१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बियरले नुहाउँछिन् उनी

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — हरेक व्यक्तिको जीवनशैली फरक–फरक हुन्छ । आफ्नो आम्दानीअनुसार मानिसले खर्च गर्छ । त्यहीअनुरूप बजेट बनाएर दिनचर्या निर्वाह गर्छन् । तर, जब तपाई धनाढय र बढी समृद्ध हुनुहुन्छ, तपाईको जीवनशैली पनि त्यहीअनुरूपको हुनु स्वाभाविक हुन्छ ।

बियरले नुहाउँछिन् उनी

कसैकसैले आफ्नो सम्पत्तिलाई भडाउलो जीवनशैलीमा प्रयोग पनि गर्छन्, अनि असाधारण बन्न पुग्छन् । अझ अर्बपतिहरूको त कुरै बेग्लै । तिनीहमध्ये केहीले आफ्नो विलासी जीवनशैली बिताउन गरेको खर्चका कारण अखबारहरूको प्रमुख समाचारसमेत बन्ने गरेकै छन् । यसमा पनि अर्बपतिका पत्नी र सन्तानहरूले गर्ने असीमित खर्च बढी चर्चामा हुने गर्छ । तिनीहरूले महँगो कार, आलिशान भवन, पहिरनलगायतका आफ्नो रुचिमा असीमित खर्च गर्छन् । आफ्नै निजी जेट्स र द्वीपहरूसमेत तिनीहरूका लागि सौखका सामग्री बन्न पुग्छन् । यस्तै भडाउलो जीवनशैली बिताउने अर्बपतिहरूका पत्नीमध्ये क्यामलिया जाहुर पनि एक हुन्, जसले नुहाउनकै लागि लागि करोडौं रुपैयाँ खर्च गर्छिन् । उनी पाकिस्तानी मूलका एकजना युक्रेनस्थित बेलायती व्यापारी मोहम्मद जाहुरकी पत्नी हुन् । एउटी लोकप्रिय मोडल र चर्चित गायिकासमेत रहिसकेकी उनी कुनै बेला सेलिब्रेटी जीवनशैली यापन गर्थिन् । मोहम्मदसँगको विवाहपछि पनि त्यसमा निरन्तरता दिएकी छन् । आज त्यही कारणले चर्चाको शिखरमा छिन् ।

क्यामलियाको अनौठो सौखबारे सुन्दा धेरैलाई आश्चर्य लाग्ने गर्छ । हो, उनी स्यापेन्ज बाथ (बियर स्याम्पेनका साथ नुहाउनु) गर्छिन् । यो बाथका लागि प्रतिमहिना उनले करोडौं रुपैयाँ खर्च गर्छिन् । नुहाउनका लागि यिनले प्रयोग गर्ने एउटा मात्र बोटलको मूल्य ८ हजार रुपैयाँसम्म पर्छ । ‘तपाई नुहाउनकै लागि महँगो बियर प्रयोग गर्नुहुन्छ भने ड्रिंकचाहिँ किन र कुन बेला गर्नुहुन्छ,’ भन्ने जिज्ञासामा यिनको जवाफ पनि अनौठो नै छ । ‘आफ्नो सौन्दर्य उपचारका लागि स्याम्पेनको प्रयोग गर्छु,’ क्यामलिया भन्छिन्, ‘स्याम्पेन बाथले छालालाई सधैं मुलायम र युवा बनाउनमा सहयोग गर्छ । तर, हरेक दिन स्याम्पेन बाथ गर्दिनँ ।’ एक अन्तर्वार्तामा भनेकी छन्, ‘म हरेक छ महिनामा लगातार १० दिन मात्र यस प्रकारको स्नान गर्छु । म आफ्नो टब भर्ने गरी रक्सीको स्याम्पेन गर्दिनँ । ४० जति बोटल यसका लागि प्रयोग गर्छु ।’ स्याम्पेन एउटा राम्रो डिटेक्टको काम गर्ने उनको बुझाइ छ । ‘यसले छालाका छिद्रहरूलाई सफा गर्छ र छालालाई बलियो पनि बनाउँछ,’ उनी भन्छिन् । क्यामलिया आफ्ना सहयोगीहरूलाई बिर्को खोल्न र बाथटबमा हाल्नका लागि निर्देशन दिएपछि यिनको स्याम्पेन बाथ सुरु हुन्छ । स्याम्पेन बाथका लागि २२ जना बोटलर्स नियुक्त गरिएका छन् । करिब ३ करोड २० लाख रुपैयाँ तिनीहरूको तलबमा खर्च हुन्छ । क्यामलियाको सौख यत्तिमै सीमित छैन । उनलाई हीरा जडित घडी लगाउने सौख पनि छ, उक्त घडीको मूल्य ६० लाख रुपैयाँ पर्छ । यिनले प्रयोग गर्ने चस्माको मूल्य ६ लाख रुपैयाँ पर्छ ।

