सातामा १ सय १० अंकले बढ्यो नेप्से

काठमाडौँ — यो साता सेयर कारोबार मापक नेप्से परिसूचक करिब सवा सय अंकले बढेको छ । सबै कारोबार दिनमा सेयर बजार निरन्तर रूपमा उकालो लागेपछि समग्र नेप्से १ सय १० अंकले बढेको हो ।

सातामा १ सय १० अंकले बढ्यो नेप्से

अघिल्लो बिहीबार १ हजार २ सय ७७.५५ विन्दुमा बन्द भएको नेप्से गत गएको बिहीबार १ हजार ३ सय ८८.३१ विन्दुमा पुगेको छ । यद्यपि, साताको पहिलो दिनको तुलनामा नेप्से १ सय ८.१६ अंकले मात्र बढेको देखिन्छ ।


बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था सहज हुन लागे पनि सेयर बजार पनि सुधारको बाटोमा छ । यसअघि तरलता (लगानीयोग्य रकम) अभाव हुँदा बैंक तथा वित्तीय संस्थाबाट ‘मार्जिन कल’ को मार खेपिरहेका लगानीकर्ताले केही सातायता राहत महसुस गरिरहेका छन् । तरलता सहज भएपछि बैंक तथा वित्तीय संस्थाबाट मार्जिन कल आउन छोडेकाले बिक्री चाप नभएको ब्रोकरहरूले बताएका छन् । एक धितोपत्र ब्रोकरले भने, ‘बिक्री चाप नभएकाले लगानीकर्ताको आत्मविश्वास बढाएको देखिन्छ ।’


यो साता सेयर बजारमा ४ अर्ब ८ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा ३८.४६ प्रतिशत बढी हो । सो अवधिमा ४४ हजार १ सय ५० कारोबारबाट १ सय ८१ कम्पनीका ८८ लाख ५९ हजार ४ सय १० कित्ता सेयर किनबेच भए । गत साता ३६ हजार ७ सय ५ वटा कारोबारबाट ८१ लाख ९८ हजार ९ सय कित्ता सेयर खरिद बिक्री भए । ती किनबेचबाट २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका सेयर किनबेच भए ।


पछिल्ला दिनहरूमा बिमा र लघुवित्त समूहमा रहेका कम्पनीहखको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो साताको कुल सेयर कारोबारमा बिमा र लघुवित्त समूहको कारोबार हिस्सा धेरैले बढ्नुले पनि यो पुष्टि हुन्छ । यो साताको कुल कारोबारमा बिमा र लघुवित्त समूहको हिस्सा क्रमश: ३४.५३ र ११.८५ प्रतिशत छ । गत साताको तुलनामा दुवै समूहको कारोबार हिस्सा बढी हो । यसअघि लगातारजस्तो सबैभन्दा धेरै कारोबार हिस्सा ओगटदै आएको बैंकिङ समूहको कारोबार हिस्सा यो साता २७.६६ प्रतिशत मात्र छ । यसैगरी, उक्त अवधिमा विकास बैंक समूहको कारोबार हिस्सा ८.४६, जलविद्युतको ७.३५ र संस्थागत सेयरको ४.८९ प्रतिशत छ ।

प्रकाशित : वैशाख ९, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?