१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मोबाइलबाट देश जोडिँदै

विजय तिमल्सिना

काठमाडौँ — पछिल्ला ५ वर्षयता दूरसञ्चार सेवा र इन्टरनेटमा नेपालीको पहुँच तीन गुणाले वृद्धि भएको छ । यसले सञ्चारमा सहजता दिने मात्रै नभई जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ । तथ्यांक केलाउने हो भने अधिकांश नेपालीको हातमा स्मार्टफोन छ । आधाभन्दा बढी जनसंख्याले इन्टरनेटको सेवा पाएको छ । टेलिफोन सेवाको विस्तार, इन्टरनेटको सहजता र स्मार्टफोनको पहुँचले नेपालीलाई नजिक्याउँदै छ ।

मोबाइलबाट देश जोडिँदै

गुणस्तरीय इन्टरनेट सेवा प्रयोग गर्ने नेपालीको संख्या पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । अधिकांश जिल्लामा थ्रीजी इन्टरनेट सेवा पुगिसकेको छ भने अबको दुई वर्षमा सबै जिल्ला अप्टिकल फाइबर लिंकले जोडिँदै छन् । इन्टरनेट नपुगेका सबै जिल्लाका दुर्गम ठाउँमा दुई वर्षसम्म नि:शुल्क ब्रोडब्यान्ड (नेपालका लागि कम्तीमा ५१२ केबीपीएस गति) को इन्टरनेट यही वर्षभित्र पुग्दै छ । यस्तो इन्टरनेट सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, अस्पताल र स्थानीय सरकारका कार्यालयमा रहनेछ । दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकमबाट यस्तो सेवा दिन सुरु गरेको हो ।सुधारिँदै गएको सूचना प्रविधिको पहुँच आगामी दिनमा अझै वृद्धि हुनेछ भन्ने देखाउन यी तथ्यांकहरू सायद पर्याप्त होलान् । त्यसैले यो क्षेत्रमा आगामी वर्ष प्रगतिको सूचकांक बढदै जानेछ ।

कति नेपालीले मोबाइल सेवा प्रयोग गर्छन् भन्ने तथ्यांक नभए पनि नेपालका दुई ठूला दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको ग्राहक संख्या केलाउँदा जनसंख्याभन्दा बढीको तथ्यांक निस्किन्छ । सिम परिवर्तन गर्ने, एक कम्पनीको मात्रै नभई दुवैको सेवा लिनेजस्ता कारणले पनि यो संख्या बढी देखिएको हुन सक्छ । तर, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको पछिल्लो समयमा ग्राहक वृद्धिमा देखिएको सुस्तता र उनीहरूको आम्दानीमा देखिएको स्थिरताले नेपालमा दूरसञ्चार सेवाको प्रयोग उच्चतम विन्दुमा पुगेको अनुमान लगाउन सकिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा टेलिफोन सेवा प्रयोगकर्ताको संख्या ३ करोड ७७ लाख ८७ हजार नाघेको छ । ५ वर्षअघि यो संख्या १ करोड ८४ लाख ५१ हजारभन्दा बढी मात्रै थियो । यो तथ्यांकका आधारमा पछिल्लो ५ वर्षमा नेपाली टेलिफोन सेवा तीन गुणाले वृद्धि भएको पुष्टि हुन्छ ।नेपालमा फिक्स्ड लाइन टेलिफोन सेवा लिनेको संख्या थोरै मात्र बढेको भए पनि मोबाइल सेवा लिनेको संख्या करिब तीन गुणाले वृद्धि भएको छ । ५ वर्षअघि जीएसएम मोबाइल प्रयोग गर्नेको संख्या १ करोड ५९ लाख ६२ हजार मात्र थियो । हाल यो बढेर ३ करोड ४५ लाख ५७ हजार नाघेको हो ।


५ वर्षको अवधिमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या पनि तीन गुणाले बढेको छ । ५ वर्षअघि २१ प्रतिशतमा रहेको इन्टरनेट प्रयोगकर्ताको दर हाल बढेर ६३ प्रतिशत पुगेको छ । यो बीचमा अप्टिकल फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या पनि थपिएको प्राधिकरणको तथ्यांकले देखाउँछ । दूरसञ्चार प्राधिकरण नेपालका टेलिफोन सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय हो । यसले नेपालमा दूरसञ्चार सेवाको गुणस्तर निर्धारण गर्ने, अनुमगन गर्ने र बजारका लागि भूमिका खेल्ने काम गर्दै आएको छ ।

५ वर्षअघि नेपालमा डाटा इन्टरनेटको प्रयोगकर्ताको संख्या करिब ५४ लाखको हाराहारीमा मात्रै थियो । अप्टिकल फाइबर र केबल इन्टरनेट प्रयोग गर्नेको संख्या झन् कम ४९ हजारको हाराहारीमा मात्रै थियो । तर, अहिले डाटा इन्टरनेटको प्रयोग गर्नेको संख्या १ करोड ६१ लख ४६ हजार नाघेको छ । अप्टिकल फाइबर र केबल इन्टरनेट प्रयोग गर्नेको संख्या पनि करिब ६ गुणाले बढेर १ करोड ९० लाख पुगेको छ । यो पुस महिनासम्मको तथ्यांक हो ।

भारतमा गरिएको एक अध्ययनमा गुणात्मक इन्टरनेट प्रयोगकर्ताको संख्यामा १० प्रतिशत वृद्धि भए कुल गार्हस्थ उत्पादमा कम्तीमा एक प्रतिशत योगदान दिने निष्कर्ष निकालिएको थियो । यो अध्ययनलाई आधार मान्ने हो भने नेपालमा इन्टरनेट परिचालन, योसँग सम्बन्धित व्यवसाय र यसबाट हुने कार्यक्षमता वृद्धिले नेपाली अर्थतन्त्रमा समेत योगदान दिन थालिसकेको होला । तर, यससम्बन्धी कुनै अध्ययन भएको छैन । नेपालमा कुल कतिजनाको हातमा मोबाइल रहेको छ भन्ने पनि अध्ययन नै भएको छैन । बरु दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको एक फरक खालको नम्बर आईएमईआई नम्बर दर्ताका लागि प्रयास जारी राखेको छ । भविष्यमा दर्ता नगरिएका मोबाइलमा प्रतिबन्ध लगाउने प्राधिकरणको तयारी छ । यसले नेपाली बजारमा भित्रिने चोरीको मोबाइल नियन्त्रण गर्न त सघाउँछ नै मोबाइल प्रयोगकर्तामा भएको वृद्धि र यसको संख्याको नियमन गर्न पनि सजिलो बनाउँछ ।

९५ प्रतिशतभन्दा बढीको हातमा मोबाइल : अध्ययन
हालै गरिएको एक अध्ययनअनुसार नेपालमा ९५ प्रतिशतभन्दा बढीको हातमा मोबाइल फोनको पहुँच छ । सातै प्रदेशका ४ हजार १ सय ४५ जनामा गरिएको अध्ययनअनुसार यस्तो आँकडा देखिएको हो । अध्ययनअनुसार प्रदेश ४ मा मोबाइल स्मार्टफोन प्रयोगकर्ताको संख्या अत्यधिक छ । यहाँका ८७ प्रतिशत उत्तरदाताले स्मार्टफोन बोक्ने बताएका थिए । प्रदेश ७ मा तुलनात्मक रूपमा कम स्मार्टफोन रहेको अध्ययनले देखाएको छ ।

अध्ययनमा समेटिएका उत्तरदातामध्ये ९८ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने गरेको बताएका थिए । तीमध्ये ७१ प्रतिशतले मोबाइल डाटामार्फत र १८ प्रतिशतले वाइफाईमार्फत इन्टरनेट चलाउने जवाफ दिएका थिए । ‘सेयरकास्ट’ संस्थाले पुस र माघमा गरेको उक्त अध्ययनअनुसार ६० प्रतिशतले सामाजिक सञ्जालका लागि इन्टरनेट प्रयोग गर्ने निष्कर्ष निकालेको छ । करिब १४–१४ प्रतिशत उत्तरदाताले समाचार पढ्न र कसैलाई सम्पर्क गर्न इन्टरनेट प्रयोग गर्ने उत्तर दिएका थिए ।

अध्ययनले देखाएअनुसार ८१ प्रतिशतले सबैभन्दा धेरै फेसबुक चलाउँछन् । तीमध्ये ५६ प्रतिशतले नयाँ जानकारी थाहा पाउन फेसबुकको प्रयोग गर्ने गरेको बताएका थिए । यो तथ्यांकबाट सर्वसाधारणले जानकारी हासिल गर्ने माध्यम बदलिँदै गएको पुष्टि गर्छ । तर, अध्ययनमा संलग्न २ प्रतिशतले मात्र सामाजिक सञ्जालमार्फत प्राप्त समाचार वा जानकारीलाई विश्वास गर्ने उत्तर दिएका थिए । फेसबुकको तथ्यांकअनुसार उसका ९२ लाखभन्दा बढी प्रयोगकर्ता नेपालमा छन् ।

प्रकाशित : वैशाख १, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?