१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेयर बजार भित्रिने लगानीकर्ता कम

यज्ञ बञ्जाडे

काठमाडौँ — अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सेयर बजार नयाँ लगानीकर्ताको प्रवेशमा कमी आएको छ । बजार घट्दो प्रवृतिमा रहेकाले नयाँ लगानीकर्ता भित्रिने क्रम घटेको हो ।

सेयर बजार भित्रिने लगानीकर्ता कम

चालु आर्थिक वर्षमा सेयर बजारमा ८७ हजार २ सय ७८ जना नयाँ लगानीकर्ता भित्रिएका छन् । गत वर्ष बजारमा थपिएका नयाँ लगानीकर्ताको तुलनामा यो वर्षको संख्या करिब ६८ हजारले कम हो । आर्थिक वर्ष ०७३/७४ मा सेयर बजारमा १ लाख ५५ हजार ६ सय ८९ नयाँ लगानीकर्ता भित्रिएका थिए । हाल दोस्रो बजारमा १२ लाख ३६ हजार ५४ जना लगानीकर्ता रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । हालसम्म नेप्सेको कारोबार प्रणालीमा दर्ता भएकामध्ये ९ लाख ३३ हजार पुरुष, ३ लाख २ हजार महिला र ६ हजार संस्थागत लगानीकर्ता छन् ।

यो वर्ष दोस्रो बजारमा भित्रिएका करिब ८७ हजार ३ सय लगानीकर्तामध्ये ५८ हजार ४ सय ७८ पुरुष, २८ हजार १ सय ५६ महिला र ६ सय ४८ संस्थागत लगानीकर्ता रहेको नेप्सेको तथ्यांक छ । अघिल्लो वर्ष सेयर बजारमा भित्रिएकामध्ये १ लाख ९ हजार पुरुष, ४५ हजार ७ सय २० महिला र ८ सय ३५ संस्थागत लगानीकर्ता थिए । यसले अघिल्लो वर्षको तुलनामा यो वर्ष सेयर बजारमा भित्रिने नयाँ लगानीकर्ता घटेको पुष्टि हुन्छ ।

गत वर्षको तुलनामा यो वर्ष सेयर बजारमा नयाँ लगानीकर्ता घट्नुले नेप्से परिसूचक घटेको समयमा लगानीकर्ताको प्रवेश पनि कम हुन्छ भन्ने देखाउँछ । सामान्य लगानीको सिद्धान्तअनुसार सेयर बजार घटिरहेको समयमा मूल्य कम हुने भएकाले लगानी बढाउने र बढेको समयमा धेरै मूल्यमा सेयर बिक्री गरी मुनाफा सुरक्षित गर्नुपर्छ । तर, यो सर्वमान्य सिद्धान्तविपरीत प्रवृति नेपाली लगानीकर्तामा देखिएको छ । नेप्से परिसूचक बढेको समयमा धेरै नयाँ लगानीकर्ता बजारमा भित्रिने र घटेको समयमा घट्नुबाट यो पुष्टि हुन्छ ।

गत आर्थिक वर्षमा नेप्से परिसूचक बढदो क्रममा थियो । सोही अवधिमा नेप्सेले यसअघिको उच्च विन्दु (१ हजार १ सय ७५ अंक) लाई पार गर्दै १ हजार ८ सय ८१ अंकको नयाँ रेकर्ड बनाएको थियो । यही वर्ष करिब डेढ लाख नयाँ लगानीकर्ता बजारमा थपिएका थिए । यो वर्षको सुरुदेखि सेयर बजार घट्दो क्रममा छ । गएको वर्षको तुलनामा यो वर्ष नेप्से करिब ६ सयले घटिसकेको थियो । हालै नेप्से सुधार हुँदै गएर १ हजार ३ सय विन्दु नजिक पुगिसकेको छ ।

बजारमा करिब साढे १२ लाख लगानीकर्ता देखिए पनि सक्रिय लगानीकर्ताको संख्या निकै कम रहेको नेप्सेले जनाएको छ । ‘एक वर्षमा १ हजारवटा कारोबार गर्ने लगानीकर्ताको संख्या ३/४ जना मात्र देखिन्छ,’ स्रोतले भन्यो, ‘तथ्यांकमा सक्रिय लगानीकर्ता संख्या धेरै कम देखियो ।’

हाल सेयर द्वितीय बजारमा १२ लाख ३६ हजार लगानीकर्ता रहे पनि त्यति नै जना लगानीकर्ता छन् भन्ने होइन । हाल दोस्रो बजारमा एक जना व्यक्तिले ५० वटै ब्रोकरबाट सेयर कारोबार गर्न पाउँछ । यसरी कारोबार गर्दा एक व्यक्तिले हरेक ब्रोकर कार्यालयबाट छुट्टाछुट्टै लगानीकर्ता परिचय नम्बर पाउँछ । त्यो नम्बर नेप्सेको कारोबार प्रणालीमा दर्ता हुँदा जतिवटा कार्यालयबाट कारोबार भएको छ त्यतिवटै लगानीकर्ताका रूपमा रहन्छ । उदाहरणका लागि एक व्यक्तिले १० वटा ब्रोकर कार्यालयबाट कारोबार गरिरहेको छ भने, नेप्सेको तथ्यांकमा त्यही व्यक्तिलाई १० जना लगानीकर्ताको रूपमा गणना गरिन्छ । यसैले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता संख्या धेरै देखिएको विज्ञहरूले बताए । वास्तविक लगानीकर्ता पहिचानका लागि एकल परिचयपत्रको व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डले बताएको छ । यसका लागि सीडीएस एन्ड क्लियरिङले काम गरिरहेको जनाइएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?