२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

धागो निर्यातमा भन्सार सुविधा नरोकिने संकेत

राजु चौधरी

काठमाडौँ — नेपाली धागोमा टर्की सरकारले दिँदै आएको भन्साररहित सुविधा नरोक्ने संकेत गरेको छ । वाणिज्य मन्त्रालयका सहसचिव रवि सैंजुको नेतृत्वमा रहेको नेपाली टोली र टर्कीका सरकारी अधिकारीबिच भएको छलफलमा सुविधा नरोक्ने संकेत दिएको हो ।

धागो निर्यातमा भन्सार सुविधा नरोकिने संकेत

‘बिहीबार भएको छलफल सकारात्मक रह्यो । टर्कीले सुविधा नहटाउने संकेत गरेको छ,’ वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले भने । एक्रेलिक यार्न (पोलिस्टर र फाइबर कच्चा धागो) नेपाली उद्योगहरूको क्षमताको तुलनामा अस्वाभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्सार सुविधा रोक्ने चेतावनी दिएको थियो । नयाँदिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको भन्सार सुविधा कुनै पनि बेला हटाउन सक्ने चेतावनी अनौपचारिक रूपमा नेपाली पक्षलाई दिएको थियो ।

चेतावनीपश्चात् बुधबार छलफल गर्न सहसचिव सैंजुसहितको टोली टर्की गएको थियो । सचिव घिमिरेका अनुसार टोलीले टर्कीका एन्टिडम्पिङ हेर्ने महानिर्देशकसँग छलफल गरेको थियो । ‘तेस्रो मुलुकबाट आयात गरी पुन: टर्की निर्यात गरेको भन्ने आशंका थियो । छलफल र प्रस्तुतीकरणबाट त्यसबारेमा सकारात्मक भयो,’ उनले भने ।

विशेषगरी उद्योग वाणिज्य संघहरूबाट जारी हुने सर्टिफिकेट अफ ओरिजिन (उत्पत्तिको प्रमाणपत्र) मा लापरबाही गरिएको र त्यसको आडमा मलेसिया, थाइल्यान्डलगायतका उत्पादन निकासी गरिएको आशंका टर्कीले गरेको छ । नेपाल अल्पविकसित मुलुक भएकाले भन्साररहित सुविधा पाएको थियो । तर, तेस्रो मुलुकबाट आयात गरी टर्की निर्यात गरेको आशंकामा नेपालबाट जीएसपी स्क््रयाब गरेको थियो । छलफलको क्रममा टर्की सरकारले पुनर्विचार गर्ने जवाफ दिएको सचिव घिमिरेले बताए ।

टर्कीले आफ्नो उत्पादनलाई बचाउन एन्टिडम्पिङ (आफ्नो उत्पादनलाई बचाउन थप शुल्क) लगाउन सुरु गरेको थियो । डयुटी फ्री कोटा हटाएको थियो । त्यसलाई पुनर्विचार गर्ने संकेत गरेको उनले बताए । ‘नेपालमा धागो उत्पादनको विषयमा सकारात्मक पहलमा लैजाने बताएका छन्,’ उनले भने, ‘धागोको बजारमा खतरा नहुने संकेत दिएको छ ।’

जानकारका अनुसार टर्कीले सुविधा हटाएको खण्डमा शिथिल बन्दै गएको निर्यात व्यापारलाई अर्को झट्का लाग्नेछ । घिमिरेका अनुसार टर्की नेपाली धागोको सबभन्दा ठूलो बजारमध्येमा पर्छ । नेपालका लागि एकदमै महत्त्वपूर्ण मुलुक हो । सबैभन्दा बढी धागो निर्यात हुँदै आएको छ । मन्त्रालयका अनुसार वार्षिक ४ अर्ब रुपैयाँको निर्यात हुँदै आएको छ ।

‘कुल निर्यातको साढे ४ प्रतिशत टर्कीमा निर्यात हुन्छ,’ उनले भने, ‘नेपालको सकारात्मक व्यापार छ । यो गुमाउनु भनेको धेरै नोक्सान हुनु हो ।’ मन्त्रालयका अनुसार विगतमा पनि चीन, भारत, इन्डोनोसियालगायतलाई यस प्रक्रियामा राखेको थियो । यस वर्ष बंगलादेश र नेपाललाई पनि सोही प्रक्रियामा राखेको सचिव घिमिरेले बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार २०१७ बाट भएको नेपालबाट ४ करोड अमेरिकी डलर मूल्यको धागो निकासी भएकामा टर्कीमा मात्रै ३ करोड ४० लाख डलर बराबरको निर्यात भएको थियो । करिब एक दर्जन मुलुकमा नेपाली धागो निर्यात हुने गरे पनि टर्कीले सबैभन्दा राम्रो भाउ दिने गरेको छ । भारतीय बजारमा नेपाली धागोले औसत प्रतिकेजी १.७ डलर मूल्य पाउने गरेकामा टर्कीमा भने उक्त दर ३.२ डलरभन्दा माथि रहने गरेको छ । आकर्षक मूल्य र भन्साररहित सुविधाका कारण पनि नेपाली धागोका लागि टर्की प्रमुख बजार बन्दै गएको हो । पछिल्लो पाँच वर्षमा टर्कीतर्फको नेपालको सिन्थेटिक यार्नको निर्यात औसत ३८ प्रतिशतले र परिमाणमा औसत ४५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा धागोको टर्की निर्यातमा १०९ प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित : चैत्र २३, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?