२१ घण्टा विमानस्थल सञ्चालन असम्भव

काठमाडौं विमानस्थलले अहिले नै क्षमताभन्दा बढी उडान व्यवस्थापन गरिरहेको छ
सुरज कुँवर

काठमाडौँ — जमिनमा बसेर नियन्त्रण बाहिरको आकाशमा उड्ने विमानहरूलाई टकरावबाट रोक्नेलगायतका सेवा प्रवाह गर्ने एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले हवाई सुरक्षाका दृष्टिले काठमाडौं विमानस्थल २१ घण्टा सञ्चालन गर्न ‘नसकिने’ जनाएको छ ।

एटीसीहरूको साझा संस्था नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (नाट्का) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २१ घण्टा विमानस्थल सञ्चालन गर्ने निर्णय ‘स्वागतयोग्य तर ठोस व्यवस्था र व्यवस्थित अध्ययनबिना यथास्थितिमा गरिए प्रत्युत्पादक हुन सक्ने’ चेतावनी दिएको छ ।

अहिले काठमाडौं विमानस्थलले क्षमताभन्दा दोब्बर संख्यामा वायुयान व्यवस्थापन गर्दै आएको छ । यहाँ उपकरण हेरेर हुने आईएफआर उडान प्रतिघण्टा १२ वटा र आँखाले हेरेर हुने भीएफआर उडान प्रतिघण्टा २४ मात्रै हो । तर, भीएफआर उडान ४५ हाराहारीसम्म हुने गरेका छन् ।

Yamaha

नाट्का अध्यक्ष उमेशकुमार पन्थीले बेलाबेला पिच उप्किरहने एक मात्र रनवे, समयसमयमा प्राविधिक गडबडी भइरहने संवेदनशील सञ्चार उपकरण (भीएचएफ/भीसीसीएस) प्रणालीको विश्वसनीयता नहुनु, एटीसी अभावलगायत कारण देखाउँदै तत्काल अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म सञ्चालन गर्न नसकिने जिकिर गरेका छन् । ‘एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको विश्वसनीयता नै छैन । बेलाबेला पिच उप्किरहने समस्या छ,’ अध्यक्ष पन्थीले कान्तिपुरसँग भने, ‘अहिलेकै पूर्वाधार, व्यवस्थापनमा २१ घण्टासम्म विमानस्थल सञ्चालन गर्न कठिनाइ छ ।’ यदि अहिले १८ घण्टाभित्र भइरहेका उडान थपिएको तीन घण्टा (मध्यरात) नगएमा पर्यटनमन्त्रीले सयदिने कार्यक्रममार्फत ल्याइएको २१ घण्टा विमानस्थल सञ्चालन गर्ने योजना राज्यका लागि आर्थिक भार मात्रै हुन सक्ने नाट्काले औंल्याएको छ ।




यस विषयमा नाट्काले काठमाडौं विमानस्थल सञ्चालन गर्ने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र पर्यटनमन्त्री अधिकारीलाई सातबुँदे सुझावपत्र पनि दिएको छ । उक्त पत्रअनुसार काठमाडौं विमानस्थलमा एटीसी अभाव पनि मुख्य समस्या रहेको छ । अध्यक्ष पन्थीका अनुसार प्राधिकरणमा २ सय ४० हाराहारी एटीसी काठमाडौंलगायत देशभरका विमानस्थल र हवाई कार्यालयमा कार्यरत छन् । काठमाडौंमा उडान व्यवस्थापन गर्ने तीनवटा टावर छन् । १ सय १८ जना एटीसीको दरबन्दी छ । तर, ६६ जना मात्रै एक्टिभ छन् । यसलाई न्यून जनशक्ति भन्दै नाट्काले ‘अहिले एटीसीहरूले तनाव र थकानमा’ काम गरिरहेको अवस्था रहेको जनाएको छ ।

एटीसी उत्पादन प्रशिक्षण प्रतिष्ठान मात्रैले गर्छ । तीन वर्षयता एटीसी उत्पादन गरिएको छैन । १४ महिने तालिम दिएर एउटा एटीसी उत्पादन हुँदा राज्यको कम्तीमा १० लाख रुपैयाँ लगानी पर्छ । एउटा एटीसी उत्पादन भएपछि उसले सामान्य उपकरण भएको दुर्गमको विमानस्थलदेखि अन्तर्राष्ट्रिय उडान हुने काठमाडौं विमानस्थलको टावर हयान्डल गर्ने अवस्थामा आइपुग्न १२ वर्षसम्म लगाउने गरेको छ । यसलाई उड्डयन भाषामा फुल रेटिङ भनिन्छ ।

बिनारेटिङको एटीसीले तीन प्रकारका टावर रहेको काठमाडौं जस्तो विमानस्थलमा सेवा दिन अक्षम हुन्छ ।

एटीसी पेसालाई विशेष प्रकृतिको सेवा मानिन्छ । नाटकाले पछिल्लो समय यो पेसाबाट भइरहेको पलायन रोक्न मन्त्रीलाई अनुरोध गर्दै रात्रि समयमा काम गर्नेहरूलाई ३ प्रतिशतसम्म ओभरटाइम भत्ता दिनुपर्नेलगायत माग बुझाएको छ । त्यसैगरी तलब १ सय १७ र भत्ता १ सय ६७ प्रतिशत वृद्धि भए पनि एटीसीले थप पाउने ‘रेटिङ र लाइसेन्सिङ’ भत्ता १० वर्षयता नबढेकाले बढाउनुपर्ने उनीहरूको माग छ ।

