२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

४ उद्योगमा १७ अर्ब लगानी थपिँदै

८ अर्ब ४१ करोड ८१ लाख ५० हजार लगानी स्वीकृत
८ अर्ब ७९ करोड २१ लाख ९६ हजार स्वीकृत हुन बाँकी
कृष्ण आचार्य

काठमाडौँ — स्वदेशी र विदेशीसहित ४ वटा उद्योगमा १७ अर्ब रुपैयाँ लगानी थपिने भएको छ ।पछिल्लो समय प्रस्ताव पेस भएका दुई कम्पनीको लगानी स्वीकृत भइसकेको छ भने अन्य दुईको स्वीकृत हुने चरणमा रहेको छ ।

४ उद्योगमा १७ अर्ब लगानी थपिँदै

४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना, दूरसञ्चार कम्पनी युनाइटेड टेलिकम (यूटीएल), अर्घाखाँची सिमेन्ट उद्योग र रसुवाको सान्जेन खोलाबाट ७८ मेगावाट विद्युत् उत्पादन गर्ने सालासुङ्गी पावर लिमिटेडमा १७ अर्ब २१ करोड ३ लाख ४६ हजार ३ सय रुपैयाँ लगानी थपिने भएको हो । उद्योग विभाग स्रोतका अनुसार उक्त रकममध्ये करिब १ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ ।

‘उक्त ४ उद्योगमध्ये दुई जलविद्युत् आयोजनाको लगानी औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृत गरिसकेको छ,’ स्रोतले भन्यो, ‘यूटीएल र अर्घाखाँची सिमेन्टको लगानी स्वीकृत हुने चरणमा छ ।’ यस आधारमा ८ अर्ब ४१ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको लगानी स्वीकृत भइसकेको छ । बाँकी ८ अर्ब ७९ करोड २१ लाख ९६ हजार ३ सय भने स्वीकृति हुने चरणमा रहेको छ ।

मादीमा ८ अर्ब
कास्कीको नामार्जुन र पार्चे गाउँपालिकामा रहेको सुपर मादी जलविद्युत्मा ८ अर्ब ९ करोड ८१ लाख ५० हजार रुपैयाँ लगानी गर्ने गरी उद्योग स्थापनाको प्रस्ताव पेस भएको छ । विभाग स्रोतका अनुसार यसमा शून्यभन्दा केही कम प्रतिशत लगानी विदेशीको छ । ९९ प्रतिशतभन्दा बढी स्वदेशी लगातीकर्ताको लगानी हो । ८ अर्ब ६ करोड ५६ लाख ५० हजार स्थिर पुँजी, ३ करोड २५ लाख चालु पुँजी हुने गरी उद्योग खोल्ने प्रस्ताव गरिएको हो । ‘प्रस्ताव गरेअनुसार नै स्वीकृति पाइसकेको छ,’ विभाग स्रोतले भन्यो । भारतीय लगानीकर्ताको समेत लगानी रहेको हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, सीजी इनर्जी इन्फ्रस्टक्चर प्रालि र अन्य ७ जना लगानीकर्ताहरूले उक्त आयोजनामा लगानी गर्ने भएका हुन् ।

यूटीएलमा ४ अर्ब थप
सुपर मादीपछि सबैभन्दा बढी लगानी यूटीएलमा थपिने भएको छ । विभाग स्रोतका अनुसार स्थिर पुँजीमा ३ अर्ब ६९ करोड १८ लाख र चालु पुँजी ३० करोड ८२ लाख थप हुने भएको हो । हाल यूटीएलमा २ अर्ब रुपैयाँ लगानी छ । ‘अब ६ अर्ब रुपैयाँ पुर्‍याउन लागेको हो,’ स्रोतले भन्यो, ‘अर्थ र सञ्चार मन्त्रालयको राय लिएर प्रस्ताव गरेअनुसार स्वीकृति दिने/नदिने विषयमा टुंगोमा पुग्ने निर्णय भएको छ ।’ यो कम्पनीमा महानगर टेलिफोन निगम लिमिटेड भारतको २६.६८, टेलिकम्युनिकेसन कन्सल्टयान्ट इन्डिया लिमिटेड भारतको २६.६६, विदेश सञ्चार निगम र टाटा कम्युनिकेसन लिमिटेड भारतको २६.६६ र नेपाल भेन्चर प्रालिको २० प्रतिशत सेयर रहेको छ । स्वदेशी लगानीकर्तामा नेपाल भेन्चर मात्रै हो । नेपाल भेन्चर कम्पनीमा समता नेपालको लगानी छ । यो दूरसञ्चार उद्योगले लगानी थप गरी सेवा पनि विस्तारको तयारीमा जुटिरहेको छ ।

