कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फाइबर इन्टरनेट प्रयोगकर्ता बढे

गुणस्तरीय इन्टरनेटमा प्रयोगकर्ताको आकर्षण
विजय तिमल्सिना

काठमाडौँ — फाइबर इन्टरनेट सेवा लिनेको संख्यामा एक वर्षमा उल्लेख्य वृद्धि भएको छ । फाइबर इन्टरनेट सेवा लिनेको संख्या एक वर्षमा तीन गुणाले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

फाइबर इन्टरनेट प्रयोगकर्ता बढे

प्राधिकरणले सार्वजनिक गरेको पुस महिनासम्मको तथ्यांकअनुसार यस्तो सेवा लिने २ लाख ३३ हजारभन्दा बढी छन् । अघिल्लो वर्षको पुसमा यो संख्या ७६ हजार ६ सय मात्रै थियो ।


सञ्चालनमा रहेका दुई दर्जन इन्टरनेट सेवा प्रदायकहरूको ग्राहक संख्या ३ लाख ४१ हजार छ । यो तथ्यांकमा डाटा इन्टरनेट चलाउने नेपाल टेलिकम र एनसेलका ग्राहक संख्या समावेश छैन ।


निजी इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा धेरै ग्राहक वल्र्डलिंक कम्युनिकेसन्सको छ । यसको कुल ग्राहकसंख्या १ लाख ६१ हजार नाघेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । तीमध्ये फाइबर इन्टरनेट सेवा लिने ग्राहक संख्या १ लाख ४८ हजार छ । भायानेट कम्युनिकेसन्सका ग्राहक ४२ हजारभन्दा बढेको प्राधिकरणले जनाएको छ । भायानेटले फाइबर इन्टरनेट सेवा मात्रै दिँदै आएको छ ।


यस्तै चितवनस्थित टेक माइन्ड नेटवर्कले समेत १० हजारभन्दा बढीलाई फाइबर इन्टरनेट सेवा पुर्‍याएको छ । उसका कुल ग्राहक १४ हजारभन्दा बढी छन् । सुबिसु केबल नेटको फाइबर इन्टरनेट सेवा लिने ग्राहक ३ हजारभन्दा बढी छन् । उसका कुल ग्राहक ४३ हजारमध्ये ४४ हजार ८ सयले केबल इन्टरनेट सेवा लिइरहेका छन् ।


केबल र फाइबर इन्टरनेट विशेषत: घर र कार्यालयमा जोडिने र एकभन्दा बढीले प्रयोग गर्ने भएकाले लाभान्वितको संख्या बढी हुन्छ ।
इन्रटेनट सेवा प्रदायकबाट वायरलेस इन्टरनेट सेवा लिने ग्राहकको संख्यासमेत अघिल्लो वर्षको तुलनामा यो वर्ष कम भएको छ । यो पुससम्म २४ वटा इन्टरनेट सेवा प्रदायकका वायरलेस इन्टरनेटतर्फ ग्राहक ५१ हजार २ सय छन् । अघिल्लो वर्ष पुसमा यो संख्या ६५ हजार ७ सय ३० थियो ।
दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पुस महिनासम्म केबल इन्टरनेट केबल इन्टरनेट सेवा लिने ग्राहक संख्या ५७ हजार नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ६३ हजार ४ सय ४२ थियो ।


यो तथ्यांकका अनुसार पनि यो वर्ष तीव्र गतिको इन्टरनेट प्रसारका लागि उपयोगी अप्टिकल फाइबरमार्फत इन्टरनेटमा जोडिनेको संख्या वृद्धि भएको देखिन्छ । जबकि वायरलेस र सामान्य केबलमार्फत इन्टरनेट लिने प्रयोगकर्ताको संख्या कम भएको छ । यो संख्यामा नेपाल टेलिकमले वितरण गर्ने एडीएसएल सेवा लिने ग्राहक संख्या जोडिएको छैन । दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमको एडीएसएल सेवा लिनेको संख्या करिब एक लाख ९६ हजार छ । अघिल्लो वर्ष एडीएसएलका ग्राहक १ लाख ८३ हजार थिए ।


इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रयोगकर्ताले घरमा फाइबर इन्टरनेटसँगै टेलिभिजन सुविधासमेत दिन सुरु गरेकाले यो संख्या बढेको हुन सक्ने जानकारहरू बताउँछन् ।


आईटी कम्पनी योङ इन्नोभेसनका प्रमुख कार्यकारी अधिकृत विभूषण विष्ट अप्टिकल फाइबर इन्टरनेट सेवा लिनेको संख्या वृद्धि हुनुले द्रुत गतिको इन्टरनेटमा सर्वसाधारणको रुचि बढेको संकेत गर्ने विचार राख्छन् । ‘यसको अर्थ मानिसले इन्टरनेट गुणस्तरमा ध्यान दिन थालेका छन्,’ उनले भने, ‘बैंकिङ, सरकारी र अन्य सेवाहरू इन्टरनेटमा आधारित हुन थालेपछि सर्वसाधारणले इन्टरनेट गुणस्तरको महत्त्व बुझेका छन् ।’ विदेशमा बस्ने परिवारका सदस्य र आफन्तसँग कुरा गर्न पनि मानिसलाई घरमा राम्रो इन्टरनेट चाहिएको उनको बुझाइ छ । यसबाहेक सरकारी फाराम अनलाइनमा भर्ने सुविधा, इन्टरनेट बैंङिङ सेवा र विभिन्न बिल तिर्न सहज हुने भएपछि घरघरमा द्रुतगतिको इन्टरनेट सेवा लिने अझ बढेको उनको विचार छ ।


नेपालका दुई ठूला टेलिफोन सेवा प्रदायक नेपाल टेलिकम र एनसेलबाट डाटा इन्टरनेट सेवा प्रयोग गर्नेको संख्यासमेत उल्लेख्य छ । टेलिकमका डाटा इन्टरनेट प्रयोगकर्ताको संख्या ८७ लाख र एनसेलका प्रयोगकर्ता ७१ लख ६४ हजार रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणका अनुसार नेपालका ६३ प्रतिशत सर्वसाधारणमा इन्टरनेट पहुँच पुगेको छ ।


इन्डियन काउन्सिल फर रिसर्च अन इन्टरनेसनल इकोनोमिक रिलेसनअन्तर्गत सन् २०११ मा गरिएको एक अध्ययनले द्रुतगतिको इन्टरनेटको पहुँचले देशको उत्पादकत्व र कार्यक्षमता बढाउने निष्कर्ष निकालेको थियो । ७ वटा क्षेत्रमा गरिएको उक्त अध्ययनअनुसार भारतमा १० प्रतिशतले इन्टरनेट प्रयोगकर्ता वृद्धि हुँदा त्यसले कम्तीमा कुल गार्हस्थ उत्पादनमा कम्तीमा १ प्रतिशत योगदान गर्ने निष्कर्ष निकालेको थियो ।

के हो अप्टिकल फाइबर ?
सिलिका, काँच वा प्लास्टिकको प्रयोगबाट बनाइएको पातलो तार नै अप्टिकल फाइबर हो । फाइबरलाई फाइबर–अप्टिक कम्युनिकेसनका लागि प्रयोग गरिन्छ ।


प्रकाशको माध्यमबाट एक विन्दुबाट अर्को विन्दुमा जानकारी (डाटा) पुर्‍याउनुलाई नै फाइबर–अप्टिक कम्युनिकेसन भनिन्छ । विशेषत: धेरै टाढासम्म द्रुत गतिको इन्टरनेट पुर्‍याउन अप्टिकल फाइबरको प्रयोग गरिन्छ । यसमा धातु प्रयोग नगरिने भएकाले डाटा चुहावट कम हुने गर्छ । अप्टिकल फाइबरको प्रयोग गरी पुगेको इन्टरनेट सेवालाई नै फाइबर इन्टरनेट भन्ने गरिन्छ । सरकारले सार्वजनिक गरेको ब्रोडब्यान्ड नीति २०७१ ले सन् २०१८ भित्र सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर सञ्जाल पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित : चैत्र २१, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?