनीहरूमा कर्पाेरेसनले जम्मा ६२ करोड २९ लाख ७ हजार रुपैयाँँ लगानी गरेको थियो ।
सरकारी जग्गा भाडामा दिँदा आर्थिक चलखेल भएपछि केही उद्योगहरू बन्द भएका छन् । नेपाल वनस्पति घिउ उद्योग लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेडलगायत कम्पनीहरू बन्द अवस्थामा छन् । सेयर लगानी घाटामा हुँदा सरकारले लाभांश पनि पाएको छैन ।

प्रतिवेदनअनुसार नेपाल वनस्पति घिउ उद्योग लिमिटेडमा १ करोड १८ लाख ६१ हजार ५ सय रुपैयाँको सेयर लगानी छ । वनस्पति घिउ उद्योग करिब १३ वर्षदेखि बन्द छ । १ करोड १८ लाख ६१ हजार ५ सय रुपैयाँ नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ । वनस्पति घिउ उद्योग २०३३ सालमा स्थापना भएको थियो । उद्योगमा ९० प्रतिशतभन्दा बढी कर्पोरेसनको लगानी रहेको छ । तेलमा लाग्ने भ्याट, न्यून बीजकीरणलगायत कारणले २०६३ सालबाट घिउ उद्योग पूण रूपमा बन्द भएको थियो । स्वदेशी टायर उत्पादन गर्ने एक मात्र कम्पनी गोरखकाली रबर उद्योग लिमिटेडमा ६ करोड २० लाख ६० हजार ५ सय ५० रुपैयाँँ लगानी छ ।

गोरखकाली उद्योगबाट ४ करोड १३ लाख ७३ हजार ७ सय रुपैयाँ नोक्सान छ । बजेट तथा कच्चा पदार्थको अभाव, मजदुर हडताल, अस्तव्यस्त व्यवस्थापन, बजारीकरणलगायतका समस्याका कारण अधिकांश समय बन्द भइरहने हुनाले नोक्सान भएको कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘मजदुर, कर्मचारी स्थानीयका माग छुट्टाछुट्टै हुन्छन्,’ उनले भने, ‘त्यसले सञ्चालनमा अवरोध भइरहेको छ ।’ यो टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग हो ।

अर्को लगानी घाटामा गएको बुटवल धागो कारखाना लिमिटेड हो । यो कारखाना २०६४ यता ठप्प छ । कारखानामा कर्पोरेसनको २ करोड ५० लाख रुपैयाँ सेयर लगानीमा सबै नोक्सानमा रहेको प्रतिवेदनमा उल्लेख छ । बुटवल धागो कारखाना बन्द भएपछि उपकरण र त्यसले ओगटेको जग्गा बेवारिसे बनेको छ । घरेलु हस्तकला उद्योग प्रालिमा ४ लाख ८० हजार रुपैयाँ लगानीमध्ये सबै घाटामा छ ।

प्रवक्तासमेत रहेका राजभण्डारीले कर्पोरेसनले मात्रै चाहेर नोक्सान कम नहुने दाबी गरे । ‘कम्पनीहरूमा सरकारको पनि पैसा छ, कर्पोरेसनले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘कर्मचारी/मजदुरको आआफ्ना माग छन्, सरकारले नै जोगाउनुपर्छ ।’ प्रतिवेदनअनुसार अग्राधिकार सेयरमा २७ करोड ९५ लाख रुपैयाँ लगानी छ । तीमध्ये ४ करोड १९ लाख २५ हजार नोक्सानमा छ । नेपाल हस्तकला कम्पनी लिमिटेड ९ लाख रुपैयाँ लगानीमा सबै घाटामा छ ।

कर्पोरेसनले निजी कम्पनीमा पनि लगानी गरेको छ । सियान सिड सर्भिस सेन्टर लिमिटेडमा ३१ हजार ४ रुपैयाँ लगानी गरेकामा २० हजार घाटामा छ । एक्जिम इन्टरनेसनल प्रालिमा २५ लाख रुपैयाँ लगानी छ । एक्जिममा २५ लाख रुपैयाँ नै नोक्सनमा रहेको प्रतिवेदनमा उल्लेख छ । सुवर्ण फर्मास्युटिकल्स लिमिटेडमा २ करोड रुपैयाँ लगानी छ । जसमध्ये १ करोड ५० लाख रुपैयाँ घाटामा रहेको उल्लेख छ । विभागीय प्रमुख ब्रजेशकुमार झाले कर्पोरेसन कम्पनी ऐन २०१९ अन्तर्गत गठन भएकाले निजी कम्पनीमा लगानी गर्न स्वीकृति भएको बताए । ‘कम्पनीको विधानअनुसार र बोर्डको निर्णयबाट निजी कम्पनीमा पनि लगानी गर्न पाइन्छ,’ उनले भने । प्रतिवेदनअनुसार सिटको लिमिटेडमा १२ लाख ५० हजार रुपैयाँ लगानीमध्ये १२ लाख ५० हजार रुपैयाँ नै नोक्सानमा छ ।

हाल साल्ट ट्रेडिङ कर्पोरेसनमा सरकारको २१.२८ प्रतिशत र अन्यको ७८.७२ प्रतिशत सेयर छ ।

कर्पोरेसनको लगानी
कम्पनी / घाटा
मोरङ सुगर मिल्स/ ४ करोड १९ लाख
गोरखकाली रबर उद्योग लिमिटेड/ ४ करोड १३ लाख
बुटवल धागो कारखाना लिमिटेड/ २ करोड ५० लाख
सुवर्ण फर्मास्युटिकल्स लिमिटेड/ १ करोड ५० लाख
वनस्पति घिउ उद्योग लिमिटेड /१ करोड १८ लाख
एक्जीम इन्टरनेसनल प्रालि /२५ लाख
सिट्को लिमिटेड /१२ लाख ५० हजार
नेपाल हस्तकला कम्पनी लिमिटेड /९ लाख
घरेलु हस्तकला उद्योग प्रालि /४ लाख ८० हजार
सियान सिड सर्भिस सेन्टर लिमिटेड/ २० लाख

प्रकाशित : चैत्र १२, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?