कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाल–भारत अन्तरसरकारी बैठकमा जलमार्गबारे छलफल हुने

काठमाडौँ — अन्तरसरकारी समिति (आईजीसी) को सचिवस्तरीय तथा अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा जलमाार्गबारे छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलमार्ग व्यापारमा जोड दिएपछि आपूर्ति मन्त्रालयले सोहीअनुसार तयारी गरेको हो ।

नेपाल–भारत अन्तरसरकारी बैठकमा जलमार्गबारे छलफल हुने

‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जलमार्गलाई प्राथमिकता दिएका थिए । बुधबारदेखि हुने छलफलमा जलमार्ग प्रोटोकल पनि मुख्य एजेन्डाका रूपमा राख्नेछौं,’ मन्त्रालयका प्रवक्ता एवं उपसमिति संयोजक रविशंकर सैंजुले भने, ‘यो सुचारु हुन केही समय लागे पनि प्रारम्भिक छलफल गर्छौं ।’

हाल भारतसँगको व्यापार घाटा हवात्तै बढेको छ । त्यसलाई सम्बोधन गर्न भारतलाई आग्रह गरिने मन्त्रालयले जनााएको छ । ‘व्यापार घाटा कम गर्न व्यापार नीति पुनरावलोकन गर्न सकिन्छ,’ उनले भने । पारवाहन सन्धि पुनरावलोकनमा पनि छलफल गरिने उनले जानकारी दिए । ‘अहिलेको अवस्थामा विश्वको व्यापार धेरै फरक भएको छ । इलोक्ट्रोनिक कार्गाे प्रणाली पनि सुरु गरेका छौं,’ उनले भने, ‘विगतको प्रणालीले पूर्ण रूपमा काम गर्दैन । त्यसैले परिमार्जन बारे छलफल हुन्छ ।’ नयाँ पोर्ट, पेमेन्ट, इलेक्ट्रोनिक डाटाको विषयमा पनि छलफल गरिनेछ । यीबाहेक नेपाली ग्यास बुलेट सञ्चालन गर्न विस्फोटक पदार्थ ओसारपसारका लागि लाइसेन्स प्रदान गर्न आग्रह गरिनेछ ।

ग्यास ढुवानी गर्दा रुट परमिटसँगै विस्फोटक लाइसेन्स चाहिन्छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुईवटा ग्यास बुलेट नेपाल भित्रिसकेका छन् । ५३ वटा ग्यास बुलेट भारतमा तयारी अवस्थामा छन् । विस्फोटक लाइसेन्स भारत सरकारले दिनुपर्छ । भारतीय पक्षले विस्फोटक लाइसेन्स नदिँदा एक वर्ष बित्दा पनि नेपाली ग्यास बुलेटबाट ढुवानी हुन नसकेपछि आईजीसी बैठकमा प्राथमिकताका साथ राख्ने योजना मन्त्रालयको छ ।

सैंजुका अनुसार आईजीसी बैठकमा अलैंची, जुट, अदुवा निर्यातबारे पनि उच्च प्राथमिकता हुनेछ । भारतीय पक्षले विभिन्न बहानामा निर्यातमा रोक लगाउँदै आएको छ । मन्त्रालय स्रोतका अनुसार एक वर्षको अवधिमा तीनपटकसम्म अवरोध गरेको छ । भारतले लगाएको वस्तु तथा सेवा कर, अदुवामा रासायनिक विषादी र खरिदकर्ताले भारतीय मन्त्रालयबाट निर्यात कोटा तोकेर ल्याए मात्रै नेपाली अदुवा भारत लैजान दिने भन्दै रोक लगाएको थियो ।

कूटनीतिक पहलमा निर्यात खुला भए पनि आईजीसी बैठकमार्फत दीर्घकालीन रूपमा समाधान गर्ने मन्त्रालयको योजना छ । छलफलका क्रममा तेस्रो मुलुकसँगको व्यापारबारे पनि चर्चा हुने जनाएको छ । भारत हुँदै तेस्रो मुलुकबाट सामान आयात गर्दा व्यवसायीहरूले विभिन्न समस्या भोग्दै आएका छन् । गैरभन्सार अवरोध हटाउनुपर्ने विषयलाई पनि नेपालले महत्त्व दिने सैंजुले बताए ।

विशेषगरी कृषिजन्य उत्पादन भारत निकासी हुँदा लाग्ने यस्ता महसुलले निर्यात निरुत्साहित गरिरहेको छ । कृषिजन्य उत्पादन भारत जाँदा भन्सार महसुल नलाग्ने भए पनि अन्य तरिकाबाट रोकिने समस्या छ । रेल्वे सेवा, क्वारेन्टाइन चेकपोस्ट, अन्तरबैंक कारोबारलगायत विषयमा पनि छलफल गरिने जनाइएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?