कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकलाई परेन असर

एजेन्सीहरू

काठमाडौँ — केही महिनायता फेसबुक लगातार गोपनीयता भंग र तथ्यांक दुरुपयोगको विवादमा फस्दै आएको छ । यो विवादले कम्पनीको आम्दानीमा खासै प्रभाव भने परेको छैन ।

फेसबुकलाई परेन असर

संसारका सबैभन्दा धेरै मान्छेलाई जोडेको सामाजिक सञ्जाल फेसबुक आफ्नो स्थापनाको १४ वर्षे इतिहासमै सबैभन्दा धेरै विवादमा पर्‍यो तर गत साता उसले सार्वजनिक गरेको जानकारीअनुसार वित्तीय अवस्थामा यसको कुनै प्रभाव परेको छैन ।

कम्पनीले सार्वजनिक गरेको सन् २०१८ को प्रथम त्रैमासिक विवरणअनुसार उसको नाफामा ६३ प्रतिशतले वृद्धि भएको छ र आम्दानी ४९ प्रतिशतले बढेको छ । फेसबुकको आम्दानीको ९० प्रतिशत हिस्सा मोबाइल विज्ञापनले ओगटेको छ । पछिल्लो समय फेसबुक प्रयोगकर्ता पनि ७ करोड बढेका छन् । मार्चमा मात्रै फेसबुक चलाउने प्रयोगकर्ता २ अर्ब २० करोड रहेको कम्पनीले जनाएको छ । फेसबुकले महिनामा कम्तीमा एक पटक फेसबुक प्रयोग गर्नेहरूलाई सक्रिय प्रयोगकर्ताको रूपमा गणना गरेको छ ।फेसबुकले आफ्नो आम्दानी र नाफा दुवै बढेको सार्वजनिक गरेसँगै उसको सेयरको भाउ ७ प्रतिशतले बढेको छ । यसअघि फेसबुक संस्थापक मार्क जुकरबर्गले अमेरिकी कंग्रेसअगाडि बयान दिने बेलामा फेसबुकको सेयर भाउ ओरालो लागेको थियो ।

अघिल्लो महिना प्रयोगकर्ताको तथ्यांक बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाले चुनावी प्रयोजनको लागि दुरुपयोग गरेको खबर सार्वजनिक भएसँगै फेसबुकको उतारचढाव सुरु भएको थियो । समाचारअनुसार अधिकांश अमेरिकी मतदाताको फेसबुक प्रोफाइलमा रहेको जानकारीका आधारमा चुनावी प्रचार गरिएको थियो र यसले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई विजयी बनाउन सघाएको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसकेको भन्दै अमेरिकी कंग्रेसले जुकरबर्गलाई बयानका लागि बोलाएको थियो । बयानका क्रममा जुकरबर्गले आफ्नो कम्पनीले प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसकेको विषयमा माफी माग्दै आगामी दिनमा यसलाई कडाइ गर्ने बताएका थिए ।

फेसबुकमा राखिएको जानकारी राजनीतिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने जानकारीको खुलासा भएसँगै सोसल मिडियामा डिलिट फेसबुक नामक अभियान नै चलेको थियो । यस्ता नकारात्मक अभियानले फेसबुकको प्रयोगकर्ता र उसको आम्दानीमा कमी आउने आकलन गरिएको थियो तर फेसबुकले भर्खरै सार्वजनिक गरेको तथ्यांकले यो अनुमानलाई गलत सावित गरेको छ ।

यो त्रैमासिकमा कमाएको नाफाले मात्रै फेसबुकलाई सहज हुने छैन । उसले अर्को महिनादेखि युरोपमा लागू भएको नयाँ गोपनीयतासम्बन्धी कानुनको सामना गर्नुपर्नेछ । कानुनअनुसार प्रविधि कम्पनीहरूले प्रयोगकर्ताको तथ्यांक संकलन गर्नुअघि उनीहरूको सहमति लिनुपर्नेछ । फेसबुक आफैंले पनि ईयूको नयाँ नियमका कारण युरोपमा आफ्ना प्रयोगकर्ता घट्ने आकलन गरेको छ ।

बेलायतले सन् २०१९ मा हुने आफ्नो आम निर्वाचनमा फेसबुकले पार्न सक्ने सम्भावित भूमिकाबारे पनि तयारी सुरु गरेको छ । बेलायती संसद्ले यसका लागि फेसबुकका प्रमुख प्राविधिक र जुकरबर्ग दुवैलाई बयानका लागि बोलाउने तयारी गरेको छ । फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइक स्क्रोफरले बेलायती संसद्लाई आफ्नो नेटवर्कले वैधानिक विज्ञापनलाई मात्रै मान्यता दिने प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

प्रकाशित : वैशाख १६, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?