हालसम्म १ लाखलाई ताररहित सेवा दिइरहेको जनाएको छ । ‘अब २५ लाखलाई सेवा दिने गरी पुँजी थप गर्ने प्रस्ताव उसले गरेको हो,’ स्रोतले भन्यो, ‘स्वीकृति पाउने/नपाउने भन्ने निर्णय अर्थ र सञ्चार मन्त्रालयको रायपछि मात्रै थाहा हुनेछ ।’

शाखा उद्योगमा पुँजी वृद्धि
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासमेतको लगानी रहेको अर्घाखाँची सिमेन्टले ४ अर्ब ७९ करोड २१ लाख ९६ हजार रुपैयाँ पुँजी वृद्धिको प्रस्ताव गरेको हो । ‘बोर्ड बैठकमा एजेन्डाका रूपमा प्रस्तुत भए पनि निर्णय भने भएको छैन,’ स्रोतले भन्यो, ‘उसको मूल उद्योगको स्थलगत अनुगमनपछि मात्रै पँुजी वृद्धिको निर्णय हुनेछ ।’ हाल कपिलवस्तुको चिहौडामा यसको मूल उद्योग छ । रूपन्देहीको सियारी गाउँपालिकामा समेत शाखा उद्योग स्थापना गरिसकेको छ । शाखा उद्योगको पुँजी वृद्धि तथा क्षमता वृद्धिको प्रस्ताव पेस गरेको हो । हाल यो उद्योगको पुँजी ३ अर्ब रुपैयाँ छ । यो उद्योगले उत्पादन गरिरहेको ओपीसी, पीपीसी र सीएससी सिमेन्ट उत्पादन क्षमतासमेत थप वृद्धि गर्ने योजना पेस गरेको छ । यो सिमेन्ट उद्योगमा एमएस उमा सिमेन्ट इन्टरनेसनल भारतको १७.५० प्रतिशत लगानी रहेको छ । थप पुँजी वृद्धिमा पनि यही अनुपातमा लगानी स्वीकृति भए ८३ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी थप हुनेछ ।

सेयर खरिदमार्फत विदेशी लगानी
रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको सान्जेन खोलामा ७८ मेगावाटको जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी सेयर खरिद गरी लगानी गर्न चाहेको हो । चाइना हार्बर इन्जिनियरिङ कम्पनीले ३२ लाख २० हजार सेयर खरिद गरी लगानी गर्ने प्रस्ताव गरेको हो । ‘प्रस्तावअनुसार नै लगानी स्वीकृत भइसकेको छ,’ स्रोतले भन्यो, ‘प्रतिकित्ता १ सय रुपैयाँका दरले ३२ करोड २० लाख रुपैयाँ लगानी भित्रने देखिन्छ ।’ उक्त सेयर संरचना परिवर्तनपछि चिनियाँ कम्पनीको लगानी ९२ प्रतिशत र स्वदेशी लगानी कर्ता विष्णुराज अधिकारीको हिस्सा ८ प्रतिशत कायम भएको छ । अन्य सातजना लगानीकर्ताले चिनियाँ लगानीकर्तालाई सेयर बिक्री गरेका हुन् ।

प्रकाशित : वैशाख २४, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?