२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चिया बेचेरै अर्बपति

चियामा नयाँनयाँ स्वादको खोजी गर्दै, ग्राहकहरू माझ पस्किँदै अगाडि बढिन् । ताजा चिया पत्तीदेखि अदुवा, कालो मरिच, ल्वाङ, सुकुमेललगायतका मसलाहरूको संकल्न आफैंले गरिन् । 
दिनेश यादव

काठमाडौँ — ब्रुक इडी २१ औं शताब्दीकी अमेरिकी चियावाली हुन् । ‘भक्ति चाय’ (बी कार्प) नामक कम्पनीमार्फत उनी चियाको व्यापार गर्छिन् । उनले तयार पारेको चियामा अदुवासहित विभिन्न स्वाद चाख्न पाइन्छ । उनको चियाको विशेषता भनेको स्थानीयता मात्र होइन, चिया बेचेर लागतसमेत असुल्नु हो । उनी भारतीय चिया पसलबाट प्रभावित भई यो व्यवसाय थालेकी हुन् । सन् २००२ ताका भारत भ्रमणमा आएकी थिइन् । 

चिया बेचेरै अर्बपति

भारत भ्रमण सकेर अमेरिका फर्केपछि यिनी चिया व्यापार थालिन् । यो सोच उनलाई त्यो बेला आयो जब उनी अमेरिकाको विभिन्न क्याफेमा चिया खाना जाँदा मौलिक स्वाद भेटिनन्, जुन स्वाद उनले भारतमा पाएकी थिइन्, त्यसपछि आफैं स्वादअनुसार चिया पकाउन थालिन् । त्यसलाई व्यापारको रूप दिइन् ।


अमेरिकी उद्यमी ब्रुक ‘भक्ति चाय’ कम्पनीकी संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सन् २००६ मा यिनले यो कम्पनी सञ्चालनमा ल्याएकी थिइन् । अमेरिकाको बोल्डर कोलोराडोमा जन्मेकी यिनी चिया बेचेरै अर्बपति बनेकी छन् । कडा मिहिनेत, मानसिक, सामाजिक लाभ र परीक्षण तथा त्रुटि (ट्रायल एन्ड इरर) लाई आफ्नो सिद्धान्त बनाउँदै नयाँ इनोभेसन सुरु गरी उनी सफल भएकी हुन् । आफूले बेच्ने चियामा नयाँनयाँ स्वादको खोजी गर्दै अनि ग्राहकहरू माझ पस्किँदै अगाडि बढिन् ।


ताजा चिया पत्तीदेखि अदुवा, कालो मरिच, ल्वाङ, सुकुमेल लगायतका मसलाहरूको संकल्न आफैंले गरिन् । कहिले कालो चिया, कहिले अदुवा/मरिच हालिएको चिया त कहिले ल्वाङ–सुकुमेल प्रयोग गरिएको चिया बनाउनमा इडीले सयाैं घण्टा खर्च गरिसकेकी छन् । अमेरिकामा मसला चियाको बिक्री गरी यिनी चर्चित बनिन् । विशेष खालको चियाका लागि आफूलाई एउटा ‘ब्रान्ड’ कै रूपमा स्थापित गर्न सफल भइन् । धेरै अमेरिकीलाई चियाको पारखी बनाउन भ्याइन् । कम्पनी खोलेर चियाको व्यापार थाल्नुअघि यिनी घरमै स्टोभमा थोरै परिमाणमा चिया पकाउने र जारमा हालेर आफ्नो कारको पछाडिको डिक्कीमा राखी बिक्री गर्थिन् । ग्राहक बढदै गएपछि यिनले चियाको मात्रा बढाउँदै लगिन् । सन् २०११ को अप्रिल २१ मा डेबोराह एल कोहेनले ‘रोयटर्स’ मा लेखेका छन् , ‘तर, आर्थिक अवस्था त्यति राम्रो थिएन ।’ फेरि अधिकांश मसालाहरू अमेरिका बाहिरबाट झिकाउनुपर्ने कारणले यिनलाई केही कठिनाइ भएको थियो । तर, ती सबैलाई झेल्दै अघि बढेपछि चियाको व्यापार थालेको पहिलो वर्षमै यिनले दुई मिलियन अमेरिकी डलर (२० लाख रुपैयाँ) को कारोबार गरिन् ।’ त्यसपछि यिनी हौसिइन्, अब मुलुकभर यो व्यापारको विस्तारमा जुटिन्, बजारमा यिनको चियाको माग पनि बढदै गयो, मागअनुसार आपूर्ति गर्नै धौ–धौ भयो । समयसँगै यिनले व्यापारलाई परिमार्जित गर्दै अघि बढिन्, त्यसपछि कहिले पछाडि फर्कनु परेन ।


‘इंक’ अनलाइनका अनुसार सन् २०१८ मा ‘बी कर्प’ कम्पनीलाई ७ मिलियन अमेरिकी डलर (७३ करोड ९७ लाख ६० हजार रुपैयाँ) खर्चेर विस्तार गरेकी छन् । हाल उनको कम्पनीबाट उत्पादित चियालगायतका खाद्य पदार्थहरू होल फुड्स, कोस्टको र टार्गेट सेल्भ्रसहरूमा अमेरिकाभरि उपलब्ध छन् । ‘फाइनान्सियल एक्सप्रेस’ का अनुसार यिनी हाल चियाको बिक्रीबाटै ३५ मिलियन अमेरिकी डलर (३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ) कमाउन सफल भएकी छन् । अन्य उत्पादनको हिसाब यसमा जोडिएको छैन । सोसल पोलिसीमा मास्टर्स गरेकी इडी बिनानाफाको कमाउ बिजनेसलाई बलियो बनाइन् । आफ्नो रिसर्चका क्रममा इडी भारतको पश्चिम क्षेत्रका गाउँहरूको भ्रमण गर्ने क्रममा चियाको स्वादबाट मोहित भएर यो व्यवसाय थालेको बताउँछिन् । उनले स्थानअनुसार चियाको स्वाद पनि फरक–फरक हुने गरेको अनुभव सुनाउँछिन् ।


सन २००७ मा एडीले आफ्नो कारका पछाडिको भागमा म्यासनको जार राखेर चिया बिक्री थालेको एक अन्तर्वार्तामा बताएकी छन् । आज २०१८ मा उनको कम्पनीको राजस्व लगभग अर्बमा पुगेको छ । उनी एन्जेल इन्भेस्टर्स र प्राइभेट इक्विटी फर्मबाट एक करोड डलरसमेत जुटाउन सफल भएकी छन् । उनको चियाका सबै सामग्रीहरू अमेरिका बाहिरबाट आउँछन् । उदाहरणका लागि उनी ३ लाख पाउन्डको अर्गानिक अदुवा पेरुबाट झिकाउँछिन् ।


सन् २०१५ मा ‘भक्ति चाय’ ले गीता नामबाट सामाजिक परिवर्तनको पहलसमेत गरेको थियो । यसअन्तर्गत उनले घरबारविहीन मानिसलाई खाना दिनुको साथै लाखौंलाई सफा पानी उपलब्ध गराउने संस्थाहरूलाई सहयोग गरिसकेकी छन् । सञ्चार माध्यमहरूका अनुसार हालसम्म उनले ५ लाख डलर परोपकार संस्थालाई सहयोग उपलब्ध गराइसकेकी छन् । एडीले चियासँग विभिन्न प्रयोग पनि गरिन् । आज उनको एउटा वेबसाइट पनि छ, जसलाई भक्ति चियाको प्रचार गर्न उपयोग गर्छिन् ।


(स्रोत : एजेन्सी)

प्रकाशित : वैशाख ८, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?