पाकिस्तानी चिनीको आयात बढ्यो

शंकर आचार्य

पर्सा — पाकिस्तानबाट नेपाल आयात हुने चिनीको परिमाणमा दोब्बर बढोत्तरी भएको छ । चालू आर्थिक वर्षको चैत महिनासम्ममा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट चिनीको आयात बढेको हो । 

पाकिस्तानी चिनीको आयात बढ्यो

अघिल्लो आवको पहिलो ९ महिनाको अवधिको तुलनामा चालू आवको यस अवधिमा चिनीको आयात बढेको हो । पाकिस्तानबाट यस वर्ष सर्वाधिक बढी चिनी आयात भएको छ । केही चिनी बंगलादेश र क्यानडाबाट पनि आयात भएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांकअनुसार, चालू आवको पहिलो ९ महिनामा यो नाकाबाट ४ अर्ब ६७ करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको ८३ हजार ८ सय ७५ दशमलब ७१ टन चिनी आयात भएको छ । जसबाट १ अर्ब १ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ३८ हजार ६ सय ४३ दशमलब ५ टन चिनी आयात भएको थियो । जसबाट ४५ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर बरुवाल यस वर्ष आयातित चिनीमध्ये अधिकांश पाकिस्तानबाटै आयात भएको बताउँछन् । स्वदेशी चिनीभन्दा सस्तो भएकाले पाकिस्तानबाट चिनी बढी आयात भएको हुन सक्ने उनले बताए । खुल्ला बजार अर्थ व्यवस्थाका कारण व्यवसायीले आफूलाई सस्तो पाउने मुलुकबाट चिनी आयात गर्न सक्छन् ।

स्रोतका अनुसार, यस वर्ष पाकिस्तानका साथै बंगलदेशमा पनि बढी चिनी उत्पादन भएको र दुवै मुलुकको अमेरिकी डलर सञ्चिती कम भएकाले उत्पादन लागत मूल्यमै अधिकतम चिनी बिक्री गरेर यी मुलुकले बढीभन्दा बढी डलर भित्र्याउने नीति अपनाएका छन् । यसले अन्य मुलुकको चिनीलाई कडा प्रतिस्पर्धा दिएको छ ।

चालू आवमा तेस्रो मुलुकबाट चिनी आयात गरेका आयातकर्ताले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले चिनीको भन्सार शुल्क पनि घट्नुपर्ने माग गर्दै आएका थिए । उनीहरूले नेपाल सरकारले निर्धारण गरेको चिनी आयात गर्दाको १५ प्रतिशत भन्सार शुल्क घटाउनुपर्ने माग गरेका थिए ।

यसको कारण भन्सार बिभाग र आायतकर्ताबीच कुरो नमिल्दा पछिल्लो २ महिनायता अधिकांश आयातकर्ताले धरौटीमा चिनी छुटाएर भन्सारबाट लगेका छन् । भन्सार विभागले पनि प्रतिटन ४ सय ६० डलर चिनीको अन्तर्राष्ट्रिय मूल्य मानेर १५ प्रतिशत भन्सार शुल्क र त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर निर्धारण गरेको थियो । यसभन्दा कम मूल्य दाबी गरेर जाँचपास गराउन खोज्ने आयातकर्ताले तत्कालका लागि राजस्व धरौटी राखेर चिनी जाँचपास गराएर लगेका छन् ।

स्वदेशी चिनी उत्पादक उद्योगीको दबाबपछि सरकारले मंगलबारबाट लागू हुने गरी चिनीको भन्सार शुल्क ३० प्रतिशत गरेको छ । यसले निर्बाध रूपले तेस्रो मुलुकबाट आयात भइरहेको चिनीको वेगलाई रोक्ने अनुमान गरिएको छ ।

पाकिस्तानबाट सस्तो चिनी आयात भएपछि बजारमा उपभोक्ताले सस्तो दरमा चिनी पाएका छन् । हाल वीरगन्जको बजारमा चिनी प्रतिकिलो ६८ रुपैयाँमा उपलब्ध छ । आयातित चिनीसँग निजी क्षेत्रले मात्र नभई सरकारी स्वामित्वकै संस्थानले पनि प्रतिस्पर्धा गर्न नसक्दा उसको पनि चिनी बिक्री हुन नसकेको अवस्था छ ।

नेसनलले ट्ेरडिङ लिमिटेडले यस वर्ष आयात गरेको ५० हजार टन चिनीमध्ये १० हजार टन चिनी उसको वीरगन्ज र राजधानीको गोदाममा गरी थन्किएको छ । जसमध्ये वीरगन्जमा ८ हजार र राजधानीमा २ हजार टन चिनी मौज्दात छ ।

हाल माग नभई बिक्री नगरिएको लिमिटेड वीरगन्ज अञ्चल कार्यालयले यस वर्षको दसंैमा प्रतिकिलो ७४ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरेको थियो । कार्यालय प्रमुख अमोज लामिछाने पछिल्लो समय चिनीको माग नरहेकाले बिक्री नभएको बताउँछन् । चिनी ग्लोबल टेन्डरमार्फत भारतको पश्चिम बंगालको हल्दियास्थित रेणुका सुगर मिल्सबाट खरिद गरिएको हो ।


प्रकाशित : वैशाख ६, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?