अधिकांश एटीसी टावरमा आकर्षण नभएको कारण देखाउँदै पूरा कार्यकाल बस्न चाहँदैनन् । प्राधिकरणको नियमावलीले १० वर्ष काम गर्नुपर्ने भनेको छ । तर, कतिपय १० वर्ष नपुगेरै अन्य सेवासमूहतर्फ जाने गरेको एक एटीसीले बताए । ‘अहिले पनि २ सय ४० एटीसीमध्ये कम्तीमा १० प्रतिशत एटीसी पहँुच, भनसुन, नाता–कृपावादकै कारण टावरमा बस्न नचाहेर प्राधिकरणका विभिन्न आकर्षक निकायमा कार्यरत देखिन्छन्,’ ती एटीसीले नाम नछाप्ने सर्तमा भने । उनका अनुसार आफ्नो विषयभन्दा अन्यत्र कार्यरत एटीसीलाई तानिए काठमाडौं विमानस्थलमा एटीसी अभाव भइहाल्ने छैन । तर, यसरी तानिएका एटीसीलाई कम्तीमा ३ देखि ६ महिनाको थप तालिम दिनुपर्ने हुन्छ ।

‘मन्त्रीको अभियानमा हाम्रो समर्थन छ तर प्राधिकरणले कम्तीमा ९० जना एटीसी उपलब्ध गराए २१ घण्टा विमानस्थल चलाउन सकिएला,’ नाट्काका एक पदाधिकारीले भने । हवाई सुरक्षाका लागि एटीसीले ‘हाइली अलर्ट’ अवस्थामा पाइलटहरूलाई सेवा दिनुपर्छ । नियमअनुसार एटीसीले एक सिफ्टमा ६ घण्टा काम गर्नुपर्छ । तर, जनशक्ति अभाव भएको अवस्थामा बढीमा १० घण्टादेखि अत्यन्त संवेदनशील परिस्थतिमा १२ घण्टासम्म काम लगाउन सकिन्छ । अन्तर्राष्ट्रिय मान्यता र नियमले १२ घण्टा काममा लगाउँदा एटीसीलाई आधा–आधा घण्टाको बिराम दिनुपर्ने भनेको छ । तर, असामान्य परिस्थतिमा मात्रै ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

त्रिभुवन विमानस्थल अब २१ घण्टा

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको बताए ।
हवाई ट्राफिक चापका कारण परेको समस्यालाई न्य्ूनीकरण गर्न एक महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सयदिने कार्यक्रममार्फत निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो । ‘यसअघि विमानस्थल साढे १८ घण्टाभन्दा बढी नियमित सञ्चालनमा कहिल्यै ल्याइएको थिएन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘भूकम्प, टर्किस र मालिन्दो विमान दुर्घटनाका बेला बाध्यताले निश्चित समयका लागि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो, तर नियमित थिएन ।’ गौतमका अनुसार जहाज अवतरण तथा उडान भर्ने दुइटा मात्रै प्रवेश विन्दु भएको एकमात्र धावनमार्ग भएका कारण सञ्चार तथा उड्डयन उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले चौबिसै घण्टा सञ्चालन गर्न सकिँदैन ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ४ सय हाराहारी उडान/अवतरण हुन्छन् । सबैभन्दा धेरै गत वर्षको वैशाख ३ गते ४ सय ७४ वटासम्म भएको थियो । पर्यटकीय सिजन, प्रतिकूल मौसम र विमानस्थलमा देखापर्ने समस्याका कारण खासगरी ठूला विमानले एक घण्टासम्म पनि आकाशमै फन्को लगाउनु (होल्ड गर्नु) पर्ने बाध्यता छ । कतिपय विदेशी विमान अवतरण गर्ने अनुमति नपाउँदा भारतको लखनउ, पटना, दिल्ली र बंगलादेशको ढाकासम्म फर्किन बाध्य भइरहन्छन् ।

पर्यटनमन्त्री अधिकारीले २१ घण्टासम्म विमानस्थल सञ्चालनमा ल्याउँदा अहिलेको चाप व्यवस्थापन हुनुका साथै जहाज ‘होल्ड’ गर्नुपर्ने समस्या घट्ने बताएका छन् । विमानस्थल २१ घण्टासम्म सञ्चालनमा ल्याउँदा गृह मन्त्रालय मातहतका सबै सुरक्षा निकाय, अध्यागमन, अर्थ मन्त्रालय मातहतका भन्सार, कृषि मातहतका क्वारेन्टाइनलगायत सरकारी निकायका कर्मचारी पनि २१ घण्टासम्म खटाइने छन् । हाल विमानस्थलमा निजी र सरकारी गरी करिब ८० निकाय काम गर्छन् ।
विमानस्थलमा अत्यधिक उडान चाप हुने समय बिहान १० देखि बेलुकी ५ र राति ८ देखि ११ बजेसम्म हो । अत्यधिक चापका बेला एउटा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रतिघण्टा ४६.६ वटा विमान ‘ह्यान्डल’ गरेको रेकर्ड छ । प्राधिकरणका अनुसार अहिले काठमाडौंसहित देशभरका करिब ३० वटा ‘एक्टिभ’ विमानस्थलमा २ सय ५० हाराहारी ‘एटीसी’ कार्यरत छन् । यीमध्ये काठमाडौं विमानस्थलका तीन वटा टावरका लागि ६७ जना एटीसी रहेको क्षत्रीले बताए । ‘२१ घण्टा सञ्चालनमा आएपछि हामीलाई ८५ देखि ९० जना एटीसी आवश्यक हुन्छन्,’ उनले भने ।

प्रकाशित : वैशाख १३, २०७५ २१:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT