कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तस्करीले राजस्व प्रभावित

भरत जर्घामगर

सिरहा — खुला सीमाका कारण भन्सार नतिरी तस्करहरूले चोर बाटोबाट मालसामान भित्र्याउन थालेपछि भन्सार असुली प्रभावित भएको छ ।

तस्करीले राजस्व प्रभावित

माडरको खैरटोकास्थित सिरहा भन्सार कार्यालयको चालु आर्थिक वर्षको राजस्व लक्ष्य १५ करोड ७८ लाख रुपैयाँ छ । तर, कार्यालयले चैत मसान्तसम्म ६ करोड २५ लाख ८७ हजार मात्र भन्सार असुली गर्न सकेको छ । कार्यालयको तथ्यांकअनुसार लक्ष्यको अनुपातमा ४० प्रतिशत मात्र राजस्व असुली भएको हो । यो असुलीदर न्यून हो ।

असुली राजस्वमध्ये अधिकांश राजस्व भन्सार र नेपाल प्रहरीको गस्ती टोलीले बरामद गरेको मालसमानका लिलामीबाट उठेको हो । भारतको मुख्य बजारसँग जोडिएको सीमा नाका भए पनि लक्ष्यअनुसारको भन्सार असुली हुन नसकेपछि सिरहा भन्सारको राजस्व सम्बन्धित निकायहरूले जसोतसो उठाउँदै आएका छन् ।

सिरहा भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड ३४ लाख भन्सार असुली गर्नुपर्ने लक्ष्य थियो । तर, उक्त अवधिमा ६ करोड २५ लाख ८७ हजार मात्र भन्सार असुली भएको छ । विगतका छोटी भन्सार कार्यालयहरू झाँझपट्टी र औरही अहिले अस्तित्वमा नआए पनि त्यहाँ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) कार्यालय छ । माडर, ठाडी र बरियारपट्टीमा भन्सार कार्यालयका कर्मचारीहरू उपलब्ध भए पनि त्यहाँबाट भन्सार नतिरी तस्करहरूले झाँझपट्टी, औरही, लगाडिगढियानीलगायत सीमावर्ती नाकाबाट चोर बाटो अपनाई मालसमान भित्र्याउने गरेको पाइएको छ ।

‘यहाँ भन्सार काटेरभन्दा पनि चोर बाटो अपनाएर नै मालसमान भित्र्याउन व्यापारीहरू पल्किएका रहेछन्,’ सिरहा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भने, ‘सोही कारण दिनरात गरेर त्यस्ता सामानहरू पक्रिएकोपक्रियै छौं ।’ उनका अनुसार भन्सार कार्यालयमा संकलित राजस्वको ठूलो हिस्सा गस्तीको क्रममा तस्करीका सामान बरामद गरी लिलामी गर्दा उठेको राजस्व मात्र हो । जबसम्म यथेष्ट कर्मचारी र छुट्टै राजस्व प्रहरी दिइँदैन, तबसम्म यहाँको भन्सार असुलीमा प्रगति हुन कठिन रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले भारतबाट आयात हुने भन्सार छलीका समानदेखि तेस्रो मुलुकबाट आयातित मालसमानहरू भारतसम्म पुर्‍याउने गिरोह नै सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता गिरोहको पहिचान गरी चोरी पैठारी तथा निकासीमा कडाइ अपनाइएको जानकारी दिए । ‘शान्ति सुरक्षाको नाजुक अवस्थाका कारण सिरहाको सम्पूर्ण प्रहरी एकाइहरू त्यसैतर्फ व्यस्त रहेकाले सिरहा प्रहरीले चाहेर पनि भन्सार चोरीतर्फ ध्यान दिन सकेको छैन,’ उनले भने, ‘भन्सार चोरीलाई रोक्न छुट्टै राजस्व प्रहरी तैनाथ गर्नु यहाँ अत्यन्त आवश्यक देखिएको छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नेपाल प्रहरीले तस्करीप्रति देखाएको कडाइका कारण चालु आर्थिक वर्षमा मात्र १ करोड ५८ लाख ७९ हजार ७ सय ९५ रुपैयाँ बराबरको १९ थान सवारी साधन तथा विभिन्न किसिमका मालसमान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रतिबन्धित कुखुरा तस्करी बढी
खुला सीमाका कारण सबैभन्दा बढी सिरहाका विभिन्न नाकाबाट भारतबाट प्रतिबन्धित कुखुरा तस्करी बढदो छ । शनिबार राति प्रहरीले सीमावर्ती बरियारपटीस्थित दरहियाबाट स१च १३५७ नम्बरको पिकअप भ्यानसहित भारतबाट अवैध रूपमा ल्याउँदै गरेको प्रतिबन्धित ४ सय १० थान कुखुरा बरामद गर्‍यो । जिल्ला प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रहरीले भारतीय नाकाबाट तस्करी गरेका १ करोड ७ लाख १२ हजार ८ सय रुपैयाँ बराबरको कुखुरा बरामद गरी राजस्व असुली गरेको छ । कुखुरा पछि सबैभन्दा बढी सुनचाँदी, फलफूल, कपडा र किरानाका सामान बरामद भएका छन् ।

प्रकाशित : वैशाख १८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?