‘सेल्फमेड’ सिनोहारा

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — योसिको सिनोहारा जापानकी पहिलो ‘सेल्फमेड’ महिला अर्बपति हुन् । उनको अर्बपति बन्ने यात्रा एकजना ठूला व्यापारीसँगको पारपाचुकेपछि सुरु भएको हो ।

‘सेल्फमेड’ सिनोहारा

एकल महिलाले पनि केही गर्न सक्छन् भन्ने सोचका साथ उनले आफ्नो कारोबार थालेकी हुन् । उनले टोकियोस्थित अपार्टमेन्टमा रहेको आफ्नो एउटा बेडरुममा ‘टेम्प (स्टाफिङ)’ कम्पनी खोलिन् र सफल भइन् । ८२ वर्षीया उनले हालै आफ्नो कम्पनीको अध्यक्ष पदबाट अवकाश लिएकी छन् । गत वर्ष उनको कम्पनीको सम्पत्ति ४ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको थियो । यो वर्ष सिनोरिया एसियाका २६ अन्य सेल्फमेड महिला अर्बपतिमा दरिएकी छिन् ।

सन् १९३४ मा जन्मेकी उनी द्वितीय विश्व युद्धताका हुर्केकी हुन् । आठ वर्षकी छँदा उनका बुबाको निधन भएको थियो । बुबा प्रधानाध्यापक थिए । आमा धाईको काम गर्थिन् । सिनोहरा जन्मेपछि कलिलै उमेरमा श्रीमान् परलोक भए पनि आमाले पुन: विवाह गर्ने कहिल्यै सोचिनन् ।

सिनोहारालाई नै हुर्काउने र पढाउनेमा आफ्नो जीवन व्यतित गरिन् । हाई स्कुल उत्तीर्ण गरेलगत्तै २० वर्षको उमेरमै उनको विवाह भएको थियो । छोटो अवधिमै वैवाहिक जीवनको अन्त्य भयो । त्यसपछि उनी जन्मभूमि छाडेर बेलायत र पछि अस्ट्रेलिया पुगेर सेक्रेट्रेरी (कार्यालय सहायक) को काम गरिन् । सन् १९७३ मा उनी टोकियो फर्किन्, त्यहाँ आफ्नै साँगुरो एउटा बेडरुम मा पार्टटाइम वर्क एजेन्सीको काम थालिन् । सुरुमा उनको यो व्यवसाय जमेन । आम्दानी राम्रो नभएपछि सिनोहाराले रातिराति अंग्रेजी पढाउन थालिन् । पाँच वर्षपछि उनले पुन: व्यापार सञ्चालनमा ल्याइन् ।

फोब्र्सका अनुसार अस्थायी कामदारको आपूर्ति गर्ने उनको कम्पनी ‘टेम्प होल्डिङ’ को सेयर मूल्य एक्कासि बढेपछि उनी विश्वकै धनाढय महिला बनेकी हुन् । टेम्प होल्डिङ सार्वजनिक रूपमा टोकियोमा कारोबार गर्छ ।

२००९ मा ‘हावार्ड बिजनेस रिभ्यु’ सँगको साक्षात्कारमा सिनोहाराले भनेकी थिइन्, ‘मेरा लागि उनी (श्रीमान्) सही व्यक्ति थिएनन् । त्यसैले मैले जति सक्दो चाँडो सम्बन्ध विच्छेद होस् भन्ने चाहना राख्न थालेकी थिएँ ।’ उनले केही महिनाभित्रै आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिन् । उनले भनेकी छन्, ‘पारपाचुके लिएपछि मैले आफैंले केही गर्नुपर्छ भन्ने सोच बनाएँ ।’

जापानमा अधिकांश महिलाहरू ‘बोरिङ जब’ बाट आजित रहेकै बेला सिनोहारा जापान छाडेर युरोप लागिन् । त्यहाँ उनले पहिलोपटक ‘अस्थायी कामदार’ बारे अवलोकन गर्ने अवसर प्राप्त गरिन् । यसले उनलाई नयाँ स्टार्टअपका लागि मार्ग प्रशस्त गर्‍यो ।

सन् १९७३ मा सिनोहारा स्वदेश फर्केकी उनले अस्थायी स्टाफिङ संस्था सुरु गरिन् । सन् १९७० को दशकमा जापानमा अस्थायी रोजगार सेवा सञ्चालनलाई अवैध मानिन्थ्यो । कार्यालयमा पुरुषहरूलाई ल्याउनु उनको अर्को क्रान्तिकारी निर्णय थियो । सन् १९८० सम्म उनको कम्पनी टेम्प होल्डिङसमा सबै महिला मात्रै थिए । तर, मैले पुरुषहरूको आवश्यकतालाई मनमनै स्विकारिसकेकी थिएँ,’ सिनोहराले एक अन्तर्वार्तामा भनेकी छन्, ‘एउटा शाखा कार्यालयमा पार्टटाइमरका रूपमा एकजना पुरुषलाई काममा राखियो, आश्चर्यजनक रूपमा कारोबार हवात्तै बढेर गयो । यो एउटा महत्त्वपूर्ण मोड बन्न पुग्यो । यो निर्णय पुरुष र महिलाहरूलाई एक साथ अघि बढेमा सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने निष्कर्षमा पुग्न सजिलो बनाइदियो । कम्पनीको वेबसाइटका अनुसार हाल कम्पनीमा १६ हजार ५ सय ४२ जना पूर्णकालीन कर्मचारी र २१ हजारभन्दा बढी आंशिक रूपमा काम गर्ने कर्मचारीहरू छन् ।

आजको उनको टेप होल्डिङस कम्पनी कामदार भर्ती, आउटसोर्सिङ, परामर्श र विभिन्न प्रणालीहरूको विकास गर्ने सेवा प्रदान गर्छ । तर, उनको पार्टटाइम स्टाफिङ यसको सबैभन्दा ठूलो क्षेत्र हो, जसले पछिल्लो तीन महिनामा २ दशमलव ३ अर्ब डलरसहित ७८ प्रतिशत हिस्सा ओगटेको छ । उनको कम्पनीले जापान र अमेरिका, चीन, भारत र अस्ट्रेलियासहित १३ मुलुकको २७ हजार कम्पनीसँग अनुबन्ध गरिसकेको छ ।

अगामी दशकमा जापानमा टेम्प होल्डिङको थप विस्तार हुने देखिन्छ । कम्पनीको अनुसन्धान शाखाले गरेको एक भविष्यवाणीमा जापानमा बढी उमेर भएकाहरूको जनसंख्यामा वृद्धि हुनु कम्पनीका लागि ठूलो अवसर हुन सक्छ । एक अनुमानअनुसार जापानको कर्मचारी क्षेत्रमा निकट भविष्यमा ५ दशमलव ८३ मिलियन व्यक्तिको कमी हुँदै छ, यस्तो अवस्थामा अस्थायी कर्मचारी सहयोगी बन्न सक्छन् ।

सन् २०१६ मा सिनोहारा कम्पनीकी अध्यक्ष बनिन् । उनका कुनै सन्तान छैनन् । सन् २०१४ मा उनले योसिको सिनोहारा मेमोरियल फाउन्डेसन बनाउनका लागि कम्पनीको ५ प्रतिशत सेयर दान गरेकी छन्, जसले नर्स, डेकेयर कर्मचारी र सामाजिक कार्यकर्ता बन्ने सोचका साथ अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्छ ।

स्रोत : एजेन्सी

प्रकाशित : चैत्र १७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?