अन्न उत्पादनको क्षेत्रफल घट्दो

क्षेत्रफल घटे पनि उत्पादन पर्याप्त छ : कृषि प्रवक्ता
अनुकूल वातावरण छैन : अर्थविद् आचार्य
राजु चौधरी

काठमाडौँ — अन्नबाली उत्पादनको क्षेत्रफल ८९ हजार हेक्टरले घट्ने देखिएको छ । खेतीयोग्य जमिन प्लटिङसँगै किसान अन्य बालीतर्फ आकार्षित भएपछि अन्नबालीको क्षेत्रफल घट्ने अनुमान कृषि मन्त्रालयले गरेको हो । मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा अन्नबालीको क्षेत्रफल ८९ हजार ३ सय ३१ हेक्टर घट्नेछ ।

‘आर्थिक वर्ष २०७३/७४ मा ३५ लाख १८ हजार ३ सय १७ हेक्टर खेती भएको अन्नबाली २०७४/७५मा ३४ लाख २८ हजार ९ सय ८६ हेक्टर छ,’ मन्त्रालयको तथ्यांकमा छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीका अनुसार किसानहरू फलफूल तरकारी, चिया, कफी, अलैंचीलगायत खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा अन्नबालीको क्षेत्रफल घटेको हो । ‘तरकारी जतिको फाइदा धान र मकैमा हुँदैन । तरकारी, फलफूल लगायतमा बढी फाइदा हुन्छ,’ उनले भने, ‘जसले गर्दा किसानहरू त्यतातिर गइरहेका छन् ।’

अन्नबालीको क्षेत्रफल घटे पनि उत्पादनमा ह्रास नहुने उनले दाबी गरे । मन्त्रालयले राखेको लक्ष्यअनुसार अन्नबाली उत्पादन हुने उनले बताए । ‘सरकारले उन्नत जातको मल, बीउ, सिँचाइ प्रविधिलगायत सुविधा बढाएको छ,’ उनले भने, ‘क्षेत्रफल घटयो भन्दैमा बर्बाद हुन्छ भन्ने छैन ।’ मन्त्रालयका अनुसार २०७२/७३ मा ८६ लाख १४ हजार २ सय ८३ टन उत्पादन भएको थियो । २०७३/७४ मा ९७ लाख ७१ हजार ७ सय ६५ टन उत्पादन भएको छ । २०७४/७५ मा १ करोड ९ हजार ३ सय ८५ टन उत्पादन हुने अनुमान गरेको छ । तथ्यांकअनुसार २०७२/७३ मा १३ लाख ६२ हजार ९ सय ८ हेक्टरमा धान खेती भएको थियो । २०७३/७४ मा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर र २०७४/७५ मा घटेर १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा खेती भएको मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुुसार २०७२/७३ मा ४२ लाख ९९ हजार ७९ टन उत्पादन भएको थियो । २०७३/७४ मा बढेर ५२ लाख ३० हजार ३ सय २७ टन उत्पादन भएको छ । तर, २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५ टन उत्पादन हुने अनुमान गरेको छ । अर्थविद् केशव आचार्यले जग्गाको भाउ बढ्दा किसानहरू खेती गर्न छाडेको बताए । जमिन व्यवस्थित गर्न भूउपयोगको ऐन लागू गर्नुपर्ने बताए । कृषि व्यापारिक, औद्योगिक, वन, पार्कलगायत कडाइको साथ पालना गर्नुपर्ने बताए ।

‘भूउपयोग नीतिको मस्यौदा भूमि सुधार मन्त्रालयमा छ,’ उनले भने, ‘ऐन कार्यान्वयन हुँदा जमिन व्यवस्थित, सहरीकरण पनि व्यवस्थित हुन्छ ।’ मन्त्रालयको तथ्यांकअनुसार मकैको क्षेत्रफल र उत्पादन भने बढेको छ । २०७३/७४ मा ९ लाख २४ हजार ३ सय २१ हेक्टर खेती भएको मकै २०७४/७५ मा ९ लाख ५४ हजार १ सय ५८ हेक्टरमा खेती भएको छ । यस्तै उत्पादन २३ लाख ३६ हजार ६ सय ७५ टनबाट २५ लाख ५५ हजार ८ सय ४७ टन हुने अनुमान छ । मकैको आयात पनि अस्वाभाविक रूपमा बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा ६ अर्ब ९५ करोड १२ लाख रुपैयाँको मकै आयात भएको छ । ब्राजिल, अर्जेन्टिनालगायतबाट आयात भएको छ । प्रवक्ता कार्कीले मकै कुखुराको दानामा प्रयोग भएको बताए । ‘मकै दानाका लागि प्रयोगमा आएको छ,’ उनले भने ।