पूर्व युक्रेनी गायिका क्यामलियाको मन पर्ने होटल ‘चाइना टयाङ रेस्टुरेन्ट’ हो, जुन बेलायतको लन्डनस्थित महँगो डोरचेस्टर होटलमा रहेको आर्ट डेको इटेरी हो । त्यहाँ फ्राई गरिएका खाद्य सामग्री लोबस्टका मूल्य ६५ सय ४४ रुपैयाँ छ । त्यस्तै हाँसको टाउकाको सेकुवाको एकपटक स्वाद लिँदा यिनले ३१ हजार ५ सय ३१ रुपैयाँ खर्च गर्छिन् ।

अर्बपति मोहम्मद जाहुरकी पत्नी क्यामलियाले परिवारका दुई महँगा हाकर ९०० एक्सपी जेट विमानहरू पनि छन् । आफ्नो यात्रामा यसैको प्रयोग गर्न मन पराउँछिन् । एउटा जेट विमानको मूल्य ५९ करोड ४ लाख ६८ हजार २ सय ९१ रुपैयाँ पर्छ । उनले एकपटक आफ्ना श्रीमान्सँग लन्डनबाट बर्मिङघमको उडान गर्दा ११ लाख १५ हजार ४ सय ९४ रुपैयाँ खर्च गरेकी थिइन् ।

मोहम्मद जाहुरले स्टिल उद्योग र मिडियामा लगानी गरी अर्बपति बनेका हुन् । यसै वर्षको मार्चमा उनले आफ्नो लगानी रहेको ‘केयिभ पोस्ट’ अखबार सिरियाली अर्बपति एडनान किभानलाई ३६ करोड ५४ लाख ३५ हजार रुपैयाँमा बेच्न सम्झौता गरेका थिए । युक्रेनबाट प्रकाशित हुने ‘केयिभ पोस्ट’ को एक रिपोर्टअनुसार जाहुरको कुल सम्पत्ति ५२ करोड २० लाखदेखि १० अर्ब ४४ करोड रुपैयाँ रहेको आकलन गरेको छ । उनी युक्रेनस्थित संयुक्त सेयर कम्पनी मिनी स्टिल मिल ‘आईएसटीआईएल’ का सुपरभाइजरी बोर्डका अध्यक्षसमेत हुन् । केही वर्षअघि उनले आफ्नी पत्नीलाई टप पप स्टार बनाउनका लागि २ अर्ब ८ करोडभन्दा बढी रुपैयाँ खर्च गरेका थिए । यसका लागि युक्रेनबाट अमेरिकासम्म पुग्नका लागि जेट विमान नै खरिद गरिदिएका थिए ।

जाहुरको जन्म पाकिस्तानको कराँचीमा ६३ वर्षअघि भएको हो । उनले पहारी भेला स्कुलबाट प्रारम्भिक शिक्षा अध्ययन गरी कराँचीको डीजे सिन्ध साइन्स कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका हुन् । त्यसपछि एनईडी इन्जिनियङ कलेज (हाल विश्वविद्यालय) मा भर्ना भए । तर, छ महिना मात्रै त्यहाँ पढेर पाकिस्तानबाट छात्रवृत्तिमा तत्कालीन सोभियत संघमा पढ्न गए । त्यहाँबाट मेटालर्जिकल इन्जिनियरिङमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरे ।

आफ्नो पढाइ पूरा गरेपछि उनी पाँच वर्षजति एउटा स्टिल मिलमा काम गरेका थिए । मध्यम वर्गीय परिवारमा जन्मेका उनका बुबा पाकिस्तानको सिन्ध प्रान्तमा डेपुटी अटिटर जनरल थिए । उनी भन्छन्, ‘अमेरिका या बेलायतमा बढाउन सक्ने हैसियत मेरो परिवारको थिएन । तर म सधैं अवसरको खोजीमा थिएँ । त्यो अवसर शौभाग्यले प्राप्त भयो र त्यसैको परिणाम हो, मैले आज यो सफलता हासिल गरेको हुँ ।’ सोभियत संघ पुगेपछि त्यहाँ उनको रुचि परिवर्तन भयो । पढाइसँगै घुमफिर बढी गर्न थाले । खेलकुद, गायनलगायतका रुचि उनमा पहिलेदेखि थियो । त्यसैक्रममा उनले बेलायतदेखि जर्मनीसम्मका कम्तीमा डेढ दर्जनजति मुलुकको भ्रमण गर्ने मौका पाए ।

स्रोत : एजेन्सी

प्रकाशित : वैशाख १, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?