फाइभजीको दौड

केही देश र संसारभरका ठूला टेलिकम कम्पनी फाइभजी प्रविधिको विकासमा तल्लीन छन् । यो वर्ष केही सहरमा फाइभजी सेवा व्यावसायिक रूपमा सुरु हुँदै छ ।

काठमाडौँ — नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ । ‘फोरजी’ सेवा पुर्‍याउन नेपालमा कठीनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान र विकासमा भने केही देश जोडतोडले लागेका छन् ।

फाइभजीको दौड

केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरूले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् । सम्भवत: यही वर्ष, नभए आगामी वर्ष यीमध्ये केहीले ‘फाइभजी’ प्रविधिको व्यावसायिक प्रयोग सुरु गर्नेछन् । यसको सर्वसुलभताले ताररहित इन्टरनेट प्रविधिमा ठूलो फडको मार्न सक्छ । जसले इन्टरनेटमार्फत हामीले गर्दै आएको काम र यससँग सम्बन्धित व्यवसायलाई पनि बदल्न सक्छ । सन् २०२० सम्ममा सर्वसुलभ बन्ने अनुमान गरिएको यो प्रविधि सन् २०१८ र २०१९ मा केही मुलुकमा उपलब्ध हुने अनुमान छ । ‘फाइभजी’ ले ताररहित सञ्चार सेवाको अहिलेसम्मको अवस्थालाई परिवर्तन गर्नेछ । यो अहिले उपलब्ध ताररहित प्रविधिभन्दा सय गुणा बढी द्रुत हुने अनुमान गरिएको छ, जुन आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिनेछ । ताररहित इन्टरनेटको द्रुत उपलब्धताले संसारभर इन्टरनेटको प्रयोग र उपयोगको अवस्थालाई समेत परिवर्तन ल्याउन सक्छ ।


एक अनुसन्धानअनुसार ‘फाइभजी’ प्रविधिले अमेरिकी अर्थतन्त्रमा ५ सय अर्ब डलर योगदान गर्ने र ३० लाख नयाँ रोजगारीको अवसर सिर्जना गर्ने आंकलन गरिएको छ । अमेरिकन कन्ज्युमर इन्स्टिच्युटले गरेको अध्ययनअनुसार प्रत्यक्ष योगदानबाहेक यसले १२ खर्ब बराबरको अप्रत्यक्ष पुर्‍याउने अनुमान पनि छ । ‘फाइभजी’ ले उपलब्ध गराउने द्रुत गतिको इन्टरनेट र त्यसले दिने विभिन्न अवसरका कारण यो फाइदा पुग्ने आंकलन गरिएको हो ।


यो दाबीलाई पत्याउने आधार अमेरिका आफैं हो । किनकि दशकअघि ‘फोरजी’ प्रविधिको नेतृत्व गर्दा उसको अर्थतन्त्र १ खर्ब डलरले बढेको थियो । नयाँ प्रविधि, यसले सिर्जना गरेको रोजगारी र व्यापार अवसरबाट उसले फाइदा लिएको हो ।


प्रविधिको विशेषता भनेको यसलाई समयमै नअँगाल्नेलाई क्षति पुर्‍याउँदै आएको इतिहास पनि छ । दुई दशकअघि ‘थ्रीजी’ प्रविधिलाई अपनाउन ढिलो गर्दा युरोपेली देशबाट धेरै रोजगारी अन्यत्र सरेको उदाहरण छ ।


यसैले अहिले धेरै देशले ‘थ्रीजी’ पछिको नयाँ पुस्ताको प्रविधि ‘फाइभजी’ विकासका लागि लगानी गरिरहेका छन् । सरकारको यो दौडमा कम्पनीहरूले निजी कम्पनीहरूले पनि योगदान गरिरहेका छन् । यसैसाता सार्वजनिक एक अध्ययन प्रतिवेदनअनुसार ‘फाइभजी’ प्रविधिको अनुसन्धान र विकासका लागि चीन र दक्षिण कोरिया अमेरिकाभन्दा अगाडि छन् ।


प्रतिवेदनअनुसार जापान, जर्मनी, बेलायत, फ्रान्स, क्यानाडा, सिंगापुर र रुस पनि अगाडि छन् । यी मुलकले आफ्नो देशमा प्राविधिक पूर्वाधार सुधार गर्ने, नयाँ प्रविधिका लागि आवश्यक पर्ने नीति निर्माण गर्ने कदममा सफलता हात पारिरहेका छन् ।


उपकरण निर्माताहरूले पनि टेलिकम अपरेटरसँग मिलेर ‘फाइभजी’ को अनुसन्धान तीव्र पारिरहेका छन् । धेरै टेलिकम अपरेटरले चाँडै ‘फाइभजी’ को लन्च गर्ने योजनासहित परीक्षण गरिरहेका छन् । टेलिकम क्षेत्रको अनुसन्धान गर्ने कम्पनी एनालाईसी मासोनले तयार पारेको प्रतिवेदनमा सन् २०१८–२०१९ मा केही स्थानमा व्यापारिक प्रयोजनका लागि ‘फाइभजी’ सुरु हुन सक्ने आकलन गरिएको छ । ‘फाइभजीका लागि आवश्यक पूर्वाधार तयार भइसकेका छन्,’ प्रतिवेदनमा भनिएको छ । चीन, जापान, दक्षिण कोरियाका तीन–तीन र अमेरिकाका ४ कम्पनीले ‘फाइभजी’ को सेवा २०२० भन्दा अगाडि नै सुरु गर्ने तयारी गरिरहेको छन् ।


सामान्य भाषामा मोबाइल प्रविधिको पाँचौं पुस्तालाई छोटकरीमा ‘फाइभजी’ भनिन्छ । यसले ताररहित द्रुत गतिको इन्टरनेट सेवालाई पनि समेटछ । अहिले प्रचलनमा रहेको पछिल्लो पुस्ताको मोबाइल प्रविधि ‘फोरजी’ को तुलनामा दस गुणा तीव्र हुने अपेक्षा छ । ‘फाइभजी’ विकास गर्न खोजिनुको मुख्य उद्देश्य ताररहित इन्टरनेटलाई द्रुत बनाउनु हो ।

यसले विश्वसनीय रूपमा ठूलो क्षेत्रमा उच्च गतिको इन्टरनेट दिन सक्नेछ । जसले सेवा, व्यापार र रोजगारीको क्षेत्रमा नयाँ सम्भावनाहरू दिनेछ ।


‘फाइभजी’ विस्तारका लागि टेलिकम सेवा प्रदायक कम्पनीहरूले आर्थिक रूपमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । द्रुत गतिमा डाटा सञ्चारका लागि प्रयोग गर्ने माथिल्लो तहमा फ्रिक्वेन्सी धेरै टाढा नजाने भएकाले यिनीहरूले अहिलेको भन्दा धेरै बढी टावर वा एन्टेनाहरू राख्नुपर्ने हुन सक्छ ।


(स्रोत : एजेन्सीहरू)

प्रकाशित : वैशाख ८, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?