कोदोको क्षेत्रफल पनि घटेको छ । २०७३/७४ मा २ लाख ६३ हजार ५ सय ९६ हेक्टरमा खेती भएको कोदो २०७४/७५ मा २ लाख ६३ हजार ४ सय ९७ हेक्टर खेती भएको अनुमान छ । फापरको खेती पनि घट्ने अनुमा छ । ११ हजार ७० हेक्टर खेती भएको फापर १० हजार २ सय ९६ हेक्टरमा खेती भएको मन्त्रालयले जनाएको छ । उत्पादन पनि घट्ने अनुमान गरिएको छ । २०७३/७४मा १२ हजार १७ टन उत्पादन भएको फापर चालु आर्थिक वर्षमा ११ हजार ४ सय ७२ टन उत्पादन हुने मन्त्रालयको अनुमान छ । गहुँको क्षेत्रफल पनि घटेको छ । २०७३/७४ मा ७ लाख ४० हजार १ सय ५० हेक्टर खेती भएको गहुँ चालु आर्थिक वर्षमा ७ लाख ६ हजार ८ सय ४३ हेक्टर मात्रै हुने अनुमान छ ।

अर्थविद् आर्चायले पूर्वाधार, सडक, बिजुली, गाडी चल्न थालेपछि जग्गा उत्पादकको साधन हुन नसकेको बताए । ‘आधुनिकीकरण भएपछि कामै नलाग्ने जग्गा पनि लाखौं रुपैयाँमा बिक्री भएको छ । किसानलाई जमिनमा उत्पादन गर्नुभन्दा बेचेर फाइदा हुने भयो,’ उनले भने । कृषि क्षेत्रमा काम गर्ने किसान नहुँदा अधिकांश जग्गााहरू बाँझो रहेको उनले बताए । खेती गर्ने मान्छे पाए पनि महँगो भएको उनको दाबी छ । ‘भुइँचालोपश्चात् पुनर्निर्माणले ज्यामीको भाउ बढाइदिएको छ,’ उनले भने, ‘त्यसैले खेती आर्थिक रूपमा काम गर्ने क्षेत्र भएन ।’

प्रकाशित : वैशाख १७, २०७५ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

निगमको उडानप्रति मन्त्रीलाई विश्वास छैन

‘निगमको उडान यति बजे हुन्छ भन्ने नै भएन । उड्न खोज्दा मैले नि पत्तो पाउन्न ।’
सुरज कुँवर

काठमाडौँ — हवाई यात्रासँग सरोकार राख्ने प्रायलाई कुन एयरलाइन्सको, कुन गन्तव्यमा, कति बजे फ्लाइट हुन्छ ? भन्नेबारे जानकारी हुन्छ । त्यसैअनुसार सर्वसाधारणले आफ्ना निजी कार्यक्रमलाई उडान तालिकासँग जोडिरहेका हुन्छन् ।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका उडान कुन गन्तव्यमा कति बजे हुन्छ ? भन्नेबारे बारम्बर यात्रा गरिरहने यात्रुलाई सोधियो भने यकिन उत्तर पाउन मुस्किल छ । उनीहरू भन्छन्, ‘नेपाल एयरलाइन्सको भर नै हुँदैन ।’

यस ध्वजावाहक एयरलाइन्सको तालुक निकाय पर्यटन मन्त्रालयमा पुगिहाल्नुभयो भने त्यहाँबाट पनि ठयाक्कै उत्तर पाइने ग्यारेन्टी छैन । हुँदाहुँदा यसबारे पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि अलमलमै रहेछन् । उनले पनि निगमको वायुयान कुन समयमा कताका लागि उडान भर्छ भनेर ठयाक्कै भन्न सकिने अवस्थामा आफू नरहेको बताए । बिहीबार मन्त्रालयमा आयोजित एउटा समीक्षा बैठकमा मन्त्री अधिकारीले सुनाए, ‘निगमको उडान यति बजे हुन्छ भन्ने नै भएन,’ आफूले धेरैपटक निगमको जहाजमा उड्न खोज्दा पनि उड्न नपाएको अनुभव सुनाउँदै मन्त्रीले भने, ‘उड्न खोज्दा मैले पनि पत्तो पाउन्न ।’

मन्त्रीले निगमको विमानमा उड््न चाहने मन्त्री मात्रै होइन सर्वसाधारणले पनि टिकट पाउन पनि मुस्किल हुने गरेको अनुभव बाँडे । ‘टिकट पाइँदैन । मुड चले विमान उड्छ । नचले उड्दैदन । जहाज उड््ने बेलामा मात्रै खाली सिट देखिन्छ । यो कस्तो दादागिरी हो ?’ मन्त्रीले प्रश्न गरे । उनले निगमका सबै गन्तव्यको टिकट सरल तरिकाले सबैतिर उपलब्ध हुनुपर्ने बताए । ‘टिकट पूरै अनलाइनमा उपलब्ध हुनुपर्‍यो, डेबिट/क्रेडिट कार्डबाहकलाई मात्रै उपलब्ध हुनु सिन्डिकेट हो । सबैले पाउने गरी सरल बनाउनुहोस््,’ मन्त्रालयको सभा हलमा आयोजित कार्यक्रममा सहभागी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मन्त्रीले भने ।

अहिले नेपाली पेमेन्ट गेटवेका रूपमा चलेका ई–सेवा, खल्तीलगायतका एपबाट आन्तरिक उडानका टिकट उपभोक्ताले सोझै खरिद गर्न सक्छन् । निगमका टिकट यी सेवाबाट उपलब्ध छैनन् ।

निगमसँग आन्तरिक रुटका लागि आठवटा वायुयान छन् । निगमले २३ हाराहारी आन्तरिक रुटमा उडान भर्ने तालिका राखेको छ । सबै रुटमा नियमित छैन । अहिले चारवटा वाई १२ ई उडानमा छैनन् । पछिल्लापटक अन्तर्राष्ट्रिय उडानको तुलनामा डोमेस्टिक रुटमा अत्यधिक भद्रगोल रहेको औल्याउँदै मन्त्रीले डोमेस्टिकमै केन्द्रित नायब महाप्रबन्धकसरहको व्यक्ति खटाउन निर्देशन दिएका छन् । ती व्यक्तिले आन्तरिक उडान सुधारमै केन्द्रित भई महाप्रबन्धकलाई सोझै रिपोर्टिङ गर्ने अधिकार दिइनुपर्ने भनिएको छ ।

मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय उडानमा भत्ताको लोभका लागि ढिलाइ गर्ने पाइलटलाई जिम्मेवार बनाउन महाप्रबन्धक कंसाकारलाई भनेका छन् । निगमका केही पाइलटले मलेसिया, हङकङ, दोहा, बैंककलगायतका अन्तर्राष्ट्रिय गन्तव्यका लागि हुने उडानमा दिनको ८५ डलरसम्मका दरले भत्ता पाउँछन् । कतिपयले दुई दिनको भत्ता पाइने लोभमा राति १२ बज्नुभन्दा केही मिनेट अगाडि जहाज काठमाडौंबाट उडाउने वा १२ बजेपछि मात्रै काठमाडौं अवतरण गर्ने गरी फर्किने गरेका थिए । दिनका हिसाबले एकैदिनमा हुने उडान राति १२ बजेअघि र पछि भइदिँदा निगमले चालक, एयरहोस्टेस, इन्जिनियर, फ्लाइट डिस्प्याचरलगायतलाई दुई दिनको दरले डलरमा भत्ता दिनुपथ्र्यो ।

यस्तो प्रवृत्ति अत्यधिक देखिएपछि निगमले एक वर्षयता राति १२ बजेको सयम सीमालाई २ बजे तोकेको छ । अर्थात् २ बजेभित्र जहाज काठमाडौंमा अवतरण भइसक्नुपर्छ । ‘१२ बजेको समय सीमालाई २ पुर्‍याएपछि अहिले भत्ताकै लागि ढिलाइ गर्ने परम्परा घटेको छ,’ निगमको एयरबसका एक पाइलटले भने, ‘केही क्याप्टेन साथीहरूले दुई दिनको भत्ता थाप्न अलमल गर्ने गर्थे । तर, अहिले समय सीमा २ बजे तोकिएपछि घटिसकेको छ ।’ तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अर्थात् राति ३ बजेसम्म सञ्चालनमा ल्याइँदा फेरि भत्ताकै लागि निगमको विमान राति २ बजेपछि मात्रै अवतरण हुन सक्ने सम्भावना रहेको निगमका एक निर्देशकले औंल्याए ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फका जहाज उडाउने पाइलटले एक घण्टाअघि ककपिटमा पुगिसक्नुपर्छ । तर, कतिपय पाइलट अन्तिम ५/१० मिनेटमा मात्रै ककपिटमा पुग्ने गरेकामा मन्त्रीले आपत्ति व्यक्त गरे । ‘जहाजमा एक घण्टा ढिलो जाने पाइलट को–को छन्, मार्क गर्नुहोला । आवश्यक परे म पनि हेर्छु,’ मन्त्री अधिकारीले महाप्रबन्धक कंसाकारलाई भने । सामान्यत क्याप्टेनले एक घण्टाअघि पुगेर जहाजको प्राविधिकलगायतका अवस्था, लगबुक, म्यानुअल, कागजात आदि हेर्नुपर्छ ।

मन्त्री अधिकारीले समयको पालनाको नियमले मात्रै निगमको शाखामा धेरै सुधार आउने बताउँदै यसअघिका मन्त्रीहरूले जस्तै समयमा जहाज उडाउन निर्देशन दिएका छन् । उनले आगामी दिनमा आफू निगमको रुट पर्ने गन्तव्यमा निगमकै जहाज चढेर जाने प्रतिबद्धता जनाउँदै व्यवस्थापनलाई अनावश्यक प्रेसर पनि नदिने बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीका विषेश कार्यक्रमबाहेक तालिका बिग्रिने गरी तपाईलाई प्रेसर गर्दै गर्दिनँ,’ मन्त्रीले भने, ‘आगमी दिनमा आन्तरिक रुटका टिकट २/३ महिनाअघि नै निष्कासन गर्नुहोस् । पाइलट जसरी पनि ल्याएर जहाज उडाउनुहोस् ।

प्रकाशित : वैशाख १७, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT