१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साँघुरो सडकका कारण आईसीपी सञ्चालनमा समस्या

शंकर आचार्य

पर्सा — स्तरीय सडक नहुँदा यहाँस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) अपेक्षाकृत रूपमा सञ्चालन हुन सकेको छैन । आईसीपी र सिर्सिया सुक्खा बन्दरगाहबीचको करिब ७ सय मिटर सडक साँघुरो भएको र यसको विस्तारको कामले गति नलिएपछि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो ।

साँघुरो सडकका कारण आईसीपी सञ्चालनमा समस्या

झन्डै २ साताअघि आईसीपी र सुक्खा बन्दरगाहबीचको सडक ६ लेनमा विस्तारको काम थालिएको छ । अप्रिल ७ मा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाटै आईसीपीको संयुक्त उद्घाटन गरेका थिए । तर, सञ्चालनमा आएदेखि आईसीपी नाका भारतबाट इन्धन आयात गर्ने नाकाका रूपमा मात्र प्रयोग हुँदै छ ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार सञ्चालनमा आएको दिनदेखि सोमबारसम्म गरी यो नाकाबाट ७३ करोड रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । कुल २ सय ४४ वटा प्रज्ञापनपत्रबाट यी वस्तु आयात भएका हुन् । आयात भएका वस्तुमध्ये सर्वाधिक (९५ प्रतिशत) इन्धन रहेको उनले बताए । त्यसबाहेक ब्लेड, क्रुड आयल, मरिच, अन्य औद्योगिक कच्चा पदार्थ पनि आयात भएको उनले जनाए ।


आईसीपी र सुक्खा बन्दरगाहबीचको सडक साँघुरो भएकाले एउटा मरिच बोकेको ट्रक त्यो बाटोबाट तल खेतमा खसेको उनले बताए । ‘बाटो साँघुरो भएकाले घुमाउन नसक्दा ट्रक पल्टिएको छ,’ उनले भने, ‘ठूला मालबाहक सवारी त्यो बाटोबाट लग्न समस्या छ ।’


नेपाल र भारत दुवैतर्फको आईसीपी पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि भारतीय पक्षले बुधबार भारतीय आईसीपीमा सरोकारवालाहरूको बैठक आह्वान गरेको यादवले बताए । ‘बैठकमा नेपाल र भारतका कस्टम अधिकारीलगायत अन्य सरोकारवाला पनि सहभागी हुनेछन्,’ उनले भने, ‘बैठकले दुवैतर्फका आईसीपीको कार्यक्षमता र प्रयोग बढाउने सम्बन्धमा ठोस निर्णय गर्ने सम्भावना छ ।’


वीरगन्जको अलौं/सिर्सिया खल्वाटोलामा १ सय ६५ एकड जग्गामा फैलिएको आईसीपी परिसरमा १ लाख ८४ हजार वर्गमिटरमा भवनसहितका विभिन्न संरचना निर्माण गरिएका छन् । एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलजस्ता संरचनाहरू उपलब्ध छन् । पर्याप्त कार्यालय स्थान, आधुनिक संरचना, नागरिक सुविधा प्रदान गर्नुका साथै चौकीमा सभा हल, माल सामान व्यवस्थापन जाँच, गोदाम, पार्किङ, तौल मेसिन, बैंकिङ, शीतगृह, सीसीटीभीको निगरानी, सार्वजनिक उद्घोषण प्रणाली, प्राथमिक उपचार केन्द्र, कफी हाउस, सुरक्षाकर्मी बासस्थान, छात्रावास, आयात/निर्यातका लागि छुट्टै व्यवस्थाजस्ता सुविधा उपलब्ध छन् ।


नेपालतर्फको आईसीपी पूर्ण क्षमतामा सञ्चालनमा आए हाल प्रयोगमा आइरहेको वीरगन्ज भन्सार कार्यालयको पुरानो संरचना र त्यो नाकामा हुने भीडभाड र जामबाट मुक्ति मिल्नेछ ।
हाल वीरगन्ज–रक्सौल नाकाबाट मालबाहक सवारी साधनलाई एक अर्को मुलुक आउजाउ गर्न मितेरी पुल क्षेत्र आसपासमा हुने जाम तथा अवरोधका कारण सातासम्म पनि समय लाग्ने गरेकामा चौकीबाट केही घण्टामै हुने आशा गरिएको छ । कम समयको लागतले सम्भारतन्त्र, व्यापार लागत र मालसामान वा सेवा सुविधा पुर्‍याउने समय स्तरोन्नतिमा सकारात्मक असर गर्नेछ । जसले समग्रमा व्यापारिक वातावरणमा सुधार ल्याउनेछ । तर, बाटोकै कारण प्रशस्त पूर्वाधार भएको संरचना पूर्ण क्षमतामा सञ्चालन र उपयोगमा आउन सकिरहेको छैन । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार वीरगन्ज–रक्सौल मार्गबाट हुने भएकाले यो चौकी पूर्ण क्षमतामा सञ्चालनमा आए आयात निर्यात व्यापारमै सकारात्मक असर पार्नेछ ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?