कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अलैंचीका बोटमा ढुसी

नयाँ बिरुवा रोप्न विज्ञको सुझाव
आश गुरुङ

लमजुङ — अलैंचीका पुराना बिरुवामा ढुसी लागेर धमाधम सुक्न थालेको छ । करिब तीन दशकअघि खेती सुरु गरिएको बेंसीसहर नगरपालिका १० खाँचे क्षेत्रमा अलैंचीका प्राय: सबै बोटमा ढुसी लागेको हो । 

अलैंचीका बोटमा ढुसी

धेरै अघि अलैंची खेती सुरु गरेका कालुबहादुर तामाङले करिब २० रोपनी जग्गाबाट गत वर्ष ५ क्विन्टल फलाए । सबै बिरुवामा ढुसी लागेपछि यो वर्ष उनको उत्पादन ४२ किलोबाट बढेको छैन । गत वर्ष ९ क्विन्टल फलेको अलैंची योपल्ट १ क्विन्टल २० किलो मात्रै भएको अर्का कृषक यमप्रसाद तामाङले बताए ।


त्यस्तै, २५ रोपनी जग्गामा अलैंची लगाएका सोमबहादुर तामाङले गत वर्ष ४ क्विन्टल फलाएका थिए । यो पटक ४३ किलो मात्रै भएको बताए । ‘अलैंची उत्पादन बढ्दै थियो । २/३ वर्षयता ढुसीले सतायो,’ उनले भने, ‘प्राविधिकका कुरा बल्ल पो सोध्दै छौं ।’ उनका अनुसार गाउँमा सबैको गरेर ०७२ मा २ सय १५ क्विन्टल अलैंची फलेको थियो । गत वर्ष ०७३ मा उत्पादन १ सय ५० क्विन्टलमा झर्‍यो । चालु वर्ष लगभग १२ क्विन्टल मात्रै फलेको उनले बताए ।


खाँचेका ७५ घरधुरीले करिब ४५ हेक्टरमा अलैंची खेती गर्दै आएका छन् । ‘ढुसी फैलिएपछि अलैंची खेती सखाप भयो,’ सोमबहादुरले भने, ‘पुरानोलाई हटाएर नयाँ बिरुवा रोप्ने तयारीमा छौं ।’ उनले ४ रोपनीमा २ लाख बिरुवा उमारेको बताए । अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले अलैंचीमा ढुसी पलाएको बताए । ‘ढुसी छुट्टै रोग होइन । बोट पुरानो भएपछि अलैंचीमा आउने समस्या हो । किसानले नयाँ बिरुवा लगाउन ढिलाइ गरेकाले समस्या आएको हो,’ उनले भने । बोट पुराना भएकाले ढुसी पलाउन थालेको उनले बताए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (अलैंची जोन) को कार्यालयले किसानलाई तालिम दिएको हो ।


अलैंची जोनका वरिष्ठ कृषि विकास अधिकृत गोविन्दराज कोइरालाले बिरुवा पुरानो भएकाले गाँज माटोबाट बाहिर निस्किएको र ढुसीको समस्या सुरु भएको जनाए । ‘उपचार नगर्दा ढुसीको समस्या बढ्दै गएको छ,’ उनले भने, ‘अब नयाँ बिरुवा लगाउनुको विकल्प छैन ।’ उनका अनुसार धेरै बिरुवा गाँजबाट सारेकाले समस्या भएको हो । उनले भने, ‘पुराना गाँज सबै हटाएर नर्सरीबाट राम्रो खालको बेर्ना सार्न सुझाव दिएको छौं ।’


अलैंची विज्ञ धर्मराज देवकोटाले थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने नगदेबालीको रूपमा अलैंचीमा किसानले व्यवस्थापनमा हेलचक्र्याइँ गर्ने गरेको बताए । ‘अलैंचीमा सिँचाइ अत्यावश्यक छ । मलखाद, गोडमेल तथा अन्य व्यवस्थापन नहुँदा ढुसीलगायत समस्या देखिएको हो,’ उनले भने ।

प्रकाशित : वैशाख ९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?