कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कानुनविपरीत यातायात महासंघको सिन्डिकेट

समन्वय नगरी गाडी चलाए अवरोध जारी राख्छौं : यातायात महासंघ
अब प्रविधिमैत्री र ठूला बस सञ्चालनमा ल्याउनैपर्छ । कसैले यात्रुलाई सेवा दिन्छु, राम्रो बस सञ्चालन गर्छु भन्दा रुट परमिट नदिने कुरा हुन्छ ? : यातायात व्यवस्था विभाग
जसरी पनि यात्रुलाई सुविधा दिने हो, तोडफोड गरेर केही हुँदैन : मयूर यातायात
दीपेन्द्र विष्ट

काठमाडौँ — मुलुकको कानुन र सर्वोच्च अदालतको आदेशको समेत उल्लंघन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा पछिल्लोपटक काठमाडौं–बनेपा रुटमा ‘सिन्डिकेट’ लाई बढावा दिएको छ ।

उपभोक्ता संरक्षण ऐन, प्रतिस्पर्धा ऐन र मुलुकी ऐनमा बन्देज लगाइएको सिन्डिकेटलाई दुई वर्षअघि अदालतले पनि खारेज गरेको थियो । महासंघले त्यसविपरीत काठमाडौं–बनेपा रुटमा चल्ने मयूर यातायात प्रालिलाई बस सञ्चालन गर्न नदिने चेतावनी दिएको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ मंसिर ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसमेतका नाममा सिन्डिकेट खारेज गर्न आदेश दिएको थियो ।

सिन्डिकेटले उपभोक्ता मर्कामा परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव अधिवक्ता ज्योति बानियाँले २०७१ मंसिर २८ मा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । त्यसअघि पनि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिन्डिकेट प्रणाली खारेज गर्न आदेश दिएको अधिवक्ता बानियाँले बताए । ‘दोस्रो फैसलाको पूर्ण पाठ आउन बाँकी छ,’ उनले भने, ‘जाँचबुझ आयोग बनाएर आदेशअनुसार कार्यान्वयन गर्नुपर्छ, व्यवसायीले सिन्डिकेट प्रणाली खारेजीमा सहयोग पुर्‍याउनुपर्छ ।’

महासंघले भने बिहीबार यातायात विभागमा ज्ञापनपत्र बुझाउँदै मयूर यातायातको काठमाडौं–बनेपा रुट परमिट खारेज गर्न माग गरेको छ । खारेज नगरिए संघर्षमा उत्रने चेतावनी पनि महासंघले दिएको छ । यो रुटमा चल्ने मयूरका चारवटा बसमा केही दिनअघि तोडफोडसमेत गरिएको थियो । विभागका निर्देशक तुलसीराम अर्याल भने यात्रुको सेवा र सुविधालाई मध्यनजर गर्दै मयूरको रुट परमिट खारेज नगरिने बताउँछन् । ‘यात्रुलाई सेवा दिनुपर्छ, कसैले यात्रुलाई सेवा दिन्छु, राम्रो बस सञ्चालन गर्छु भनेपछि रुट नदिने हुन्छ ?’ उनले भने, ‘कानुन पालना सबैले गर्नुपर्छ, कानुनी राज्यमा कसैले चेतावनी दिन मिल्दैन, अब प्रविधिमैत्री र ठूला बस सञ्चालनमा ल्याउनैपर्छ ।’

मयूर यातायातका बस बनेपा–कोटेश्वर–एयरपोर्ट–चाबहिल–नारायणगोपालचोक–बालाजु–कलंकी–बल्खु हुँदै कोटेश्वरबाट पुन: बनेपा पुग्ने गरेका छन् । त्यसैगरी बनेपा–कोटेश्वर–एकान्तकुना–बल्खु–कलंकी–बालाजु–चक्रपथ–चाबहिल–गौशाला हुँदै कोटेश्वरबाट पुन: बनेपा पुग्ने पनि यसको अर्को रुट छ । मयूरले यी रुटमा १४ वटा ४२ सिटे र अन्य ३७ सिट भएका प्रविधिमैत्री बस सञ्चालन गरेको छ । वाइफाई, टेलिभिजन, डिजिटल कार्ड, बसको अगाडि र पछाडि सीसी क्यामरा जडान गरिएको छ ।

‘४/५ वटा गाडी तोडफोड गरिसके, हामी कसैको रुट परमिट खारेज गर भनेर हिँडेका छैनौं, स्वच्छ प्रतिस्पर्धा गरौं, जसरी पनि यात्रुलाई सुविधा दिने हो,’ मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले भने, ‘तोडफोड गरेर केही पनि हुँदैन ।’ यो बसमा बच्चा हुने आमालाई आरक्षण सिट व्यवस्था गरिएको छ । ७० वर्षभन्दा माथिकालाई नि:शुल्क सिट, अपांगता भएका तथा अशक्तलाई नि:शुल्क सिट, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र ट्राफिक प्रहरीलाई नि:शुल्क सिटको व्यवस्था गरिएको छ ।

महासंघका प्रदेश ३ संयोजक धर्मराज रिमालले स्थानीय समितिसँग समन्वय नगरी बस सञ्चालन गरेकाले विरोध गरेको बताए । स्थानीय समितिसँग समन्वय नगरे अवरोध गरिने उनले चेतावनी दिए । ‘सिन्डिकेट लागू गरेका छैनौं, ऐनमै स्थानीय समितिसँग समन्वय गरेर सञ्चालन गर्ने उल्लेख छ, त्यसअनुसार विरोध गरेका हौं,’ उनले भने, ‘सम्मानित अदालतको आदेश सबैले मान्नुपर्छ ।’ काठमाडौं–बनेपा रुटमा १३ वटा स्थानीय समितिका गाडी सञ्चालनमा रहेको उनले बताए ।

प्रकाशित : चैत्र १२, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?