१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्तर्राष्ट्रिय यात्रु १० प्रतिशत बढे

सुरज कुँवर

काठमाडौँ — मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१७ मा ३८ लाख ८७ हजार ८ सय यात्रुले ओहोरदोहोर गरेका छन् । यो विमानस्थलबाट २८ वटा विदेशीसहित ३१ वटा एयरलाइन्सले उडान र अवतरण गर्छन् ।

अन्तर्राष्ट्रिय यात्रु १० प्रतिशत बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यो संख्या गत वर्षको दाँजोमा ३ लाख ७७ हजारले बढी हो । विमानस्थल हुँदै सन् २०१६ मा ३५ लाख १० हजार यात्रुले ओहोरदोहोर गरेका थिए । कुल ३८ लाख अन्तर्राष्ट्रिय यात्रुमध्ये १० लाख हाराहारी विदेशी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

‘सन् २०१७ मा ९ लाख ४२ हजार विदेशी पर्यटक हवाईमार्ग भएर नेपाल आएको देखिन्छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘उत्तरी र दक्षिणी नाकाको सडक मार्गसमेतबाट नेपाल पस्ने विदेशी पर्यटकको संख्या कम्तीमा १० लाख ५० हजार नाघेको अनुमान गरेका छौं । यकिन तथ्यांक भने आइसकेको छैन ।’


सन् २०१७ मा सबैभन्दा धेरै यात्रुले ओहोरदोहोर नोभेम्बर महिनामा गरेका छन् । त्यस महिनामा ३ लाख ८४ हजार ८ सय यात्रुले ओहोरदोहोर गरेको देखिन्छ । सबैभन्दा कम जुन महिनामा २ लाख ६२ हजार ७ सय रहेको छ ।


विमानस्थलका अनुसार ०१७ मा अन्तर्राष्ट्रिय उडानको संख्या पनि अघिल्लो वर्षको दाँजोमा ६ हजार २ सय ४४ ले बढेर ३३ हजार ३ सय ६२ पुगेको छ । सन् ०१६ मा कुल विदेशी उडान २७ हजार १ सय १८ वटा भएका थिए । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार भूकम्प र नाकाबन्दीपछि विदेशी आगमन र उडान संख्या बढ्दो छ ।

‘दिनमा आन्तरिक उडानसमेत गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ सय १० वटासम्म उडान भएका छन्,’ प्रवक्ता ठाकुरले भने । उनका अनुसार यसमा ३ सय हाराहारी आन्तरिक उडानको संख्या रहेको छ । सन् २०१७ मा आन्तरिकतर्फ काठमाडौंबाट देशभरका विभिन्न आन्तरिक गन्तव्यमा २३ लाख ८८ हजार ५ सय ८३ यात्रु उडानमा रहे । यो संख्या अघिल्लो वर्षको दाँजोमा ६ लाख ३० हजार ९सय ८७ ले बढी हो । २०१६ मा आन्तरिक यात्रुको संख्या १७ लाख ५७ हजार ५ सय ९६ थियो । त्यसैगरी यी दुई वर्षको आन्तरिक उडान पनि १९ हजार २ सय २१ ले बढेर ९३ हजार ९७ पुगेको छ ।


नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले नेपालमा एउटा अन्तर्राष्ट्रियसहित ४९ वटा विमानस्थल छन् । यीमध्ये १९ वटा आन्तरिक विमानस्थल सञ्चालनमा छैनन् । ७ वटा नयाँ विमानस्थल निर्माणाधीन अवस्थामा छन् ।


नेपालले ३८ वटा मुलुकसँग हवाई सम्झौता गरे पनि १४ वटा मुलुकका २८ वटा विदेशी एयरलाइन्सले नेपाललाई बाँकी विश्वसँग जोडेका छन् । अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमसहित हिमालयन र बुद्ध गरी तीनवटा स्वदेशी एयरलाइन्स पनि रहेका छन् ।

प्रकाशित : चैत्र १३, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?