कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेश घुम्ने नेपाली बढे

झन्डै ७ लाख नेपाली थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई र इन्डोनेसिया जाने गरेका छन्

काठमाडौँ — पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ ।

विदेश घुम्ने नेपाली बढे

पाँच दशकअघि थाई एयरवेजले बैंककबाट भारतको कोलकाता टचडाउन गर्दै काठमाडौं उडान थालेदेखि नै नेपालीहरू तेस्रो मुलुकतर्फ टुरिस्ट भिसामा घुमफिर गर्न थालिसकेका थिए । त्यसताका घुम्न जानेहरूको प्रमुख उद्देश्य व्यापार, औषधोपचार प्रमुख हुन्थ्यो । अहिले काठमाडौंमै दर्जनभन्दा बढी टुर एजेन्सीहरूले विदेशी प्याकेज बिक्री गर्दै आएका छन् ।


बाहिर जाने आउट–वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन् । उनका अनुसार ५ वर्षयता नेपालीहरू घुम्नकै लागि विदेश जान थालेका छन् । ‘टुरिस्ट भिसा लिएर घुम्न जाने कल्चर ५ वर्षयता बढेको देखिन्छ,’ सुवेदीले भने । नेपालीहरू कुनकुन मुलुक घुम्न निस्किन्छन् ? कति खर्च गर्छन् ? कस्ताखाले पर्यटक भई निस्किरहेका छन् ? भन्ने तथ्यांक राखिने नगरेको उनले बताए । वार्षिक ७ लाख नेपालीहरू पर्यटक भिसामा घुम्न निस्किने गरेको अनुमान छ ।


बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठका अनुसार नेपालीहरू घुम्न जाने मुख्य मुलुकहरूमा थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई र इन्डोनेसिया हुन् । नेपालीहरू घुम्न जाने भारतपछिका यी तेस्रा मुलुकहरू हुन् । सबैभन्दा धेरै नेपाली घुम्न जाने भारत नै हो । भारत मात्र नभई अरू मुलुकमा पनि पर्यटकीय भिसामा वार्षिक कति नेपाली जान्छन् भन्नेबारे कुनै आधिकारिक तथ्यांक सरकारी निकायले सार्वजनिक गर्ने गरेको छैन । यी मुलुकबाहेक माल्दिभ्स, भियतनाम, मोरिसस पनि नेपालीहरूको रोजाइमा पर्ने गन्तव्य हुन् ।


नेपालबाट घुम्न निस्किनेमा परिवार, साथीसंगीको समूह र कर्पोरेट घराना मुख्य हुन् । अहिले मध्यम वर्गीयहरू पनि घुम्न एकदमै रुचि राख्न थालेको देखिन्छ ।


विश्वकै आठ अग्ला हिमचुचुरा भएको हिमाली मुलुक नेपालमा पर्यटन उद्योग विदेशी मुद्रा आर्जनको ठूलो स्रोत हो । हरेक वर्ष नेपाल घुम्न आउने पर्यटकमा एसियाली मुलुक भारत अनि चीन प्रमुख स्थानमा छन् । भूकम्प गएको वर्षबाहेक ५ वर्षयता नेपालमा वार्षिक लाख हाराहारी विदेशी घुम्न आउने मुलुकमा भारत र चीन नै अग्रस्थानमा छन् । नेपालमा गत वर्ष सन् २०१७ मा करिब १० लाख पर्यटक घुम्न आएका थिए । यो संख्या नै हालसम्मको सबैभन्दा उच्च हो । तर, छिमेकी मुलुकहरूमा वार्षिक करोडको संख्यामा पर्यटक घुम्न जान्छन् ।
पर्यटन मन्त्रालयका अनुसार प्रमुख तीन मुलुकपछि अमेरिका, बेलायत, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरियाका नागरिकको रोजाइमा पर्छ नेपाल ।


नेपालमा पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपीमा) ४ प्रशित हाराहारी योगदान रहेको छ । तर, भारतमा सन् २०१७ मा १ करोडभन्दा बढी पर्यटकको आगमनले त्यहाँको जीडीपीमा करिब १० प्रतिशत योगदान पुर्‍यायो । त्यहाँ घुम्न पुग्नेमा बंगलादेशी, अमेरिकी र बेलायती प्रमुख तीन हुन् ।


नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा) का पूर्वअध्यक्ष डिबी लिम्बुका अनुसार नेपालीहरूको भारत गन्तव्य प्राय: मेडिकल टुरिजमका माध्यमले हुने गरेको छ । अझ धार्मिक पर्यटन तीर्थयात्रा अत्यधिक नै छ ।


नेपाली घुम्न जाने मुख्य गन्तव्यमा गोवा, केरला, मुम्बई, दिल्ली, पन्जाब, सिक्किम, दार्जिलिङ, नैनीताल, आदि पर्छन् । मुख्यगरी लामो बिदा, दसैंतिहार नेपालीहरू घुमफिरमा निस्किने समय हुन् । निजी क्षेत्र र कर्पोरेट हाउसहरू प्राय: आफूलाई उपयुक्त लाग्ने सिजन र टुर प्याकेजअनुसार घुमफिरमा निस्किरहेका हुन्छन् । नेपालबाट चारवटा एयरलाइन्सको हवाई र दर्जनौं स्थानबाट सिधा बस रुटसँग भारत जोडिएको छ ।


