कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टेलिकमको अस्वस्थ प्रतिस्पर्धा रोक्न उपकरण किनिँदै

उपकरण र सफ्टवयरले प्राधिकरणलाई नेपालमा आउजाउ हुने अन्तर्राष्ट्रिय कल, टेलिकम कम्पनीको आपसी नेटवर्कमा हुने कल, अवैध कलको विवरण प्राप्त गर्न सहयोग गर्नेछ
विजय तिमल्सिना

काठमाडौँ — टेलिकम कम्पनीले आपसी नेटवर्कमा हुने फोनमा अवरोध गरेर अस्वस्थ प्रतिस्पर्धा गरिरहेका कम्पनीका गतिविधि रोक्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले उपकरण किन्ने भएको छ ।

टेलिकमको अस्वस्थ प्रतिस्पर्धा रोक्न उपकरण किनिँदै

यस्तो उपकरणले नेपालका टेलिकम कम्पनीबीच देखिएको एक अर्काको नेटवर्कबाट आउने कललाई असफल बनाउने अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्न सघाउनेछ ।

टेलिकमले गत सोमबार इन्टरकनेक्सनसम्बन्धी व्यवस्था पूर्ण रूपमा लागू गर्न दुई ठूला टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेललाई पत्राचार गरेको थियो । आफ्नो अनुसन्धानबाट यी दुई कम्पनीले अन्य साना टेलिकम कम्पनीको नेटवर्कमा आउजाउ हुने कललाई असफल बनाउने गरेको देखिएपछि यस्तो पत्र पठाइएको प्राधिकरणले जनाएको छ ।

यो उपकरण र सफ्टवेयरले प्राधिकरणलाई नेपालमा आउजाउ हुने अन्तर्राष्ट्रिय कल, टेलिकम कम्पनीको आपसी नेटवर्कमा हुने कल, अवैध कलको विवरण प्राप्त गर्न सहयोग गर्नेछ । यसले टेलिकम कम्पनीको नियमन गर्न प्राधिकरणलाई सजिलो हुनेछ ।

टेलिकम कम्पनीले अर्को कम्पनीको नम्बरबाट आफ्नो नेटवर्कमा आउजाउ हुने कललाई असफल बनाएर आफ्नो व्यावसायिक रणनीति पूर्ति गर्ने टेलिकम क्षेत्रका जानकारहरू बताउँछन् । विशेषत: ठूला कम्पनीहरूले साना कम्पनीका ग्राहक वृद्धि रोक्न यस्तो गर्ने गरेका छन् । उदाहरणका लागि स्मार्ट टेलिकमको एक नम्बरबाट नेपाल टेलिकम र एनसेलको नम्बरमा फोन गर्दा समस्या उत्पन्न भए स्मार्ट टेलिकमको उक्त ग्राहकले सेवा राम्रो नभएको गुनासो गर्दै स्वत: अर्को कम्पनीको नम्बर लिएर प्रयोग गर्न सक्ने सम्भावना हुन्छ ।

यस्तोखाले प्रतिस्पर्धाले नयाँ र साना टेलिकम कम्पनीको बजार विस्तारमा सहयोग पुग्ने भएकाले टेलिकम क्षेत्रका जानकारहरू यसलाई ‘सिन्डिकेट’ कै रूपमा लिन्छन् । प्राधिकरणले अन्तर्राष्ट्रिय कलको ट्राफिक तथा अवैध कलको अनुगमनका लागि हार्डवेयर र सफ्टवयर जडान र त्यसको सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो । यही संरचनाले आन्तरिक कलको इन्टरकनेक्सनसमेत अनुगमन गरिने प्राविधिकरणका प्रवक्ता अर्यालले जानकारी दिए ।

अन्तिम सूचीमा छनोट भएका चार कम्पनीमध्ये एकसँग यसखाले सेवाका लागि सम्झौता गरिने प्राविधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यसका लागि करिब तीन महिना लाग्नेछ ।

