२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उदाहरणीय उद्यमी

धनीका कुरा

काठमाडौँ — एजेन्सीसंसारभर नै व्यापार नाफाका लागि गरिन्छ । तर, केही व्यापार र व्यवसाय यस्ता हुन्छन्, जसले संसारलाई नयाँ दिशातर्फ डोर्‍याउन सघाउँछ, यसले नयाँ विकल्पको खोजी गरिदिन्छ । मानिसको आँखा खोलिदिन्छ र संसारभरका देशलाई सोहीअनुसारको नीति निर्माण गर्न बाध्य बनाउँछ ।

उदाहरणीय उद्यमी

नाफाका लागि मात्रै व्यवसाय नगर्ने संसारका थोरै उद्यमीमध्ये एक हुन्, एलन मस्क । उनले गरेका व्यापार र उद्यमको सूची हेर्ने हो भने कुनै पनि परम्परागत खालका लाग्दैनन्, बरु उनले सुरु गरेका हरेक व्यवसाय अरूका लागि आश्चर्य र मार्गदर्शक बन्ने गरेका छन् । अनलाइन पेमेन्ट सिस्टम पेपाल होस् वा स्पेसएक्स वा विद्युतीय कार निर्माणमा क्रान्ति ल्याएको टेस्ला नै किन नहोस् । एलन मस्कले कसैले नसोचेको व्यवसायमा हात हाल्छन् र त्यसलाई सम्भावनाको ठूलो क्षेत्र भएको पुष्टि गर्छन् ।

अमेरिकी व्यवसायी हुन् मस्क । उनको जन्म भने दक्षिण अफ्रिकामा सन् १९७१ मा भएको थियो । उनी विशेषत: सन् १९९९ मा स्थापित एक्हडटकम, जुन पछि गएर अनलाइन पेमेन्ट सेवा पेपाल बन्यो । उनी त्यसैका संस्थापकका रूपमा चिनिन्थे । तर, पछिल्लो समय उनको परिचय केही बदलिएको छ । उनले सन् २००२ मा स्थापना गरेको स्पेस एक्स र सन् २००३ मा स्थापना गरेको टेस्ला मोटर्सले उनलाई चर्चामा ल्याइरहन्छ । अनलाइन सेवा दिने कम्पनी जिपटु सन् १९९९ मा कम्प्याक्ट कम्युटर बिक्री गरेपछि मस्क २८ वर्षकै उमेरमा अर्बपति बनेका थिए ।

त्यसयता उनी अर्बपतिको सूचीबाट हटेका त छैनन् तर बेलाबेला टाट पल्टिने अवस्थामा पुग्छन्, नयाँनयाँ व्यवसाय गर्ने आफ्नो सोचका कारण । उनले स्थापना गरेको कम्पनी स्पेस एक्सले पहिलो व्यावसायिक परीक्षणका रूपमा अन्तरिक्ष स्टेसनमा सफलतापूर्वक रकेट पठाएपछि सन् २०१२ मा उनको ठूलै हाई हाई भयो । सरकारीबाहेक निजी तवरबाट अन्तरिक्षमा रकेट पठाउने उनको सोच अचम्मकै थियो । सुरुमा यसलाई धेरैले हावादारी भने पनि अहिले स्पेस एक्स अन्तरिक्षमा मानव यात्री व्यावसायिक रूपमा लैजाने योजनामा छ ।

फोब्र्सका अनुसार सन् २०१७ को डिसेम्बरसम्मको तथ्यांकको आधारमा मस्कको कुल सम्पत्ति २० अर्ब डलर छ । १९९९ मा जिपटु बिक्री गरेका उनले त्यसको तीन वर्षपछि सन् २००२ मा अनलाइन पेमेन्ट सेवा दिने कम्पनी बिक्री गरे । व्यक्तिगत सम्पत्तिको आधारमा अर्बपति सूचीमा पनि रहिरहे । पेपाललाई इबेले डेढ अर्ब डलरमा किनेको थियो । पेपालको बिक्रीपछि अन्तरिक्षमा व्यावसायिक उडान थाल्ने उद्देश्यसहित मस्कले नयाँ कम्पनी स्थापना गरे, स्पेस एक्स । सन् २००८ मा स्पेस एक्सलाई अमेरिकी अनुसन्धान निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा कार्गो पुर्‍याउने जिम्मा दियो । सन् २०१२ को मे २२ मा स्पेस एक्सले आफ्नो पहिलो फाल्कन नाइन रकेटको सफलतापूर्वक प्रक्षेपण गर्‍यो ।

यो रकेट १ हजार पाउन्ड सामान बोकेर अन्तरिक्ष स्टेसन पुगेको थियो । यो एक निजी कम्पनीले अन्तरिक्षमा रकेट पठाएको पहिलो घटना थियो ।

यसको एक वर्षपछि फाल्कन नाइन रकेटले पुन: अन्तरिक्षको तल्लो तहमा एक स्याटेलाइटलाई सफलतापूर्वक छाडयो । सन् २०१५ मा स्पेस एक्सले आफ्नो अर्को स्याटेलाइट अन्तरिक्षमा छाडयो, जसले सूर्यले छाड्ने विकीकरणको निरीक्षण गथ्र्यो । अघिल्लो वर्ष उनको कम्पनीले फेरि अर्को इतिहास रच्यो, यसले पुन: प्रयोग गरिएको सामान प्रयोग गरी फाल्कन नाइन रकेटले सफलतापूर्वक प्रक्षेपण गर्‍यो । यसले रकेटको निर्माणको लागत कम गर्ने र मानिसको अन्तरिक्ष यात्रा कम हुने सम्भावना देखाएको छ । दुई महिनाअघि स्पेस एक्सले अहिलेसम्मकै शक्तिशाली फाल्कोन हेभी रकेटको प्रक्षेपण गर्‍यो र अन्तरिक्षमा अहिलेसम्म लगिएको भन्दा धेरै गुणा बढी सामान ढुवानी गर्न सकिने सम्भावनाको पुष्टि गर्‍यो ।