भारतपछि नेपालीहरूको रोजाइमा थाइल्यान्ड पर्छ । अमेजिङ थाइल्यान्ड नारामा पर्यटन प्रमोट गरिरहेको थाइल्यान्ड नेपालीहरू घुम्न जान थालेको आधा शताब्दी भइसकेको मानिन्छ । वर्ड इकोनमिक फोरमले सन् २०१५ मा विश्वका १ सय ४१ मुलुकमध्ये थाइल्यान्ड धेरै पर्यटक भित्र्याउने मुलुकको ३५ औं स्थानमा परेको थियो । गत वर्ष थाइल्यान्डमा ३ करोड ५३ लाख पर्यटक पुगेका थिए । थाइल्यान्ड घुम्नेमा चीन, मलेसिया, रसियाका नागरिक प्रमुख तीन मुलुकको सूचीमा पर्छन् । सन् २०१६ मा युरोमनिटर इन्टरनेसनलको रिपोर्टअनुसार संसारमा सर्वाधिक पर्यटक पुग्ने सहरमा बैंकक, लन्डन र न्युयोर्कलाई पछि पार्दै पहिलो स्थानमा परेको थियो । थाइल्यान्डमा घुम्न जाने नेपाली प्राय: फेमिली टुर प्याकेजमा जाने गरेका छन् । नेपाली ट्राभल एजेन्सीहरूका अनुसार उनीहरू बैंककपछि पताया, चेङमाईसम्म पुग्छन् । नेपालीहरू पुग्ने अर्को मुलुकमा सिंगापुर पर्छ । त्यहाँको अर्थतन्त्रमा मुख्य योगदान दिने पर्यटन उद्योगमा गत वर्ष १ करोड ७४ लाख पर्यटक पुगेका थिए । सिंगापुर घुम्ने जानेहरूमा चीन, इन्डोनेसिया, भारत प्रमुख मुलुक पर्छन् । सिंगापुरका म्युजियम, आइल्यान्ड, पार्क आदि नेपाली पर्यटकको रोजाइमा पर्छन् । यो मुलुक मलेसियाको दाँजोमा महँगो छ । यहाँ सपिङ हुँदैन । यो विशुद्ध घुमफिरका लागि मात्रै हो । प्राय: मलेसिया पुग्नेहरू सिंगापुर पसेर फेरि उतै फर्किने गरेको ट्राभल एजेन्सीहरू बताउँछन् । अहिले काठमाडौंलाई सिल्क एयरले सिंगापुरसँग जोडेको छ ।


आफूलाई साँच्चिकै एसिया भनेर प्रचार गर्ने मलेसिया मेडिकल टुरिजमका लागि प्रख्यात छ । सन् २०१७ मा २ करोड ५९ लाख पर्यटकले मलेसिया भ्रमण गरे । विश्वमा सर्वाधिक पर्यटक पुग्ने यो नवौं मुलुक हो । एसियामा पाँचौं हो । पर्यटन यहाँको तेस्रो मुख्य विदेशी मुद्राको आयस्रोत हो । सिंगापुर, इन्डोनेसिया, चीनबाट हुने पर्यटन आगमन प्रमुख हुन् । मलेसियाको राजधानीमा रहेका जुम्ल्याहा टावर मुख्य आकर्षण हुन् । मलेसियालाई काठमाडौंसँग ५ वटा एयरलाइन्सले जोडेका छन् ।


दुबईमा दुइटा नेपाली विमान कम्पनी नेपाल एयरलाइन्स र हिमालयले उडान भर्छन् । यीबाहेक फ्लाई दुबईको पनि काठमाडौंसँग नियमित उडान छ । दुबई भिजटकै लागि मात्रै हो । यो अहिले महँगो मुलुकको सूचीमा पर्छ । नेपालको भन्दा मरुभूमि र फरक भूगोल भएको अनि धेरै आर्टिफिसियल आकृति दुबईका आकर्षण हुन् । नेपालीहरू पछिल्लोपटक इन्डोनेसियाको बाली घुम्न जाने प्रचलन बढेको छ । प्राय: विवाहित जोडी तीनवटा टापु भएको बाली पुग्छन् । विश्वमै सर्वाधिक स्पा सञ्चालन गर्ने बालीमा डल्फिनको दृश्य हेर्नेको ताँती लाग्छ । काठमाडौंबाट सोझै बाली पुग्ने हवाई रुट छैन ।


काठमाडौंबाट मलेसिया हँुदै इन्डोनेसियाबाट बाली पुग्न सकिन्छ । गत वर्ष १ करोड ४० लाख पर्यटक भित्र्याएको इन्डोनेसियामा प्रकृति र संस्कृति मुख्य आकर्षण हुन् । यो
मुलुक पुग्ने पर्यटक २१ दिनसम्म बिताउँछन् तर यो दर नेपालमा १२ दिन हाराहारी छ ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?