२१ घण्टा विमानस्थल सञ्चालन असम्भव

काठमाडौं विमानस्थलले अहिले नै क्षमताभन्दा बढी उडान व्यवस्थापन गरिरहेको छ
सुरज कुँवर

काठमाडौँ — जमिनमा बसेर नियन्त्रण बाहिरको आकाशमा उड्ने विमानहरूलाई टकरावबाट रोक्नेलगायतका सेवा प्रवाह गर्ने एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले हवाई सुरक्षाका दृष्टिले काठमाडौं विमानस्थल २१ घण्टा सञ्चालन गर्न ‘नसकिने’ जनाएको छ ।

एटीसीहरूको साझा संस्था नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (नाट्का) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २१ घण्टा विमानस्थल सञ्चालन गर्ने निर्णय ‘स्वागतयोग्य तर ठोस व्यवस्था र व्यवस्थित अध्ययनबिना यथास्थितिमा गरिए प्रत्युत्पादक हुन सक्ने’ चेतावनी दिएको छ ।

अहिले काठमाडौं विमानस्थलले क्षमताभन्दा दोब्बर संख्यामा वायुयान व्यवस्थापन गर्दै आएको छ । यहाँ उपकरण हेरेर हुने आईएफआर उडान प्रतिघण्टा १२ वटा र आँखाले हेरेर हुने भीएफआर उडान प्रतिघण्टा २४ मात्रै हो । तर, भीएफआर उडान ४५ हाराहारीसम्म हुने गरेका छन् ।

नाट्का अध्यक्ष उमेशकुमार पन्थीले बेलाबेला पिच उप्किरहने एक मात्र रनवे, समयसमयमा प्राविधिक गडबडी भइरहने संवेदनशील सञ्चार उपकरण (भीएचएफ/भीसीसीएस) प्रणालीको विश्वसनीयता नहुनु, एटीसी अभावलगायत कारण देखाउँदै तत्काल अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म सञ्चालन गर्न नसकिने जिकिर गरेका छन् । ‘एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको विश्वसनीयता नै छैन । बेलाबेला पिच उप्किरहने समस्या छ,’ अध्यक्ष पन्थीले कान्तिपुरसँग भने, ‘अहिलेकै पूर्वाधार, व्यवस्थापनमा २१ घण्टासम्म विमानस्थल सञ्चालन गर्न कठिनाइ छ ।’ यदि अहिले १८ घण्टाभित्र भइरहेका उडान थपिएको तीन घण्टा (मध्यरात) नगएमा पर्यटनमन्त्रीले सयदिने कार्यक्रममार्फत ल्याइएको २१ घण्टा विमानस्थल सञ्चालन गर्ने योजना राज्यका लागि आर्थिक भार मात्रै हुन सक्ने नाट्काले औंल्याएको छ ।




यस विषयमा नाट्काले काठमाडौं विमानस्थल सञ्चालन गर्ने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र पर्यटनमन्त्री अधिकारीलाई सातबुँदे सुझावपत्र पनि दिएको छ । उक्त पत्रअनुसार काठमाडौं विमानस्थलमा एटीसी अभाव पनि मुख्य समस्या रहेको छ । अध्यक्ष पन्थीका अनुसार प्राधिकरणमा २ सय ४० हाराहारी एटीसी काठमाडौंलगायत देशभरका विमानस्थल र हवाई कार्यालयमा कार्यरत छन् । काठमाडौंमा उडान व्यवस्थापन गर्ने तीनवटा टावर छन् । १ सय १८ जना एटीसीको दरबन्दी छ । तर, ६६ जना मात्रै एक्टिभ छन् । यसलाई न्यून जनशक्ति भन्दै नाट्काले ‘अहिले एटीसीहरूले तनाव र थकानमा’ काम गरिरहेको अवस्था रहेको जनाएको छ ।

एटीसी उत्पादन प्रशिक्षण प्रतिष्ठान मात्रैले गर्छ । तीन वर्षयता एटीसी उत्पादन गरिएको छैन । १४ महिने तालिम दिएर एउटा एटीसी उत्पादन हुँदा राज्यको कम्तीमा १० लाख रुपैयाँ लगानी पर्छ । एउटा एटीसी उत्पादन भएपछि उसले सामान्य उपकरण भएको दुर्गमको विमानस्थलदेखि अन्तर्राष्ट्रिय उडान हुने काठमाडौं विमानस्थलको टावर हयान्डल गर्ने अवस्थामा आइपुग्न १२ वर्षसम्म लगाउने गरेको छ । यसलाई उड्डयन भाषामा फुल रेटिङ भनिन्छ ।

बिनारेटिङको एटीसीले तीन प्रकारका टावर रहेको काठमाडौं जस्तो विमानस्थलमा सेवा दिन अक्षम हुन्छ ।

एटीसी पेसालाई विशेष प्रकृतिको सेवा मानिन्छ । नाटकाले पछिल्लो समय यो पेसाबाट भइरहेको पलायन रोक्न मन्त्रीलाई अनुरोध गर्दै रात्रि समयमा काम गर्नेहरूलाई ३ प्रतिशतसम्म ओभरटाइम भत्ता दिनुपर्नेलगायत माग बुझाएको छ । त्यसैगरी तलब १ सय १७ र भत्ता १ सय ६७ प्रतिशत वृद्धि भए पनि एटीसीले थप पाउने ‘रेटिङ र लाइसेन्सिङ’ भत्ता १० वर्षयता नबढेकाले बढाउनुपर्ने उनीहरूको माग छ ।