प्राधिकरणले लेबनानको भनराइज सोलुसन, जेनेभाको एसजीएस, क्यानडाको टीकेसी टेलिकम र हङकङको एनसफ्ट लिमिटेडसँग यो खाले सेवाका लागि प्रस्ताव मागेको छ । प्राधिकरणले ७ महिनाअघि यो खाले संरचना दिन सक्ने अन्तर्राष्ट्रिय परामर्शदाताबाट प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्तावका आधारमा प्राधिकरणले चार कम्पनीलाई छनोट गरेको हो ।

यी चारै कम्पनीसँग अहिले उनीहरूको सीप, क्षमता, अनुभव, आर्थिक हैसियत र योजनाबारेको प्रस्ताव माग गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । चारै कम्पनीले अप्रिलको अन्तिमसम्ममा प्रस्ताव पेस गरिसक्नुपर्ने म्याद छ । कम्पनीको प्रस्ताव प्राप्त भइसकेपछि तीन महिनामा अनुगमन सुरु हुने प्रवक्ता अर्यालले जानकारी दिए ।

यूटीएल, स्मार्ट टेलिकमजस्ता साना कम्पनीका ग्राहकले नेपाल टेलिकम र एनसेलको नम्बरमा फोन गर्दा फोन नलाग्ने समस्या आएको गुनासो गरेपछि प्राधिकरणले यसको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा एनसेल र नेपाल टेलिकमको नम्बरबीच हुने कल आदानप्रदानमा पनि यस्ता समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

टेलिकम कम्पनीले अन्य नेटवर्कबाट आफ्नो नेटवर्कमा आउने फोन कलमा अवरोध गर्न खोजेको भेटिएपछि प्राधिकरणले दुई ठूला कम्पनीलाई सचेत बनाउँदै पत्र काटेको हो । प्राधिकरणको इन्टरकनेक्सन निर्देशिकाले टेलिकम नेटवर्कभित्र हुने कुराकानी अवरोधविहीन हुनुपर्ने प्रावधान राखेको छ । आन्तरिक टेलिकम कम्पनीबीच अवरोधरहित इन्टरकनेक्सन हुनुपर्ने निर्देशिकाको प्रावधान छ । निर्देशिकामा प्वाइन्ट अफ इन्टरकनेक्सनको क्षमताको ७५ प्रतिशत ट्राफिक वृद्धि भएपछि त्यसको स्तरोन्नति गर्नुपर्ने प्रावधान छ । तर, यससम्बन्धी अनुसन्धान गर्ने पूर्वाधार प्राधिकरणसँग थिएन ।

निर्देशिकाले अन्तर्राष्ट्रिय कलका लागि पनि मापदण्ड तोकेको छ । कुल बजारको १० प्रतिशतभन्दा बढी ग्राहक भएका टेलिकम कम्पनीले अन्तर्राष्ट्रिय कलको इन्टरकनेक्सन पनि अवरोधविहीन बनाउनुपर्ने प्रावधान तोकेको छ । यस्तै आधारभूत, ग्रामीण र लिमिटेड टेलिफोन सेवाको अनुमतिपत्र पाएको कम्पनीले मासिक कम्तीमा ५ लाख मिनेटसम्मको अन्तर्राष्ट्रिय कलको इन्टरकनेक्सन गर्नुपर्ने प्रावधान छ ।

विभिन्न टेलिकम कम्पनीबीच आपसी नेटवर्कमा हुने कुराकानीलाई सञ्चालन गर्न ‘इन्टरकनेक्सन’ पूर्वाधार राखिएको हुन्छ । इन्टरकनेक्सनले एउटा कम्पनीबाट अर्को कम्पनीको सिममा जाने फोन वा एसएमएसलाई सञ्चार गर्छ ।

नेपाल टेलिकमको सिम बोक्नेले एनसेलको नम्बरमा फोन गर्दा इन्टरकनेक्सनकै कारण सञ्चार हुन्छ । टेलिकम कम्पनीबीच एक आपसमा सेवा सञ्चार गर्न इन्टरकनेक्सन हुन्छ । यसलाई सामान्य भाषामा प्वाइन्ट अफ इन्टरकनेक्सन (पीओआई) भनिन्छ । एनसेलको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कल हुँदा पीओआई भएर जान्छ । पीओआईमा अवरोध भए फोन लाग्दैन ।

प्रकाशित : वैशाख २, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?