कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चिनीको भन्सारले चक्लेट र बिस्कुट महँगो

विराटनगर — चिनीको भन्सार मूल्यांकनमा वृद्धिले चोरी पैठारी बढ्ने भन्दै पूर्वका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले चिनीको भन्सार मूल्यांकन वृद्धिले बिस्कुट, जुस, चकलेटलगायत विभिन्न स्वदेशी उद्योग र सर्वसाधारण उपभोक्ता मर्कामा पर्ने बताएका छन् । डेढ महिनायता चिनीको भन्सार महसुल बढाइएको हो ।

चिनीको भन्सारले चक्लेट र बिस्कुट महँगो

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले भन्सार विन्दुमा चिनीको भन्सार मूल्यांकन ४ सय ६० डलर कायम गरेको र भन्सार महसुल पनि दोब्बर बढाएर ३० प्रतिशत बनाएकाले चिनीको लागत खर्च प्रतिकिलोग्राम ७२ रुपैयाँ पर्ने जनाए । उनका अनुसार छिमेकी भारतको सीमावर्ती बजार जोगबनीमा चिनीको खुद्रा मूल्य प्रतिकिलोग्राम ४८ देखि ५२ रुपैयाँ छ ।

सरकारको भन्सार मूल्यांकनका कारणले नेपालमा पैठारी गरिएको चिनी महँगो भई अब चोरी पैठारी भएर आउने क्रम बढ्ने उद्योगीको भनाइ छ । समुद्रपारका मुलुकका निर्यातकर्ताले प्रतिटन ३ सय ४० देखि ३ सय ६० अमेरिकी डलरमा चिनीको निकासी गरेको उल्लेख गर्दै प्रतिटन सरदर ३ सय ६० डलरमा पैठारी भइरहेको चिनीलाई सरकारले ४ सय ६० डलर मूल्यांकन गरेर भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल गर्नु न्यायसंगत नरहेको दाबी उनीहरूले गरेका छन् ।

विश्व व्यापार संगठन (डब्लूटीओ) को मर्म र मान्यता, मूल्य अतिरिक्त करको सिद्धान्त र भन्सार विन्दुमा बिलबीजकलाई मान्यता दिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलनविपरीत चिनीको भन्सार मूल्यांकन प्रतिटन ४ सय ६० डलर कायम गरिएकामा उद्योगीले असन्तुष्टि जनाएका हुन् ।

नयाँ भन्सार महसुलका कारण चिनी उद्योग, किसान र आम उपभोक्तालाई समेत कुनै फाइदा नपुग्ने दाबी व्यवसायीको छ । ‘नेपालका पैठारीकर्ताले अब परल मूल्यभन्दा धेरै कममा चिनी बिक्री गर्नुपर्ने स्थिति छ,’ सारडाले भने, ‘यसले गर्दा सयौं आयातकर्ता र व्यवसायी टाट पल्टने र बैंकको लगानी डुब्ने अवस्था उत्पन्न भएको छ ।’

सरकारले चिनीको पैठारीमा परिमाणात्मक बन्देज वा पूर्णत: प्रतिबन्ध लगाए पनि आपत्ति नहुने भन्दै तर खुला बजार र उदार अर्थ व्यवस्थाको मर्म र मान्यताअनुसार आयात गरेको चिनीको भन्सार मूल्यांकन अनावश्यक रूपमा बढाएर भन्सार महसुलमा जरिवानासमेत लिँदा व्यवसाय संकटमा परेको उनीहरूले बताए ।

वृद्धि गरिएको भन्सार महसुल ३० प्रतिशत तिरेर चिनी छुटाउन पैठारीकर्ता बाध्य भएको तर जबर्जस्ती वृद्धि गरिएको भन्सार मूल्यांकन प्रतिटन थप १ सय डलरमा भन्सार छुटाउन सक्ने अवस्था नरहेकाले पैठारी भएको चिनी भन्सारकै गोदाममा थान्को लागेको संघले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?