अधिकांश एटीसी टावरमा आकर्षण नभएको कारण देखाउँदै पूरा कार्यकाल बस्न चाहँदैनन् । प्राधिकरणको नियमावलीले १० वर्ष काम गर्नुपर्ने भनेको छ । तर, कतिपय १० वर्ष नपुगेरै अन्य सेवासमूहतर्फ जाने गरेको एक एटीसीले बताए । ‘अहिले पनि २ सय ४० एटीसीमध्ये कम्तीमा १० प्रतिशत एटीसी पहँुच, भनसुन, नाता–कृपावादकै कारण टावरमा बस्न नचाहेर प्राधिकरणका विभिन्न आकर्षक निकायमा कार्यरत देखिन्छन्,’ ती एटीसीले नाम नछाप्ने सर्तमा भने । उनका अनुसार आफ्नो विषयभन्दा अन्यत्र कार्यरत एटीसीलाई तानिए काठमाडौं विमानस्थलमा एटीसी अभाव भइहाल्ने छैन । तर, यसरी तानिएका एटीसीलाई कम्तीमा ३ देखि ६ महिनाको थप तालिम दिनुपर्ने हुन्छ ।

‘मन्त्रीको अभियानमा हाम्रो समर्थन छ तर प्राधिकरणले कम्तीमा ९० जना एटीसी उपलब्ध गराए २१ घण्टा विमानस्थल चलाउन सकिएला,’ नाट्काका एक पदाधिकारीले भने । हवाई सुरक्षाका लागि एटीसीले ‘हाइली अलर्ट’ अवस्थामा पाइलटहरूलाई सेवा दिनुपर्छ । नियमअनुसार एटीसीले एक सिफ्टमा ६ घण्टा काम गर्नुपर्छ । तर, जनशक्ति अभाव भएको अवस्थामा बढीमा १० घण्टादेखि अत्यन्त संवेदनशील परिस्थतिमा १२ घण्टासम्म काम लगाउन सकिन्छ । अन्तर्राष्ट्रिय मान्यता र नियमले १२ घण्टा काममा लगाउँदा एटीसीलाई आधा–आधा घण्टाको बिराम दिनुपर्ने भनेको छ । तर, असामान्य परिस्थतिमा मात्रै ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ७ लाई क्रिकेट उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट यू–१६ क्रिकेट प्रतियोगिताको प्रथम संस्करणमा प्रदेश ७ च्याम्पियन भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रदेश ३ विरुद्धको फाइनलमा मनोज लोथ्यालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ५ विकेट लिएपछि प्रदेश ७ ले २४ रनको जित दर्ता गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको प्रदेश ७ ले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रनको बलियो स्कोर तयार पारेको थियो । लगातार विकेट गुमाएको प्रदेश ७ का लागि व्यक्तिगत ठूलो स्कोर नबने पनि सबै ब्याट्सम्यानले लगातार रन जोडेका थिए । ओपनरद्वय हृदय बिँडारीले ३३ र राजन सिंहले ६ रन जोड्दा सुवास ऐरले १४ तथा गजेन्द्रसिंह बोहोराले १६ रनको योगदान दिए । राहुल भण्डारीले ३३ बलमा २ चौका र २ छक्का मदतले ३८ रन जोड्दै इनिङ्स सम्हालेका थिए ।

एक समय १५४(७ को स्थितिमा रहेको प्रदेश ७ लाई आठौं विकेटका लागि नटआउट ५४ रनको आक्रामक साझेदारीले ठूलो स्कोरसम्म पुर्‍यायो । आठौं नम्बरका रोशन साउदले नटआउट १८ बलमा १ चौका र २ छक्का मदतले ३७ रन जोडे । नवौं क्रममा ब्याटिङ गर्न एक नरेन्द्र साउदले ११ बलमा २ चौका र १ छक्कासहित नटआउट २० रन बनाए । प्रदेश २ का विवेक यादवले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले उत्कृष्ट सुरुआत लिए पनि मध्यक्रम नचल्दा २० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ८४ रनमात्र जोड्न सक्यो । ओपनर अमित यादवले ६४ बलमा ८० रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । २५ रन बनाएका अर्का ओपनर साहिल पटेलसँग ४१ रनको साझेदारी गरेका उनले तृतराज दाससँग तेस्रो विकेटमा ७३ रनको साझेदारी गरे । तृतराजले २७ रनको योगदान दिए ।

प्रदेश २ जितका लागि ५६ रन टाढा हुँदा चौथो विकेटका रूपमा पेभेलियन फर्किएका अमितपछि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । प्रदेश ७ का मनोजले अमितलाई पेभेलियन फर्काएपछि मध्यक्रम धराशायी पार्न थप ४ विकेट लिए । उनी म्यान अफ द म्याच पनि चुनिए ।

उपाधि जितेको प्रदेश ७ ले २ लाख ५० हजार रुपैयाँ नगदसहित २ लाख ५० हजारबराबरकै खेल सामग्री प्राप्त गर्‍यो । उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद र त्यहीबराबर खेल सामग्री पायो । उत्कृष्ट ब्याट्सम्यान प्रदेश २ का अमित यादव र उत्कृष्ट बलर प्रदेश ७ का नरेन्द्र साउद भए । उनीहरूले जनही ५ हजार प्राप्त गरे । प्लेयर अफ द सिरिज प्रदेश २ का विवेक यादवले १० हजार रुपैयाँ पाए । सातै प्रदेशको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्