२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ’

नवीन पोखरेल

लन्डन — रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली इन्जिनियर तथा विज्ञहरूले काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् ।

‘काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ’

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले ‘मास ट्रान्जिट सिस्टम’ को आवश्यकता र भूकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए ।

‘दीर्घकालीन हिसाबले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात् भूमिगत रेलसेवा नै चाहिन्छ,’ उनले भने । काठमाडौंमा प्रस्तावित भूमिगत रेलसेवा वा काठमाडौं मेट्रोको विस्तृत योजना प्रस्तुत गर्दै अमात्यले काठमाडौंका सम्पदाहरू, वायु प्रदूषण र अव्यवस्थित सहरीकरणका कारण मोनो रेलभन्दा भूमिगत रेलमै जानुपर्ने कुरामा जोड दिए । सुरुमा केही महँगो परे पनि दीर्घकालमा गएर भूमिगत रेल भरपर्दो र सुरक्षित हुने उनको धारणा थियो ।

टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि गरेका अमात्यका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन् तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्छन् । उनले उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रोरेल सञ्चालन गर्न सकिने र त्यसमध्ये ७७ किलोमिटर सुरुङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एक सय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिने बताए ।

२० वर्षमा निर्माण सम्पन्न हुने अनुमान गरिएको परियोजनाको कुल लागत ४ खर्ब ७१ अर्ब रुपैयाँ र एक किलोमिटर टनेल खन्न करिब चार अर्ब रुपियाँ लाग्ने पनि उनले बताए । ‘अब हामीले आउँदो २० वर्षका लागि काठमाडौंको रेल परिदृश्यको परिकल्पना गरेर काम सुरु गरिहाल्नुपर्छ,’ उनले भने ।

१५ वर्ष हङकङमा सुरुङ निर्माण टनेलिङको क्षेत्रमा काम गरेर हाल बेलायतमा कार्यरत अर्का इन्जिनियर विजय गुरुङले पनि पोखराजस्तो पर्यटकीय सहरका लागि मोनो रेल एउटा सम्भाव्यता हुन सके पनि काठमाडौंका लागि मेट्रो मै जानुपर्नेमा जोड दिए । इजिप्टले कायरोमा भूमिगत रेलसेवा सञ्चालन गर्न फ्रान्स तथा जापानसँग ऋण लिएको बताउँदै गुरुङले नेपालले भारत, चीन, जापानलगायतका मित्र राष्ट्रहरूलाई भूमिगत रेल सेवाका एक–एक वटा लाइन निर्माण गरिदिन अनुरोध गर्न सक्ने पनि बताए ।

डा. वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो सत्रमा अमात्यबाहेक इन्जिनियर राजेश पाठकले लण्डनस्थित एउटा रेल परियोजनाको निर्माण व्यवस्थापकका रूपमा आफूले पाएको अनुभवबाट नेपालले के सिक्न सक्छ भन्ने प्रस्तुति

गरेका थिए । त्यस्तै वरिष्ठ इन्जिनियर नारद भण्डारीले रेल्वे पूर्वाधार आयोजनाहरूमा गुणस्तर सुनिश्चितता गरिनुपर्ने विषयमा प्रस्तुति दिए ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?