कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदुवापछि चियामा अवरोध

कोलकातास्थित भन्सार विभागले अनिवार्य ल्याब टेस्ट गरेर मात्रै चिया आयात गर्न सम्बन्धित भन्सारलाई निर्देशन दिएपछि नेपाली चिया निकासीमा अवरोध
पर्वत पोर्तेल

पानीटयांकी (भारत) — केही महिनाअघि अदुवामा अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ । भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी निकासी ठप्प छ । चिया बोकेका एक दर्जन ट्रक पानीटयांकी भन्सार परिसरमा थन्किएका छन् ।

अदुवापछि चियामा अवरोध

चिया निकासीमा संलग्न व्यवसायीहरूका अनुसार गत मे २ मा कोलकातास्थित भन्सार विभागले पत्राचार गर्दै अनिवार्य ल्याब टेस्ट गरेर मात्रै चिया आयात गर्न सम्बन्धित भन्सार लाई निर्देशन गरेको थियो ।


चिया उद्यमी प्रदीप अग्रवालका अनुसार विगतमा सेन्ट्रल फुड लेब्रोटरीले अर्ध वार्षिक रूपमा चियाको ल्याब टेस्ट गर्दै आएको थियो । ‘एकपटक ल्याब टेस्ट भएको चियालाई ६ महिनासम्म निकासी गर्न इजाजत थियो,’ अग्रवालले भने, ‘तर, अहिले प्रत्येकपटक ल्याब टेस्ट गर्नुपर्ने बाध्यता सुरु भएको छ ।’


व्यवसायीहरूका अनुसार चियाको ल्याब टेस्ट कोलकातामा मात्रै हुन्छ । ल्याब रिपोर्टमा प्राप्त गर्न करिब दुई साताभन्दा बढी समय लाग्छ । ‘यसले चिया निकासीमा गम्भीर समस्या पैदा गरेको छ,’ अग्रवालले भने, ‘खर्च पनि बढ्ने निश्चित छ ।’


पानीटयांकी भन्सारका डिपुटी कमिस्नर प्रदीपकुमार मौर्यलाई उद्धृत गर्दै व्यवसायीले जनाएअनुसार कोलकातास्थित भन्सार कार्यालयले नेपाली चियाको ल्याब टेस्ट अनिवार्य गर्न निर्देशन दिएको छ । चिया निकासी अवरोधबारे कान्तिपुरले बुझ्न खोज्दा मौर्यले प्रतिक्रिया दिनै चाहेनन् ।


नेपाली चियामा भारतले अवरोध गर्न चाहेको पहिल्यै हो । करिब दुई वर्षअघि भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको दार्जिलिङ भ्रमणका बेला दार्जिलिङ टी एसोसिएसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो ।


कुल उत्पादनको ८० प्रतिशतभन्दा ज्यादा भारत निकासी हुँदै आएको नेपाली चिया निकासी अवरोधमा दार्जिलिङ चिया पनि एउटा कारण रहेको व्यवसायीहरूको भनाइ छ । भारतीय चिया व्यवसायीका अनुसार नेपाली चिया निकासीका कारण दार्जिलिङ चियामा प्रत्यक्ष असर पुग्ने देखिएको छ । उनीहरूको आरोप छ, नेपाली चिया भारतका नाममा बेच्दा दार्जिलिङे चियाको ब्रान्डमा प्रत्यक्ष असर पुगिरहेको छ ।


दार्जिलिङ र पूर्वी पहाडी क्षेत्रको भूगोल र मौसम लगभग मिल्दोजुल्दो छ । त्यसैले नेपाली चिया र दार्जिलिङको चियाको स्वाद लगभग मिल्दोजुल्दो छ । कतिपय भारतीय चिया आयातकर्ताले नेपाली चियालाई दार्जिलिङको ब्रान्डमा बिक्री गर्दै आएका छन् । जसका कारण दार्जिलिङ चियाको ख्यातिमा असर पुगेको भन्दै राज्य सरकारले नेपाली चिया रोक्न सुरु गरेको हो ।


भारतले नेपाली चियामा रोक लगाएपछि चिया कारखानाहरूले हरियो पत्ती खरिद गरेका छैनन् । चिया तथा कफी विकास बोर्डको फिक्कलस्थित योजना प्रमुख इन्द्र अधिकारीका अनुसार झापा, इलाम, पाँचथरलगायतका जिल्लाहरूमा वार्षिक रूपमा करिब अढाइ करोड किलो तयारी चिया उत्पादन हुने गरेको छ ।


जसमध्ये ५० प्रतिशत सीटीसी चिया भारत निकासी हुन्छ । ९० प्रतिशत अर्थोडक्स चिया भारत तथा तेस्रो देश निकासी हुन्छ । चालु आर्थिक वर्षको ९ महिनामा पूर्वी नाका काँकभिट्टा हुँदै करिब २ अर्ब मूल्यको चिया भारत निर्यात भएको छ ।


‘भारतीय अवरोधले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा धक्का पुग्ने सम्भावना देखिएको छ,’ अधिकारी भन्छन्, ‘बारम्बारको भारतीय अवरोधको स्थायी समाधान खोजिनुपर्छ ।’ उनका अनुसार भारतले तेस्रो देश निकासी हुने चियामा पनि झमेला लगाउँदै आएको छ । चिया निकासी हुन नपाउँदा इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा चिया किसान प्रभावित हुने पक्का छ ।

प्रकाशित : वैशाख २६, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?