स्पेस एक्सले सन् २०२२ सम्ममा करिब एक सय मानिससहित कार्गो रकेट अन्तरिक्षमा पठाउने लक्ष्य राखेको छ । स्पेस एक्सले अन्तरिक्षको तल्लो तहमा सानासाना स्याटेलाइट राखेर पृथ्वीमा द्रुतगतिको इन्टरनेट पुर्‍याउने योजनामा पनि काम गरिरहेको छ ।

सस्तो र सुविधायुक्त विद्युतीय सवारी बनाउन तल्लीन टेस्ला मोटर्सका पनि संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् मस्क । यसले विद्युतीय कार र ट्रक बनाएर सफलताको छनक दिइसकेको छ । साथै यस्ता गाडीको छतमा सोलार राख्ने र त्यसैबाट ब्याट्री चार्ज गर्न मिल्ने बनाउने कम्पनीको योजना छ । सन् २००३ मा स्थापना भएको कम्पनीले ५ वर्षपछि २००८ मा रोडस्टर नामक स्पोर्टस कार सार्वजनिक गरेको थियो, विद्युतबाट चल्ने कार ३ दशमलव ७ सेकेन्डको अवधिमा ९ बाट ६० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । यसको लिथियम ब्याट्री फुल चार्ज हुँदा ४ किलोमिटरसम्म गुड्न सक्छ । सन् २०१० मा खुलेको टेस्लाको इनिसियल पब्लिक अफरिङ (आईपीओ) ले २२ अर्ब (२२६ मिलियन) डलर बढी लगानी उठाएको थियो ।

कम्पनीले सन् २०१३ मा अर्को कार मोडल एस सार्वजनिक गर्‍यो, जसलाई मोटर ट्रेन्ड म्योजिनले उक्त वर्षको उत्कृष्ट कारको उपाधि नै दियो ।

अघिल्लो वर्ष टेस्ला जेनेटर मोटर्सलाई अमेरिकाको सबैभन्दा धनी कार उत्पादक बन्यो । केही अघि कम्पनीले नयाँ मोडलको ट्रक र कार टेस्ला सेमी र रोडस्टर सार्वजनिक गर्‍यो । सन् २०१९ देखि उत्पादन थाल्ने टेस्ला सेमी ट्रकमा एकपटकको चार्जमा ८ सय किलोमिटर गुड्न सक्ने क्षमता छ । नयाँ मोडलको रोडस्टर सन् २०२० देखि उत्पादन हुनेछ, जुन १ दशमलव ९ सेकेन्डमा ० देखि ६० किलोमटिर प्रतिघण्टाको गतिमा दौडन सक्छ । कम्पनीले विद्युतीय कारको डिजाइन, गति र कार्यक्षमता पनि उत्कृष्ट बन्न सक्छ भन्ने प्रमाणित गरिसकेको छ । तर, कुनै समस्याबिना उनको कम्पनी चलिरहेको भने छैन । टेस्लालाई कार उत्पादन थाल्नका लागि लगानी अभाव भइरहेको छ । यसबारे सञ्चार माध्यममा अनेक अड्कलबाजी भइरहेका छन् ।

व्यावसायिक जीवनमा सफल बने पनि मस्कको पहिलो विवाह भने सफल भएन । सन् २००२ मा जस्टिन विल्सनसँग विवाह गरेका मस्कले सम्बन्ध विच्छेद गरी पुन: २०१० मा कलाकार तलुला रिलेसँग दोस्रो विवाह गरे । उनीसँग पनि सम्बन्ध विच्छेद गरेका उनले सन् २०१३ मा फेरि उनीसँगै दोस्रो विवाह गरे । दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका उनी क्यानेडियन आमा र दक्षिण अफ्रिकी बाबुका सन्तान हुन् । उनी १० वर्षको छँदा उनका आमाबुबाको सम्बन्ध विच्छेद भएको थियो । सानो छँदा उनी आफैंले कम्युटर प्रोग्रामिङ सिकेका थिए, जसले उनलाई नयाँनयाँ प्रविधिमा फरक काम गर्न सक्षम बनायो ।

आफ्ना स्थापित कम्पनीबाहेक मस्क अन्य रोचक अवधारणका कारण चर्चित छन् । उनले सन् २०१३ मा ठूला सहरबीच चाँडै यात्रा गर्न यातायातको नयाँ अवधारणा सार्वजनिक गरे, जसलाई हाइपर लुप भनिन्छ । रेलजस्तै लाग्ने यो अवधारणाले कम चाप हुने टयुबमा रेलजस्ता डिब्बा ७ सय किलोमिटर प्रतिघण्टा दौडन सक्ने मस्कको दाबी छ । यसलाई १० वर्षभित्र बनाएर प्रयोगमा ल्याउन सकिने उनको प्रस्ताव थियो ।

प्रकाशित : वैशाख २२, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?