तरकारी कृषक घट्दै, व्यापारी बढ्दै
कास्की — हेम्जाका केशव त्रिपाठी हरेक दिन विहानै शान्तिवनस्थित तरकारी तथा फलफूलको थोक बजारस्थल पुग्छन् । दिनदिनै संकलन हुने तरकारी लिएर भ्यानसँगै बजार आइपुग्ने उनी आफैँ किसान पनि हुन् ।
‘५ रोपनी जग्गा भाडामा लिएर खेती गरेको छु,’ उनी भन्छन्, ‘तरकारी खेतीभन्दा व्यापारमा फाइदा छ ।’ उनी जसरी नै थोकबजारमा आइपुग्ने अरु पनि छन् । मण्डीमा आइपुग्ने मालेपाटनकी देवी केसी भन्छिन्, ‘पैसा कमाउन सजिलो छैन, विहानै आँखा मिच्दै निस्कनुपर्छ ।’ खेती गर्नेका तुलनामा तरकारीको थोक र खुद्रा व्यापार गर्नेलाई फाइदा भएको देखेको उनले बताइन् ।
उनले २ रोपनी जमिन भाडामा लिएर मौसमी र बेमौसमी तरकारी फलाउँछिन् । कृषि उपज बजार समितिले स्थानीयस्तरमा उत्पादन भइ बेच्न ल्याइने तरकारीका लागि छुट्टै ठाउँ तोकिदिएको छ । धेरै किसान बजारसम्म आइपुग्दैनन् । गाउँ गाउँमा व्यक्ति र सहकारीमार्फत कृषि उपज संकलन भएपछि बजारमा ल्याइन्छ । यहाँबाट खुद्रा व्यवसायीले खरिद गरेर लैजान्छन् । पसल थापेर व्यवसाय गर्नेसँगै तरकारी साइकल र डोकोमा राखेर डुल्दै बेच्नेको संख्या बढिरहेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार महानगर क्षेत्रभित्र मात्रै आफैँ व्यवसाय गर्ने तरकारी किसानको संख्या १ हजार ५ सय हाराहारी छ । कृषि कार्यालय प्रमुख लोकेन्द्र बोहराले ठूलो क्षेत्रमा खेती गर्नेको संख्या बढ्दो रहेको बताउँछन् । उनका अनुसार कास्कीमा ५ हजार ५ सय हेक्टर जग्गामा हुने खेतीबाट वार्षिक ५५ हजार टन उत्पादन छ । ‘महानगरको मागका तुलनामा यो ४० प्रतिशतमात्रै हो, ६० प्रतिशत तरकारी विभिन्न जिल्लाबाट भित्रिन्छ,’ उनले भने, ‘तरकारीका किसानभन्दा व्यवसायी बढिरहेका छन् ।’
प्रकाशित : वैशाख १७, २०७५ १९:११